हामीले हाम्रो संस्कृति, परम्परालाई बिर्सिँदै गइरहेका बेला ‘मकै घर’ले यही कुरा दर्साएको छ। गेटबाट भित्र छिर्नेबित्तिकै कुनै रेष्टुरेण्टमा छिरेजस्तो आभास शायदैलाई हुन्छ होला।

परम्परागत शैलीको दुई तले घर। घरको बार्दलीमा लस्करै झुन्ड्याइका मकै। अनि घरका भित्तामा भुन्ड्याइएका ठेकी। मादल। पिँढीमा जाँतो। आँगनमा ढेकी। आँगनको बीचमा चौतारी। त्यही चौतारी वरिपरी बिछ्याइएका सुकुल। मकैघरमा राखिएका कतिपय सामान घरबाटै ल्याए, कतिपय यतै जोडे।

तिनै सुकुलमा बसेर कोही बात मारिरहेका थिए। कोही मकैबाट बनेका परिकार खाँदै रमाइरहेका थिए। यहाँ कमै मानिस होलान्, जसले आफ्नै गाउँघरमा बसे जस्तो महसुस नगर्लान्।

रमाइरहेका ग्राहकहरुलाई हेर्दै दंग परिरहेका थिए, ३५ वर्षका थमनकुमार भण्डारी। बेलाबेला ग्राहकहरुका अगाडि पुगेर सोधिरहेका थिए,‘टेस्ट कस्तो छ? सोचेजस्तो पाउनु भयो?’

ग्राहकहरुले आफू सन्तुष्ट भएको उत्तर दिँदै गर्दा थमनको मुहारको चमक प्रष्टै देख्न सकिन्थ्यो।

‘छोटो समयमै यति धेरै माया पाउँछु भन्ने सोचेको थिइनँ,’ थमनले भने।

कन्सेप्ट कसरी?


‘मैले मेरो प्यूठानको घरलाई यहाँ सारेको हुँ,’ थमनले भने। प्यूठानमा उनको घर ठ्याक्कै ‘मकै घर’ जस्तै थियो। उसो त प्यूठानमा सबैभन्दा धेरै उत्पादन हुने भनेकै मकै हो। सानोमा उनी त्यही मकैका विभिन्न परिकार खाँदै हुर्किए।

मकैका परिकार खाँदै हुर्किएको बालपन उनको मानसपटलमा अझै उनी उस्तै ताजा छ। आफ्नो घरलाई उस्तै उतारेर आफ्नै गाउँमा उत्पादन हुने मकै बेच्ने भएका कारण नाम ‘मकै घर’ राखेको उनले बताए।

थमनको मानसपटलमा मकैघरको योजन बनेको लामो समय भएको छैन। उनी योजना बनाउँदै थिए। कोरोना भाइरस संक्रमणको महामारीले गर्दा लकडाउन भयो। त्यो बेला सबै थोक ठप्पै भयो।

थमन लगायत अन्य दुई जना साथी मिलेर ‘मकैघर’ खोल्ने योजना बनाएका थिए। तर लकडाउनपछि उनका साथीहरु पछाडि हटे। साथीको साथ नपाए पनि थमनले हार मानेनन्। उनले ‘मकैघर’ संचालनमा ल्याएरै छोडे।

आफ्नो योजना सफल बनाएरै छोडे।

मकैघरले दिएको खुसी


थमनले सुरुमै भने, ‘व्यापार एकदमै राम्रो छ। उत्साहजनक छ। मैले सोचेको भन्दा धेरै माथि छ।’ मकैघर संचालनमा ल्याउनुभन्दा अगाडि उनी डराएका थिए,‘कतै मकैलाई नरुचाइने त होइन?’

तर उनको सोचाइको ठ्याक्कै विपरित भयो। मकैले धेरैको मन लाभ्यायो। मकैघर आउने अधिकाशंको रोजाइमा मकैबाट बनेका परिकार नै पर्न थाले।

‘मकै गाउँघरको खाने कुरा थियो। काठमाडौँमा नरुचाइने हो कि भन्ने डर थियो। तर त्यही चिजलाई गाउँको भन्दा पनि काठमाडौँकै मानिसहरुले अझ बढी मन पराइदिनु भएको छ’, थमनले भने।

के–के पाउँछ मकैघरमा?


