वैदिक गुरुकुलमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना

दाङ– पर्सा बाबा परिवार दाङले सिद्ध रत्ननाथ मठमा संचालन भएको गोरखनाथ वैदिक गुरुकुलमा अक्षयकोष स्थापना गरेको छ। पर्सा बाबा परिवारभित्र रहेका सबै सदस्यबाट संकलन भएको ५ लाख ५ हजार ५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो। यो अक्षयकोष कार्यविधि निर्माण गरेर सदुपयोग गरिने छ।

गुरुकुलले आयोजना गरेको सत्संग एवम् अभिभावक भेलामा गुरुकुलका अध्यक्ष प्रकाश भट्टराई र मठका महन्त सुरतनाथ योगीलाई पर्सा बाबा योगी परिवारका तर्फबाट जेष्ठ आमा र सानिमाले सो रकम हस्तान्तरण गरेकी हुन्। सनातन वैदिक सभ्यता, संस्कृतिको संरक्षण र निरन्तरता लागि दाङमा खुलेको यो दाङकै पहिलो एकमात्र गुरुकुल हो।

गुरुकुलले नियमित रुपमा गर्दै आइरहेको कार्यक्रमको ४७ औं श्रृङ्खलामा आइपुग्दा दाताहरुबाट खाद्यान्न लगायत अन्य आवश्यक सामग्रीहरु प्राप्त भएको गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिए।

आध्यात्मिक चिन्तक, धार्मिक वक्ता डा.चिन्तामणि योगीको प्रमुख आतिथ्यता, नेपाल सनातन धर्म संस्कृति संगठनका प्रमुख पुष्पराज पुरुष, पतञ्जली योग समिती लुम्बिनी प्रदेशका प्रभारी प्रेम शाह, डाक्टर भोलानाथ योगी, पूर्व शिक्षिका खिमा योगी, डाक्टर नारायणनाथ योगीले गुरुकुलले छोटो समयमा नै सबैको मन जित्न सफल भएको बताए।

मठका महन्थ सुरतनाथ योगीले सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

फाल्गुन १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्