संसद पुनःस्थापनापछि सरकार झन् बलियो भयोः सुवास नेम्वाङ

सुवास नेम्वाङ। फाइल तस्बिर।

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद पुनःस्थापनापछि सरकार झन् बलियो भएको बताए।

नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनःस्थापनापछि दह्रो भएको बताए।

उनले प्रतिनिधि सभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो परेको टिप्पणी समेत गरे।

उनले भने, ‘हिजो पुनःस्थापना नहुँदासम्म केपी ओली त केयर टेकर हो निर्वाचन घोषणा गरिराखेको छ, निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के–के निर्णय गर्ने हो? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो। जुन कुरा ठिक थिएन। यो ठिक होइन भनिराथ्यौँ। अब त त्यो दुःख पनि गर्न नपर्ने भयो। संसद पुनःस्थापित भयो। प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास लगायतका कुराहरु के छ स्थिति मैले तपाईहरुलाई बताइ नै सकेँ। उहाँ त हिजोभन्दा झन् दह्रो पो हुनुभयो।’

प्रतिनिधि सभा पुनःस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्वाङले सरकारले प्रस्तावको सामना गर्ने बताए। अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरुलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्वाङले बताए।

नेता नेम्बाङले कानूनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताए। अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै रहेको पनि नेता नेम्वाङले बताए।

फाल्गुन १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्