आफ्नो पनि गम्भीर समीक्षासहित अगाडि बढ्छौँः नारायणकाजी श्रेष्ठ

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटन बदर गरेर सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको रक्षा गरेको बताएका छन्।

बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै नेता श्रेष्ठले यस्तो बताएका हुन्।

‘स्थायी कमिटीको बैठकले हिजो सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम बदर गरेर प्रतिनिधिसभालाई पुनःस्थापित गर्ने जुन फैसला सुनाएको छ, त्यसलाई पार्टीले ऐतिहासिक फैसला भनेको छ। र यसले प्रतिनिधि सभा पुनःस्थापित मात्रै गरेको छैन, संविधान र लोकतन्त्रको रक्षा पनि गरेको छ,’ नेता श्रेष्ठले भने।

सर्वोच्चको फैसलाले देशलाई ठूलो चक्रव्युहमा जानबाट जोगाएको उनको भनाइ छ।

उनले भने, ‘यसले देशलाई प्रतिगामी षड्यन्त्रको ठूलो चक्रव्युहमा र राजनीतिक संकटको अध्याँरो सुरुङतिर लैजाने जो खतरा थियो, त्यो खतराबाट पनि देशलाई बचाउन योगदान पुर्‍याएको छ।’

प्रतिगामी कदमलाई तत्काल असफल पारिए पनि यस प्रकारका गतिविधिविरुद्ध सचेत भइरहुन पर्ने आवश्यकतामा पनि पार्टीले जोड दिएको श्रेष्ठले बताए। साथै अब आफ्नो पनि गम्भीर आत्मसमिक्षा गरेर अघि बढ्ने उनको भनाइ छ।

उनले भने, ‘पार्टीले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको उन्नतता र सुदृढिकरणलाई ध्यान दिँदै सामाजिक, आर्थिक रुपान्तरण, सुशासन र सामाजिक न्यायसहितको समृद्धिलाई केन्द्रविन्दुमा राखेर आफ्नो पनि गम्भीर समिक्षासहित अगाडि बढ्ने पार्टीले निष्कर्ष निकालेको छ।’

भ्रममा परेर प्रतिगामी गुटमा लागेका पार्टीका नेता कार्यकर्ताहरुलाई मूल पार्टीमा फर्किएर आफ्नो जिम्मेवारी लिन आह्वान गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

फाल्गुन १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्