खाजा खाने बहानामा दुईजना थुनुवा प्रहरीकै निगरानीबाट फरार

जिल्ला प्रहरी कार्यालय मोरङ।

मोरङ-प्रहरी नियन्त्रणमा रहेका दुई थुनुवा जिल्ला अदालत मोरङ परिषरबाटै फरार भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार दिउँसो साढे ३ बजे म्याद थपका लागि अदालत लगिएका कटहरी गाँउपालिकाका मनराज शेख र झापा विर्तामोडका प्रकाश चौधरी फरार भएका हुन्।

लागु औषध मुद्दामा  म्याद थप गर्न अदालत लगिएका दुवैजना ५ दिनको म्याद थप भइसकेपछि फर्कने क्रममा फरार भएका हुन्। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले म्याद थप्नका लागिएका दुई जना थुनुवा फरार भएको जानकारी दिए। म्याद थप्नका लागि लगेको टोलीले बेलुका करिब ६ बजे घटनाबारे मोरङ प्रहरीमा जानकारी गराएको खुलेको छ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले ३७ वर्षीय शेखलाई आइतबार मोरङको कटहरीबाट ८ ग्राम लागुऔषध खैरो हेरोइन र किनबेच गर्दा तौल लिन प्रयोग गरिने मेसिनसहित पक्राउ गरेको थियो। उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो।

त्यसैगरि, २० वर्षीय चौधरी विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल, फेनारगनसहितका लागुऔषधसहित आइतबार नै पक्राउ परेका हुन् । दुवै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्न उनीहरुलाई सोमबार एउटै हतकडी लगाएर अदालत लगेको थियो ।

फरार भएकाहरुको खोजी थालिएको भएपनि २४ घण्टा वितिसक्दासमेत फेला पर्न सकेकाछैनन्। दुवैजना मध्ये एकजनाको हातमा हतथकी लगाइएको बताएका प्रवक्ता राईले सबै नाका सतकर्तासहित जानकारी गराइएको बताए।

म्याद थप भएपछि उनीहरुले खाजा खाने बहाना बनाएका थिए। त्यसपछि अदालत परिषरमै रहेको चमेना गृहमा प्रहरीले उनीहरुलाई पुर्‍याएको थियो। सोही क्रममा दुवैजना फरार भएको बताइन्छ।

थुनुवालाई चमेना गृहमा खाजा खाने व्यवस्था गरे पनि लापरबाहीका कारण दुवै जनाले भाग्ने मौका पाएको बताइएको छ। थुनुवा भागेको घटनाको घटनास्थल मुचुल्का उठाएको बताएका प्रवक्ता राईले म्याद थप गर्न लिएर जाने केही प्रहरीमाथि अनुसन्धान थालिए जानकारी दिए।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्