डिजिटल लर्निङमा कनेक्टिभिटी, कन्टेन्ट र सचेतनाको कमी

‘शिक्षालाई व्यवहारिक र प्रविधिमैत्री बनाउँदै डिजिटल रूपान्तरण गर्न आवश्यक भइसकेको छ’

काठमाडौँ- शिक्षालाई व्यावहारिक र प्रविधिमैत्री बनाउँदै डिजिटल रूपान्तरणको रूपमा अघि बढाउनु पर्ने आवश्यकता आइसकेको सरोकारवालाहरुले बताएका छन्।

डिजिटल लर्निङ डे नेपालमा आयोजित ‘डिजिटल शिक्षाका लागि सँगै’कार्यक्रममा डिजिटल शिक्षाको महत्व, आवश्यकता र सरकारी तवरबाट गरिएको प्रयासहरूलाई चाँडै रुपान्तरण गर्नु पर्ने बताएका हुन।

‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रममा वक्ताहरूले सरकारले तयार पार्ने पोलिसी तथा मास्टरप्लान अनुसार कार्यान्वयनमा जोड दिँदै अघि बढ्नुपर्ने बताए। कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री गणेश शाहले अब सरकारी र निजी क्षेत्रको सहकार्यमा डिजिटल वर्ल्डका लागि तयार हुनुपर्ने बताए।

उनले भने, ‘कोभिड १९ को कारण सरकारले बैकल्पिक शिक्षा सिकाइ कार्यक्रम ल्याएको भए तापनि अब यसलाई शिक्षा रूपान्तरणको रूपमा नै अघि बढाउनुपर्छ। प्रविधिमा रुपान्तरण नै अहिलेको आवश्यकता बनिसकेको छ।’

कार्यक्रमका विशेष अतिथि प्राडा. सुवर्ण शाक्यले इन्फ्रास्ट्रक्चरको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, ‘सरकारले ग्रामीण क्षेत्रसम्म पूर्वाधारको विकास गर्दै आवश्यक कन्टेन्टको लागि निजी क्षेत्रसँग सहकार्य गरी बढ्नुपर्छ। त्रिविमा यो महामारीमा माइक्रोसफ्ट टीमले साथ दियो। तर यसलाई निरन्तर कायम राख्नुपर्ने हुन्छ। समय अब प्रविधिमा अगाडि बढिसक्यो।’

कार्यक्रमको पहिलो प्यानल सेसनमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव आदेश खड्काले सरकारले सन् २०२० देखि २०३० सम्मको रोडम्याप बनाएर शिक्षालाई रूपान्तरण गर्ने अभियानमा अघि बढिरहेको बताए।

यसैगरी पाठ्यक्रम विकास केद्रका निर्देशक गणेश भट्टराईले समयको आवश्यकता अनुसार कन्टेन्ट सामग्रीहरू परिमार्जित र व्यावहारिक बनाउनै जानुपर्ने धारणा राखे। उनले भने, ‘सरकारी विद्यालयमा पक्कै पनि भौतिक संरचना पुगेको छैन। तर प्रविधिका विभिन्‍न माध्यमहरु सिकाइका साथी बन्‍न सक्छन्। रेडियो, टिभीलगायत सञ्‍चारमाध्‍यम पनि विद्यार्थीका साथी बन्‍न सक्छन्। हामीले यसमा पनि सोचिसकेका छौ।’

यसैगरी नमोबुद्ध नगरपालिकाका शिक्षा विभाग प्रमुख जनार्दन रिजालले स्थानीय निकायमा कनेक्टिभिटी, कन्टेन्ट र सचेतनाको कमीले गर्दा पनि डिजिटल शिक्षालाई प्रभावकारी ढंगले अघि बढाउन नसकेको धारणा राखे।

