खबरदारी जारी रहन्छ- बृहत नागरिक आन्दोलन

संसद विघटनविरुद्ध परेको रिटहरुको सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासका न्यायाधीशहरु।

काठमाडौँ– बृहत् नागरिक आन्दोलनले संसद पुनःस्थापनासँगै अब राजनीतिक दलहरुले अग्रगामी राजनीति सुनिश्चित गर्न संविधानमा पहिल्यैदेखि रहेका असन्तुष्टि सम्बोधन गर्नुपर्ने बताएको छ।

सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरेर संसद पुनःस्थापनाको फैसला सुनाएसँगै बृहत नागरिक आन्दोलनले प्रेस वक्तव्य जारी गर्दै संसद विघटनसम्म पुग्नका लागि राजनीतिक प्रक्रियामा निहित कारणहरुको अत्मसमिक्षा हुनुपर्ने जनाएको हो।

‘संसद विघटन त्यस अघिदेखि नै सुरु भएका असंवैधानिक अभ्यास र प्रतिगामी कदमहरुको प्रकट रुप मात्रै थियो। विघटनसम्म पुग्नका लागि राजनीतिक प्रक्रियामा निहित जड कारणहरुको आत्मसमिक्षा गर्दै अब राजनीतिक दलहरुले अग्रगामी राजनीति सुनिश्चित गर्न संविधानमा पहिल्यैदेखि रहेका सन्तुष्टि सम्बोधन गर्नुपर्छ,’ बृहत नागरिक आन्दोलनले जारी गरेको वक्तव्यमा उल्लेख छ।

राजनीतिलाई जनताको पकडमा ल्याउनका लागि खबरदारी जारी रहने पनि बृहत् नागरिक आन्दोलनको भनाइ छ।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्