राजनीतिक दल विधि अनुसार नचलेकाले लोकतन्त्रमाथि आघात पुग्यो- पूर्वराष्ट्रपति यादव

जनकपुरधाम-पुर्वराष्ट्रपति डा. रामवरण यादवले सम्पूर्ण राजनीतिक दललाई लोकतन्त्र मजबुत बनाउन विधि विधान अनुसार आगडि बढन आग्रह गरेका छन्।

विहिबार नेपाली राजनीतिका शिखर पुरुष एवं गान्धिवादी नेता महेन्द्रनारयाण निधिको ९९औँ जन्मजयन्तीको अवसरमा बोल्‍दै उनले भने, ‘राजनीतिक दलहरु विधि विधान अनुरुप चल्न नसकेकै कारण लोकतन्त्रमाथि पटक पटक प्रहार हुँदै आइरहेको छ।’

पूर्वराष्ट्रपति यादवले राजनीतिक पार्टीहरु आफ्नो विधि विधान अनुसार नचलेको कारण नेपालमा लोकतन्त्रमाथि आघात पुगेको बताए। उनले भने, ‘ कुनै पनि दल विधान अनुरुप चल्न नसकेको छैन। नेपाली कांग्रेस, कम्युनिष्ट पार्टी र मधेशवादी दलमध्ये कोही पनि विधान अनुसार नचलेकै कारण लोकतन्त्रको जग कमजोर हुँदै गइरहेको छ।’

पूर्वराष्ट्रपति यादवले जसरी निधि एउटै विचारलाई समातेर जीवनपर्यन्त लडिरहे त्यस्तै अगाडी बढी रहे भने नेपालको लोकतन्त्रले समृद्धि पाउने विश्वास व्यक्त गरे। उनले भने, ‘लोकतन्त्रको रक्षा गर्ने जिम्मा राजनीतिक दल, निर्वाचन आयोग, नागरिक समाजको हो। तर बिडम्बना अहिलेसम्म सबैमा राजनीति भित्रिएको छ। ‘

उनले लोकतन्त्रमाथि प्रहार हुँदा सर्वोच्च अदालतले मात्रै बचाउन अघि सरेको बताए। उनले भने, ‘सर्वोच्च अदालतले गरेको निर्णयलाई हृदयदेखि नै सम्मन गर्छु। सर्वोच्चको निर्णयले लोकतन्त्र, गणतन्त्र, संघियता, धर्मनिरपेक्षतामा विश्वास राख्ने सबैको जीत भएको छ। साथै लोकतन्त्रको रक्षाको जिम्‍मेवारी सर्वोच्‍च अदालतले मात्रै पूरा गरेको छ। ‘

त्यस्तै उक्त कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायवादी कदमको कारण मुलुक पुनः ३ वर्ष पछाडी धकेलिएको बताए । उनले यस क्षतिपुर्तीलाई नेपाली जनताले गराई छोड्ने समेत बताए ।

मन्त्री सोनलले निधिको राजनीतिक जीवन सम्पूर्ण राजनीतिज्ञका लागि अनुकरणीय रहेको बताए । उनले २०५१ सालमा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले प्रतिनिधिसभा विघटन गर्दा विकल्पको रुपमा महेन्द्रनारायण निधिलाई किन खोजिएन यो यक्ष प्रश्न अझै हामी सामू रहेको मन्त्री सोनलको भनाइ थियो।

फाल्गुन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्