उद्योग वाणिज्य महासंघद्वारा द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम विस्तार

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम विस्तार गरेको छ। महासंघका केन्द्रिय सदस्य एवं फोरमका सभापति देशबन्धु वस्नेत (अजित)को संयोजकत्वमा उक्त फोरम विस्तार गरिएको हो।

बिहीबार आयोजित एक कार्यक्रमबीच महासंघले फोरम विस्तार गर्दै क्षेत्रगत रुपमा तीन जना उपसभापतिहरु चयन गरेको छ। त्यसमा  एनआरएनबाट कुल आचार्य, द्विराष्ट्रियबाट अनोज रिमाल र नेपाली उद्योगी व्यवसायीकोतर्फबाट हरिबहादुर कार्कीलाई चयन गरिएको छ।

फोरमको सदस्यहरुमा डा. मनिष थापा, उमेश रायमाझी, ल्विसेस गाडेन ढकाल, ऋषिप्रसाद ढकाल र खगेन्द्रराज ढकाल चयन भएका छन्। यस्तै आमन्त्रित सदस्यहरुमा पुष्पदास श्रेष्ठ, महेशमान श्रेष्ठ, शुभाशिष थपलिया, चन्द्रप्रसाद ढकाल, प्रकाश घिमिरे, प्रकाश तिवारी, अरनिको सिंह र आशिष ढकाललाई चयन गरिएको महासंघले जनाएको छ।

फोरमले एनआरएनएको ६ ओटा क्षेत्रलाई समेट्नेगरी विशेष आमन्त्रित सदस्य नियुक्त गरेको छ। त्यसमा मध्यपूर्वबाट आरके शर्मा, अफ्रिकाबाट हिक्मत थापा, अष्ट्रेलियाबाट दिपककुमार खड्का, यूरोपबाट पूर्णबहादूर खड्का, कोरियाबाट सुवास पौडेल र जापानबाट किरण बिक्रम थापा रहेका छन्।

सल्लाहकार समिति  विस्तार गरेर ८ सदस्यीय पुर्‍याइएको छ। समितिमा शशिकान्त अग्रवाल, कुमार पन्त, ज्ञानेन्द्रलाल प्रधान, शम्भुप्रसाद दाहाल, अजयकुमार मुडवरी, राजेन्द्र राउत, विजय बहादुर मल्ल र अखिलकुमार चापागाई रहेका छन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम महासंघकै एक महत्वपूर्ण अंग भएकाले अबका दिनमा यसले विश्वभरका चेम्बरसँग सहकार्य गर्दै सम्बन्ध विस्तार गर्नुपर्ने बताए। साथै नेपालले आफूलाई उच्च आर्थिम वृद्धिमा लैजानका लागि निर्यातलाई बढावा दिनुपर्ने भएकाले त्यसतर्फ फोरमको ध्यानकेन्द्रित हुनुपर्ने बताए।

यसैगरी कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक वृद्धिका लागि गैरआवासीय नेपालीहरुको लगानी भित्र्याउनका लागि सहजकर्ताको भुमिका निर्वाह गर्नुपर्ने बताए।

‘अहिले देशमा एनआरएन तथा वैदेशिक लगानी ल्याउन के कस्ता समस्याहरु छन् , त्यसको पहिचान गरी सहज रुपमा ल्याउने वातावरण बनाउन सरकारसँग लविङ गर्नु जरुरी छ,’ कार्यक्रममा उनले भने, ‘फोरमले अबका दिनमा वैदेशिक लगानी भित्र्याउन वातावरण बनाएर देशलाई उच्च आर्थिक वृद्धितर्फ लैजान पहल गर्नुपर्छ।’

द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरमका सभापति अजित वस्नेतले देशमा वैदेशिक लगानी भित्र्याउन नेपाल सरकार, गैरआवासीय नेपाली र महासंघबीच त्रिपक्षीय रुपमा सहकार्य गर्दै अन्तराष्ट्रिय सम्मेलन गरिने बताए।

‘सरकारले प्रत्येक वर्ष बजेट बक्तव्य जारी गर्दा वैदेशिक लगानी भित्र्याउन प्रवर्द्धन गर्ने उल्लेख गर्दै आएको छ भने उद्योगी व्यवसायीहरु लागि परेका छन् तर सोही अनुरुप भित्रन सकेको छैन,’ उनले भने, ‘नेपालका केकस्ता क्षेत्रमा विदेशी लगानीकर्ता आउन चाहेका छन् र अहिले के कारणले वैदेशिक लगानी भित्र्याउन सकिएको छैन, उक्त सम्मेलनमार्फत निक्र्यौल गरी बढीभन्दा बढी विदेशी लगानी ल्याउन पहल गरिने छ।’

द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरमले गर्ने ९ बुँदे काम तथा कार्यपत्र पनि जारी गरेको छ।

 

फाल्गुन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्