बिहे सकिएकै रात खुकुरीसहित आक्रमण

मोरङ– मोरङको केराबारी गाउँपालिकामा एक वैवाहिक कार्यक्रमपछि शनिबार बिहान आक्रमण भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार केराबारी गाँउपालिका ७ नर्कटेमा १०/१५ जनाको समूहले स्थानीय भगीमान लिम्बूको घरमा आक्रमण गरेको हो। मोरङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार विवाह सम्पन्न भएर सुतेको अवस्थामा लिम्बू परिवारमाथि आक्रमण भएको हो।

भगीमानकी छोरी सम्झना लिम्बू र सुदीप राईको वैवाहिक कार्यक्रम शुक्रबार राति सम्पन्न भइसकेपछि शनिबार बिहान खुकुरीसहित आक्रमण भएको हो।

आक्रमणमा परेर बेहुलीका बुवा ५९ वर्षीय भागीमान, दिदी ३० वर्षीया सविना लिम्बू, ४५ वर्षीय भगत याक्खा र बेहुलाका आफन्त भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई घाइते भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

यसक्रममा आक्रमणकारीले बेहुलीको २ लाख ३५ हजार ५ सय ४० रुपैयाँ नगद र सुनचाँदीका गरगहना लुटपाट गरेको बताइएको छ। प्रहरी उपरीक्षक खड्काका अनुसार घटनामा बेहुलीले राखेको ठाउँबाट करिब ५ तोला सुन र चाँदीका विभिन्न गहना तथा नगद गरी करिब ६ लाखभन्दा बढीको लुटपाट भएको छ।

घाइतेहरुको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। आक्रमणमा केराबारी–७ का ३० वर्षीय विश्वास लिम्बू, , २८ वर्षीय मुस्कान चेम्जोङ लिम्बू, २५ वर्षीय निशान चेम्जोङ लिम्बू, केराबारी–८ का २२ वर्षीय भाइराजा लिम्बू लगायतको संलग्नता रहेको प्रहरीले जनाएको छ।

घटनाक्रममा उनीहरुले लागुऔषध पनि सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरी उपरीक्षक खड्का अनुसार आक्रमणकारी गाउँघरमा दादागिरी र गुण्डागर्दीमार्फत सर्वसाधारणमा आतंक खडा गर्ने समूह हो। घटना लगत्तै उनीहरु फरार रहेका कारण खोजी तीव्र पारिएको उनले बताए।

प्रहरीका अनुसार शुक्रबार राति मादक पदार्थ सेवन गरेर विवाहघर पुगेको समूहले सुरुमा विवाद गरेको थियो। बिहेमा साउण्ड सिस्टम बजाएर नाचगान गर्न पाउनुपर्ने भन्दै विवाद हुन थालेपछि उनीहरुलाई सम्झाइबुझाइ गरेर घर पठाएको पीडित परिवारका कमल राईले बताए।

सोही समूह पुनः करिब १ घण्टापछि विवाह घरमा पुगेर हो–होल्ला गर्न थालेको उनले बताए। घटनाक्रम बढ्न नदिन वडा अध्यक्ष नारायणप्रसाद चेम्जोङ लिम्बूसहित इलाका प्रहरी कार्यालय केराबारीको टोली पनि घटनास्थलमा पुगेको थियो।

प्रहरीको उपस्थितिसँगै हो–हल्ला गर्ने समूह भागेका वडाध्यक्ष लिम्बूले बताए। तर, शनिबार बिहान करिब साढे ३ बजेतिर सोही समूह विवाह घरमा पुगेर ढुंगामुढा गरेको प्रहरी उपरीक्षक खड्काले बताए। उनका अनुसार समूहले खुकुरी, भाला, रड, दाउरा लगायतले आक्रमण गरेकाे थिए।

फाल्गुन १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्