राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथमा क्षमा पूजा

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा सुनको नयाँ जलहरी राख्ने क्रममा भएको क्षमा पूजाको औपचारिक रुपमा समापन गरेकी छन् ।

बुधबार मध्याहन्न पशुपतिनाथ गएकी राष्ट्रपति भण्डारीले क्षमा पूजाको औपचारिक रुपमा समापनसँगै नयाँ जलहरीसहितको पशुपतिनाथको मूल मूर्तिमा विशेष पूजा पनि गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषका प्रवक्ता भोला सिटौलाले भने, ‘राष्ट्रपति ज्यूले क्षमा पूजाको समापन तथा विशेष पूजा गर्नुभयो । उहाँले यहाँ आधा घण्टा बिताउनु भयो ।’

पशुपतिनाथमा मंगलबार बेलुका ९ बजे सुनको नयाँ जलहरी (पिठिका) स्थापनासँगै त्यसका लागि भइरहेको क्षमा पूजाको विशेष विधि पूर्वक राष्ट्रपति भण्डारीले समापन गरेकी हुन् ।

मंगलबार बेलुका ९ बजेको साइतमा पशुपतिनाथको मुल मूर्ति (शिवलिङ्ग) को फेदमा सुनको नयाँ जलहरी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले जानकारी दिएका छन् ।

सदस्य सचिव ढकालले भने, ‘विशेष विशेष पूजाका साथ मंगलबार बेलुका ९ बजे नयाँ जलहरी स्थापना गरिएको छ । त्यसलाई मिलाउनका लागि रातभर लाग्यो ।’ नयाँ जलहरी राख्ने क्रममा शिवलिङ्गलाई कुनै क्षति नभएको उनले बताएका छन् ।

जलहरी राख्ने उत्तम साइत मंगलबार बेलुका ९ बजेको भए पनि त्यसका लागि भएको क्षमा पूजा तथा स्थापनार्थ गरिएको विशेष पूजाको समापन बुधबार भएको हो ।

सदस्य सचिव ढकालले भने, ‘गएको शनिबार (फागुन ८ गते) देखि नै क्षमा पूजा हुँदै आएको थियो । मंगलबार बेलुका पिठिका स्थापनाका लागि विशेष पूजा भयो । सो पूजामा भारतको कर्नाटकबाट आउनु भएका वेदका ज्ञाता पण्डितसहित यहाँका भट्ट तथा पण्डित गरि कुल १२१ जना पूजारी सहभागी हुनुहुन्थ्यो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चाँदीको जलारीमाथि सुनको नयाँ जलहरी राखिएको हो ।

१०८ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंकबाट १०४ किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइएको छ ।

धार्मिक तथा सांस्कृतिक विश्वास एवम् जलहरीलाई बलियो बनाउनका लागि चार किलो सुन बाहेकको धातु मिसाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता भोला सिटौलाले बताए ।

जलहरीका लागि आवश्यक सुन खरिद गर्न प्रधानमन्त्री ओलीले गएको माघ १२ गते पशुपतिनाथको दर्शनका बेला घोषणा गरे अनुसार सरकारले ३० करोड रुपैयाँ दिएको हो । बाँकी ६० करोड रुपैयाँ कोषले खर्च गरेको हो । पशुपति परिषरको रुद्रगाडेश्वरमा निर्माण गरिएको जलहरी मंगलबार बेलुका ९ बजे स्थापना गरिएको हो ।

शिव लिंगको फेदीमा रहेको योनी आकारको संरचना जलारी हो । शिव लिंगलाई स्नान गरिएको पानी सोही जलारी हुँदै बागमती किनारको ब्रह्मनालसम्म पुग्छ ।

दर्शनका लागि पुग्नेहरुलाई छर्कने अघ्र्य जल पनि सोही जलारीबाट निकालिएको हुन्छ ।

 

फाल्गुन १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्