उपत्यकामा पछिल्लो समय मकै नाम जोडिएका धेरै रेष्टुरेण्टहरु छन्। जसले गर्दा थमनलाई चुनौति थपिदिएको थियो। तर उनले त्यो चुनौतिलाई सामना गर्न आँटका साथ अगाडि बढे। र सफल पनि भए।

‘सोचे भन्दा राम्रो भइरहेको छ। यो यतिमै सिमित हुँदैन। अझै धेरै गर्न बाँकी छ’, थमनले भने,‘सबैले यहाँ पाइने मकैका परिकारहरु मन पराइदिनु भएको छ।’

मकैघरमा पाइने मकैको रोटी, पिज्जा, ढिँडो लगायत अन्य परिकार विशेष मान्छन्, थमन। मकैघरमा आउने धेरैले यिनै विशेष परिकारको स्वाद लिन पुग्ने गर्छन्, मानिसहरु पनि।

मकैका परिकार मात्र नभएर अन्य रेस्टुरेण्टमा पाइने खाना–खाजा पनि यहाँ पाइने थमन बताउँछन्।

यो भन्दा अगाडि खाजाघर


थमनले यो व्यवसाय पहिलो पटक भने गरेका होइनन्। उनले यो भन्दा अगाडि न्युरोडको नक्षे गल्लीमा सानो खाजाघर खोलेका थिए, जुन समयमा उनी फिल्म बनाउने तयारीमा थिए।

उनले भने,‘मिटिङ हुन्थ्यो। फिल्मका कुरा हुन्थे। त्यही क्रममा साथीभाइलाई चिया चाहिँदा कहाँ खोज्न जानु भयो। अनि मैले एउटा सटर लिएँ र चिया चाउचाउ बेच्न थालेँ। मिटिङ बस्ने ठाउँ भयो।

अनि केही खर्च पनि जुट्यो।’

काठमाडौँ यात्रा


उनी २०६१ सालमा ‘फुडट्रक’ गर्ने उद्देश्यले दाङबाट काठमाडौँ छिरेका थिए। उनले आफ्नो त्यो सपनालाई थाति राखे र विदेशिए। उनी सन् २००७ देखि २०१७ सम्म दुबई, कतार, बहराइन, मलेसिया लगायत विभिन्न खाडी मुलुकहरु बसे। विदेश बसेर उनी रेमिट्यान्स अफिसर भएर काम गरे।

त्यही बेला उनलाई घरीघरी नेपालमै केही गर्न पाए भन्ने कुराले मन भने खाइरहन्थ्यो। त्यसपछि उनले फिल्म निर्माण गरे।

अनि मकैघर।

फिल्म निर्माण


थमनले भने, ‘साथीभाइको हिसाब र सामाजिक दायित्व बहन गर्ने हिसाबले फिल्मबाट फाइदा भयो। तर पैसाको हिसाबले एक रुपैयाँ पनि आएन।’

थमनले ८६ लाख रूपैयाँ खर्च गरेर फिल्म बनाए,‘पण्डित बाजेको लौरी’। ‘युट्युव राइट्स् गर्दा १२/१३ लाख रुपैयाँ आयो। बाँकी अरु सबै घाटामा गयो। अझै पनि पैसा तिर्न बाँकी नै छ’, उनले सुनाए।

जति थमनलाई फिल्मको कथा मन परेको थियो, दर्शकले खासै रुचाएनन्। र फिल्म ‘फ्लप’ भयो। उनी यो कुरालाई सहजै स्वीकार्न हिच्किचाउँदैनन्। मुसुक्क मुस्कुराउँदै उनी भन्छन्, ‘फ्लप फिल्मको, फ्लप प्रोडियूस् हुँ म।’

फिल्म नचलेपछि, उनी घाटामा गए। अहिले मकैघरबाट त्यसको भरपाइ गरिरहेका छन्, उनी। ‘मकैघरमा कमाएर अहिले फिल्मको ऋण तिर्दै छु’, थमनले थपे।

फिल्मलाई निरन्तरता


एउटा फिल्म फ्लप भएपनि अझै गर्न सक्छु भन्ने विश्वास उनीमा आफै उस्तै छ। यो क्षेत्रप्रतिको मोह उनलाई अहिले जागेको भने पक्कै पनि होइन्। उनीलाई सानैदेखि राजेश हमाल जस्तै बन्ने हुटहुटी थियो।

तर थमनको ‘हिरो’ बन्ने सपना भने पुरा हुन सकेन।

यो क्षेत्रमा लागेपछि उम्कन त्यति सजिलो नभएको उनी बताउँछन्। उनले भने,‘अहिलेको परिस्थितिले पछाडि हटेजस्तो भइरहेको छ। तर केही समयपछि फेरि पनि फर्केर यही क्षेत्रमा आउने छु। कुरा ढिलो र चाडोको मात्र हो।’

थमन निर्माताका रूपमा सफल हुन नसकेपनि यो व्यवसायमा एक कदम अगाडि बढेको आभास उनले गरिरहेका छन्। मुसुक्क मुस्कुराउँदै उनले भने,‘अहिले आफूले गरेको कामप्रति म सन्तुष्ट छु।’

र योसँगै उनी मकैघरको नयाँ ब्रन्च खोल्ने तयारीमा जुटिरहेका छन्।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्