उनले भने, ‘मेरै नगरपालिकामा १० हजार विद्यार्थी छन्। तर ६५ प्रतिशतले मात्रै यो महामारीमा केही केही कक्षा लिए जुममा। तर ३५ प्रतिशत विद्यार्थीलाई त अहिले पनि जुम भनेको के हो थाहै छैन। ६५ प्रतिशत विद्यार्थीका अभिभावकले पनि जुम चलाउन इन्टरनेटको अभाव भएको बताउँछन्। कसरी इन्टरनेट पुर्‍याउने ? महँगो भयो शिक्षा र सिकाइ।’

यस्तै  विद्यार्थी  प्यानल डिस्कसनमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल खुल्ला विश्वविद्यालयका प्रोग्राम कोअर्डिनेटर डा. भोजराज घिमिरेले नेपालमा विद्यालयदेखि विश्वविद्यालयसम्म डिजिटल शिक्षालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारको स्पष्ट योजना र कार्यान्वयन आवश्यक रहेको बताए। उनले भने, ‘डिजिटल शिक्षा सुषुष्त अवस्थामा थियो। तर महामारीले एकैपटक ब्यूताइदियो। यसले अहिले डिजिटलको माग विश्वबजारमा ह्वात्तै बढ्यो। ढिलोचाँडो त बढ्थ्यो नै। कोरोनाले प्रविधिलाई एक्सपोड गर्ने प्रेरकको काम गरिदियो।’

यसका साथै चाँदबाघ स्कूलकी प्रिन्सिपल निरा प्रधानले आफ्नो स्कुलले कोरोनाको बेला लगानी गरेको भौतिक पूर्वाधारलाई अब आउने दिनमा पनि प्रविधिलाई प्रयोग गर्दै विद्यार्थीहरुरलाई प्रविधिमैत्री सिकाइ गराउने बताइन्। उनले भनिन्, ‘ सुरुमा हामीले धेरै दु:ख गरेर प्रविधिमा पूर्वाधार  बनायौ। तर अब महामारीपछि पनि यसलाई प्ररयोगमा ल्याउदैछौ। विद्यार्थीहरुलाई विज्ञान, गणितका प्राक्टिकल गराउनेछौँ।’

त्यस्तै दोस्रो प्यानल डिस्कसनमा वक्ताको रूपमा बुढानिलकण्ठ स्कूलका प्रिन्सिपल होमनाथ आचार्य, फ्युज मेशिन्सका दक्षिण एशिया निर्देशक पराग श्रेष्ठ, कारखानाका सीईओ पवित्र गौतम, ओरियन्ट कलेज वसुन्धाराकी लेक्चर प्राप्ति थापा र एन प्याब्सनका सचिव सुवास न्यौपाने सहभागी भएका थिए। यस सेसनलाई सोसल चेञ्ज मेकरकी प्रोडक्ट म्यानेजर इभा ज्ञवालीले सञ्चालन गरेकी थिइन्।

सबै विद्यार्थीहरूको लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फेब्रुअरी, २०१२ देखि डिजिटल लर्निङ दिवस (Digital Learning Day) विश्वव्यापी रूपमा मनाउन शुरु गरिएको छ । यो दिन शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा सिकाउने शुरुवातको हिसाबले नवीन र अग्रगामी सोचलाई उजागर गर्ने दिन हो।

निमा एजुकेशन फाउन्डेशनले दुई वर्षअघि (२०१९-२०७५) डिजिटल सिकाइ दिवस शिक्षाविद्, विकासकर्ता, डिजिटल पूर्वाधारका सरोकारवाला र आविष्कारकहरूका लागि एक महत्वपूर्ण प्लाटफर्म उपलब्ध गराउने लक्ष्यका साथ शुरू गरेको हो।

शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नविन डिजिटल सिकाइमा जागरूकता फैलाउन गरिएको प्रयासलाई डिजिटल लर्निङ डेको रूपमा लिइएको कार्यक्रम संयोजक नेहा जोशीले बताइन्।

फाल्गुन १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्