विकल प्रजापतिसँग भिडियो अन्तर्वार्ता

‘नेपाललाई कलामार्फत विश्वमा चिनाउन मन छ’

काठमाडौँ– देखेका सबै सपना पूरा नहुन पनि सक्छन्। तर दृढ इच्छाशक्ति हुनेहरु भने आफूले देखेको सपना मर्न दिँदैनन्, तिनलाई जीवन्त राख्ने प्रयास गर्छन्।

भक्तपुर कमलविनायकका विकल प्रजापतिले पनि आफ्नो सपनालाई सधैँ सम्भावनाका रुपमा हेरे र आकार दिने प्रयास गरे। पेशाले आर्किटेक्ट इन्जिनियर हुन् उनी। तर अहिले ‘आर्ट’ (चित्रकला/मूर्तिकला)मा आफ्नो करियर अगाडि बढाइरहेका छन्।

आर्ट उनको मन मस्तिस्कमा यसरी बसेको छ कि आर्किटेक्ट र आर्ट दुई वटामध्ये एउटा रोज्नुपर्दा उनी ‘आर्ट’ नै रोज्छन्।

उनी भन्छन्, ‘आर्किटेक्टभन्दा पनि मेरो करियर आर्टबाट नै सुरु भएको हो। पहिलो पटक आर्ट गर्दा पाँच वर्षको थिएँ।’

विकलका बाजे अनि बाबुले काँचो माटोलाई कैयौँ आकार दिए। उनी भने माटोसँग भन्दा पनि रङसँग रमाइरहेका छन्।

उनले औपचारिक रुपमा तालिम त लिएका थिएनन्, तर स्कुलमा हुँदा हप्ताको एक पटक आर्ट शिक्षकले क्लास लिन्थे। त्यतिबेलादेखि नै उनी सबैको नजरमा थिए।

एलएलसीपछि भने उनले तीन महिनाको ट्रेनिङ लिए, कमलविनायककै धुव्र प्रजापतिसँग। उनी भन्छन्, ‘उहाँले धेरै कुरा सिकाउनु भयो। त्यसपछि मैले युट्युब हेरेर नै सिकेँ।’

स्कुल हुँदा आर्ट क्लासमा शिक्षकले दिएको गृहकार्य उनका साथीहरुले उनलाधई नै बनाउन लगाउँथे। आफ्नो रुची पनि यसमै भएकोले उनी झर्को नमानी चित्र कोरिदिन्थे र पाउँथे सधैँ प्रशंसा। जसले गर्दा उनमा अझै राम्रो गर्न सक्छु भन्ने हौसला उत्पन्न हुन्थ्यो।

‘आर्ट’मा लगाव देखेर परिवारबाट पनि धेरै सहयोग पाएको उनी बताउँछन्।

भारतका प्रशिद्ध पेन्टर भिलास नायकलाई विकल आफ्नो आइडल मान्छन्। युट्युब आर्ट गर्ने प्रेरणा भिलासबाटै पाएको विकल बताउँछन्।

स्केच मात्र नभई अन्य धेरै विधिबाट आर्ट गर्न सकिन्छ भनेर विकललाई युट्युबबाटै थाहा भयो। उनले त्यसपछि स्पिड आर्ट, ग्लिटर क्यान्भास आर्ट, ग्लु डस्ट स्पिड आर्टबारे पनि युट्युब हेरेर सिके।

पहिलो पटक युट्युब लाइभ स्पिड आर्टमा उनले ७ मिनेटमा महात्मा गान्धीको आर्ट गरेका थिए। उनले नेपाल विद्युत प्राधिकरणका तत्कालिन कुलमान घिसिङ, स्वरसम्राट नारायण गोपाल, राजा वीरेन्द्र लगायतको पनि स्पिड आर्ट गरिसकेका छन्।

यसैगरी ग्लिटर क्यान्भास आर्टमा उनले व्यवसायी भवन भट्टको पनि आर्ट बनाएर युट्युबमा प्रस्तुत गरेका थिए।

विकल भन्छन्, ‘मसँग पहिला ट्यालेन्ट त त्यति धेरै थिएन तर इन्ट्रेष्ट चाहिँ थियो। लकडाउनबाट बढी मात्रामा आर्ट गर्न सुरु गरेँ। अनि झन् सबैको हौसलाले थप प्रेरित गर्‍यो।’

युट्युबको प्रतिक्रियाले गर्दा उनी उत्साहित भए र मूर्ति बनाउने सोचे। र बनाए मह जोडीको मूर्ति।

कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग उनको भेट कलाले नै गराएको हो। विकलले ‘मदनबहादुर–हरिबहादुर’ टेलिश्रृङ्खलामा देखिएका पात्र अर्थात मह जोडीको ‘क्लेआर्ट’(माटोको मूर्ति) बनाए।

