आमाले गरिन् एक वर्षीया छोरीको हत्या

बुटवल – रुपन्देहीको मायादेवी गाउँपालिकामा आमाले छोरीको हत्या गरेकी छन्।

मायादेवी गाउँपालिका वडा नम्बर ३ हरहरवाकी २१ वर्षिया प्रेमा यादवले एक वर्षकी आफ्नै छोरीको हत्या गरेकी हुन्।

छोरीको हत्या गरेर उनले आत्महत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ।

आइतबार राती ९ बजे एक बालिकाको शंकास्पद मृत्यु भएको र आफन्तले नजिकैको खोलामा लगेर शव गाडेको भन्ने खबर प्राप्त गरेपछि प्रहरी शव गाडेको ठाउँमा पुगेको थियो।

दानव खोला नजिक शंकास्पद ठाउँमा खनेर हेर्दा बालिकाको शव गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ।

घाँटीमा शंकास्पद दाग देखा परेपछि शव पोष्टमार्टमको लागि भैरहवा भिम अस्पताल पठाइएको थियो। छोरीको हत्यापछि उनले घरमै आत्महत्याको प्रयास गरेको उनका परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

प्रेमाकी नन्दले आत्महत्या गर्न खोजेको देखेपछि डोरी काटेर बचाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए।

घटनामा रुपन्देही मायादेवी ३ हरहरवाकी मृतककी आमा प्रेमा यादव, ससुरा बुद्धिराम यादव, सासु राजमती यादव, श्रीमान् राजकुमार यादव र प्रेमाको साथी भनिएका लुम्बिनी सांस्कृतिक नगरपालिका ९ का प्रदिप चौधरी प्रहरी नियन्त्रणमा छन्।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्