मैथिली भाषा, संस्कृतिको विकासको लागि प्रदेश सरकार दृढ छः मन्त्री सोनल

जनकपुरधाम– प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मैथिली भाषा, साहित्य एवं संस्कृतिको इतिहास धेरै पुरानो रहेकोले यसको विकासका लागि प्रदेश सरकार दृढ रहेको  बताएका छन्।

मन्त्री सोनलले कुनै एक भाषाको विकासले अर्को भाषाको विकासमा मद्दत पुग्ने भएकाले अन्य भाषाभाषीको विकासलाई अवसरको रुपमा लिन आग्रह गरे।

बिहीबार प्रदेश २ सरकारको सहयोगमा मैथिली विकास कोषको भवनको शिलान्यास गर्दै मन्त्री सोनलले लोकतान्त्रिक संस्कृतिको विकासले मात्र भाषा एवं संस्कृतिको विकास हुने भएकाले लोकतन्त्र, गणतन्त्रको मजबुत बनाउनका लागि भाषा, साहित्यका विद्वानहरुले कलम चलाउन आवश्यक भएको बताए।

त्यस्तै नेकपाको संसदीय दलका नेता शत्रुधन महतोले मैथिली भाषालाई कमजोर गर्नका लागि मगहीसहितका भाषाको कुरा उठान गरिएको दावी गरे। उनले मैथिली भाषा, संस्कृतिको विकासका लागि आफू दृढ रहेको बताए।

त्यस्तै नेपाली काँग्रेसका ससदीय दलका नेता रामसरोज यादवले मैथिली भाषा, साहित्य एवं संस्कृति नेपालको प्राचीन भाषा संस्कृति रहेपनि यसको विकासको लागि हुनुपर्ने काम नभएको गुनासो गरे।

त्यस्तै जसपाका प्रदेश सांसद परमेश्वर साहले मैथिली भाषाको विकासका लागि बन्न लागेको नयाँ भवनले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। उनले यसको भवन निर्माणमा थप सहयोग गर्ने बताए।

मैथिली विकास कोष जनकपुरधामले करिब ५ करोडको लागतमा आफ्नो आधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको छ।

कोषले तीन कठ्ठा जग्गामा सुविधा सम्पन्न तीन तल्ले भवन बनाउने लक्ष्यका साथ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित सीताकुण्ड नजिकैको जग्गामा शिलान्यास गरेको कोषका अध्यक्ष जिवनाथ चौधरीले जानकारी दिए।

फाल्गुन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्