विकलले दुई महिना लगाएर मूर्ति तयार पारे। त्यसपछि मूर्तिको फोटोसहित मह संचारमा इमेल गरे, आफूलाई मह जोडीसँग भेट्न मन लागेको इच्छासहित। इमेल पठाएको तीन दिनसम्म रिप्लाई आएन। तैपनि उनले हरेस खाएनन्।

त्यसक्रममा एकदिन ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेल’ले उनलाई अन्तरवार्ताका लागि बोलाए। भोलिपल्ट अन्तवार्ता सुरु मात्रै के भएको थियो मदनकृष्ण र हरिवंश के छ भाइ? भन्दै भित्र पसे। मह जोडीलाई साक्षात देख्दा उनी अकमक्क परे।

विकल थप्छन्, ‘त्यो क्षणको त म बयान नै गर्न सक्दिनँ। के बोल्ने के भयो। उहाँहरु मलाई सप्राइज दिन ‘रुटिन अफ नेपाल बन्द’ टिमसँग मिलेर आउनु भएको रहेछ। बसेर कुराकानी गर्यौँ केहीबेर। दुबै जनाले मलाई हौसला दिनुभयो मेरो कला देखेर।’

पछि उनले उक्त मूर्ति रेडियो अडियो एफएमलाई उपहार दिए। मह जोडीको मूर्ति बनाउनुअघि उनले आफ्नी आमाको पनि मूर्ति बनाएका थिए।

विकलले चारवर्ष अघि मह जोडीकै ‘ग्लु डस्ट पेन्टिङ’ पनि बनाएका थिए। तर त्यतिबेला मह जोडीलाई भेट्न खोजे पनि उनले पाएका थिएनन्।

मह जोडी आफ्नो आइडल भएको बताउँछन् विकल। भन्छन्, ‘सानैदेखि म उहाँहरुको टेलिश्रृङ्खला नछुटाई हेर्थेँ।’

उनले डा. सन्दुक रुइतको पनि मूर्ति बनाएका छन्।

कसैलाई आर्ट गरेर दिँदै गर्दा उनलाई उनीहरुको प्रतिक्रिया हेर्न मन लाग्छ। उनी थप्छन्, ‘त्यतिबेला उहाँहरुको मुहारमा जुन खुसी आउँछ, त्यो खुसीले मलाई अझ राम्रो गर्न प्रेरणा दिन्छ।’

मूर्तिमा आफू सुरुवाती चरणमा भएको बताउने उनी पेन्टिङ र लाइभ आर्टसमा भने राम्रो कम्पनीहरुबाट अफर आएको बताउँछन्। उनलाई जर्मनी र भारतबाट अफर पनि आएको थियो तर कोरोना भाइरसले गर्दा उनको काम रोकियो।

उनलाई आर्ट गर्दै संसार घुम्ने चाहना छ। नेपालको सम्पदा र सौन्दर्यलाई कलामार्फत विभिन्न देशमा चिनाउने धोको छ। अनि मूर्तिको हकमा भने भक्तपुरमा एउटा सानो भएपनि संग्रहालय खोल्ने योजना छ।

उनले एउटा पेन्सिल स्केच गरेको ५ हजार रुपैयाँ लिने गरेका छन् भने पेन्टिङको ३० हजार। यस्तै मूर्तिमा भने उनले मूर्तिको साइज हेरेर मूल्य तोक्छन्।

माटोको मात्र मूर्ति हो भने ३५ हजार लिन्छन् तर यदि उनले बनाएको डा. सन्दुक रुइतको जस्तो ‘रियालिस्टिक’ मूर्ति हो भने ५० हजार रुपैयाँ लिन्छन्।

आगामी पुस्तालाई नडराई, अनि नहिच्किचाइ अगााडि बढ्न सुझाव दिन्छन् विकल। उनी थप्छन्, ‘आर्टको पनि स्कोप छ। एउटा टार्गेट लिएर काम गर्‍यो भने जे कुरा पनि सम्भव छ।’

तर यो सब आफूमा भर पर्ने बताउँछन् उनी।

आर्थिक रुपमा राम्रो हुनका लागि भने आफू पब्लिकमा परिचित हुन जरुरी रहेको बताउँछन् विकल। अरुले चिनेपछि काम आफै आउने उनको अनुभव छ।

‘हाईलाइटमा आउनु पर्‍यो अनि मान्छेले चिन्छन्। त्यसो भयो भने सबै माझ पुग्न सजिलो हुन्छ,’ उनले थपे।

उनको दैनिकीमा आर्ट अभिन्न रुपले जोडिएको छ।

उनी थप्छन्, ‘म त आर्टको समुद्रको एक थोपा पानी हुँ। अझ कति धेरै गर्न बाँकी छ।’

फाल्गुन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्