क्रिस्टियानो रोनाल्डो जसले हरेक एक सयमध्ये १७ गोल टाउकोले गरेका छन्

हेड गर्ने प्रयाशमा रोनाल्डो। फाइल तस्विर

इटालियन सिरि ए फुटबलअन्तर्गत सोमबार राती भएको खेलमा क्रोटोनलाई ३-० गोलले हरायो।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सका लागि दुई गोल क्रिस्टियानो रोनाल्डोले गरे। रोनाल्डोले दुवै गोल हेडमार्फत गरे। हेडमार्फत गरिने गोल जसलाई चल्तीको भाषामा ‘हेड गोल’ पनि भन्ने गरिन्छ, र रोनाल्डो एकअर्कासँग जोडिन्छन् जस यी विषयमा कुरा उठ्छन्।

हुन पनि, रोनाल्डोले सिनियर टोली(प्रिमियर क्लब र राष्ट्रिय टोली)का लागि खेल्न थालेयता गरेका ७ सय ६५ गोलमध्ये एक सय ३३ गोल टाउकोले गरेका छन्। उनले गरेका कुल गोलमध्ये करिब १७ प्रतिशत हेड गोल हुन आउँछ। ६ फिट २ इन्च अग्ला रोनाल्डोले आफ्नो उचाईलाई राम्रो प्रयोग गर्ने गरेका छन्, हेड गोलका लागि।

उनले हालसम्म प्रिमियर क्लबका लागि ६ सय ६३ र राष्ट्रिय टोलीका लागि एक सय २ गोल गरेका छन्।

अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुका अनुसार रोनाल्डोले चार सय ९२ गोल दायाँ खुट्टा र एक सय ३८ गोल बायाँ खुट्टाले गरेका छन्। यीमध्ये एक सय ३४ गोल पेनाल्टीमार्फत र ५६ गोल फ्रिकिकमार्फत गरेका छन्।

पोर्चुगलका ३६ वर्षीय यी स्ट्राइकरले सन् २००३ मा घरेलु क्लब स्पोर्टिङ सीपीबाट प्रिमियर लिग फुटबलमा डेब्यु गरेका थिए। त्यसयता उनले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा ६ सिजन र स्पेनिस क्लब रियल म्याड्रिडमा ९ सिजन बिताएका छन्। उनी सन् २०१८ यता सिरि ए क्लब युभेन्ट्सका लागि खेलिरहेका छन्।

युभेन्ट्स आएयता उनले क्लबका लागि एक सय १७ खेलमा ९० गोल गरेका छन्। यस अघि उनले म्यान युनाइटेडका लागि २ सय ९२ खेलमा एक सय १८ गोल र रियल  म्याड्रिडका लागि चार सय ३८ खेलमा चार सय ५० गोल गरेका थिए। उनले हालसम्म घरेलु लिगमा चार सय ६८ गोल र युरोपियन च्याम्पियन्स लिगमा एक सय ३५ गोल गरेका छन्।

मेस्सी पछाडि छन्

समकालिन फुटबलमा रोनाल्डो र लियोनल मेस्सीमध्ये को सर्वोत्कृष्ट भन्ने बहस चलेको निकै लामो समय भइसक्यो। व्यक्तिगत अवार्डको हिसाबले मेस्सी ६ पटकका फिफा वर्ष खेलाडी हुन्।

रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन्। रोनाल्डोले सिनियर राष्ट्रिय टोलीका लागि युरोकप पनि जितेका छन्। मेस्सीले भने सिनियर राष्ट्रिय टोलीका लागि उपाधि जित्न सकेका छैनन् तर उनी दुईपटक महादेशीय प्रतियोगिता र एकपटक विश्वकपमा फाइनलसम्म भने पुगेका छन्।

मेस्सीले प्रिमियर क्लब र सिनियर राष्ट्रिय टोलीका लागि हालसम्म सात सय २६ गोल गरेका छन्। ३० वर्षीय मेस्सीले प्रिमियर क्लबका लागि ६ सय ५५ र सिनियर राष्ट्रिय टोलीका लागि ७१ गोल गरेका छन्। मेस्सीले गरेका गोलमध्ये २५ मात्र हेड गोल छन्। यो उनले गरेका गोलमध्ये करिब ३ प्रतिशत हुन आउँछ।

मेस्सीले ६ सय ७ गोल बायाँ खुट्टा र ९१ गोल दायाँ खुट्टाले गरेका छन्। मेस्सीले हालसम्म ९८ गोल पेनाल्टीमार्फत र ५५ गोल फ्रिकिकमार्फत गरेका छन्। अन्य गोलको संख्या पाँच सय ७३ रहेको छ। सन् २००४ मा प्रिमियर लिगका रुपमा ला लिगामा डेब्यु गरेका मेस्सीले बार्सिलोनाका लागि मात्र खेलेका छन्। उनले घरेलु लिगमा चार सय ६० र युरोपियन च्याम्पियन्स लिगमा एक सय १९ गोल गरेका छन्।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्