भारत-पाकिस्तानबीच सम्बन्ध सुधारको पहल, संयन्त्र बनाउनेसहित छलफल केन्द्रित भएका यी हुन् तीन विषय

नयाँदिल्ली-लामो समयपछि भारत-पाकिस्तानबीच सम्बन्ध सुधारको पहल सुरु भएको छ। बुधबार मध्‍यरातमा दुई देशका सेनाबीच भएको वार्तामा यसअघि भएका सन्धी सम्झौताबारे छलफल र समिक्षा गरिएको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन्।

उक्त बैठक लाइन अफ कन्ट्रोल-एलओसी, युद्धविराम उल्लंघन र कश्मीर मुद्दालगायतबारे पनि केन्द्रित भएको जनाइएको छ। वार्तापछि दुई देशले जारी गरेको संयुक्त विषयमा सम्बन्ध सुधारका लागि तीनवटा विषयमा केन्द्रित हुनपर्ने निष्कर्श निकालिएको उल्लेख छ।

विज्ञप्तीअनुसार दुवै देशले एउटा हटलाइन सम्पर्क प्रणालीको विकास गरि त्यसैमार्फत दुईदेशबीच समय समयमा छलफल गर्नुपर्ने,  युद्धविराम उल्लंघन, युद्धविराम, घुसपैठ लगायत विषयमा वार्ताका माध्यमबाट समाधान खोजिनुपर्ने र फेरी राज्यस्तरमा छलफल अगाडि बढाएर आपसी असमझदारी हटाउनुपर्ने सुझाव दिइएको छ।

वार्तामा दुवै देशका मिलिटरी अप्रेसनका महानिर्देशक सहभागी थिए। भारतीय सेनाले दुई देशबीचमा भएको कुराकानीपछि पनि जम्मू कश्मीरमा आतंकारीविरुद्ध चालिएको कदम भने जारी रहने बताएको छ। उसले यो अभियान सन्चालनमा कुनै सम्झौता हुन नसक्ने बताउँदै  एलओसीमा हुन सक्ने घुसपैठविरुद्धको अपरेशन जारी रहने जनाएको छ।

भारतीय सेनाका अनुसार सन् २०२० मा मात्र पाकिस्तान पक्षबाट चार हजार एक सयभन्दा बढी पटक युद्धविराम उल्लंघनका घटना भएको छ। पाकिस्तानी पक्षले १७ वर्षयताकै धेरै युद्धविराम उल्लंघन गरेको दावी भारतीय सेना पक्षको छ।

फाल्गुन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्