कैलालीमा थरुहट–थारुवानको राष्ट्रिय सम्मेलन सुरु

अधिकार र पहिचानका लागि अन्तिम लडाई लड्छौँः राजेन्द्र महतो

धनगढी– जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले अधिकार र पहिचानका लागि अन्तिम लडाई लडनु पर्ने बेला आएको बताएका छन्। उनले अहिलेका शासकहरु अधिकार दिने भन्दा पनि भएको अधिकार खोस्ने प्रकृयामा रहेको बताए।

शनिबार कैलालीको कैलारी गाउँपालिका हसुलियामा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ नेता महतोले नेपाली कांग्रेस, तत्कालिन एमाले, माओवादी र गच्छेदार मिलेर थारु, आदिवासी लगायत पछाडी परेका समुदायको अधिकार नसमेटिएको संविधान बनाएको बताए।

उनले भने, ‘ठूलो संघर्षपछि संविधान बन्यो तर त्यो अधुरो बन्यो र थारुहरुले टीकापुरमा विद्रोह गरे,’ उनले थपे, ‘२०७२ भदौ ७ गते टीकापुरमा भएको घटना घटना नभई पहिचान र अधिकारका लागि थारुहरुको विद्रोह हो, त्यसलाई शासकहरुले घटना बनाएर झुट्टा मुद्दा बनाए र थारुहरुलाई फसाए।’

नेता महतोले हरेक आन्दोलनका क्रममा विभिन्न षडयन्त्र हुने गरेको बताउँदै टीकापुर आन्दोलनमा पनि षडयन्त्र गरेर सुरक्षाकर्मी मारिएको उल्लेख गरे।

उनले भने, ‘अधिकार माग्दा रेशम चौधरी, लक्ष्मण थारु लगायत थारु नेता जेलमा बस्नु पर्ने तर १७ हजार मान्छे मार्ने आन्दोलनको नेतृत्वकर्ता प्रचण्ड यो देशको प्रधानमन्त्री हुने, यो कस्तो न्याय हो।’

उनले पापको घडा भरिएपछि विष्फोट हुने बताउँदै नेपालमा पनि पापको घडा भरिएकोले अब विष्फोट हुने उल्लेख गरे। उनले भने, ‘थारु युवा युवतिको मनमा आगोको ज्वाला दन्किरहेको छ, विष्फोट हुन मात्र वाँकी छ, यो नै थारु अधिकार सुनिश्चित हुने लक्षण हो।’

शनिबार र आइतबार दुई दिनसम्म संचालन हुने राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री रामजनम चौधरी, डाक्टर गोपाल दहित, संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चका अध्यक्ष कुमार लिङदेन, नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष भानुराम थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य धर्मराज जोशी लगायत दुई दर्जन नेताहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

सम्मेलन अर्न्तगत आइतबार बन्दसत्र संचालन हुने मोर्चाका केन्द्रिय प्रवक्ता मिनराज थारुले जानकारी दिए। उनले थारुको अधिकार स्थापित गर्न, झुठा मुद्दा लगाएर जेलमा रहेका रेशम चौधरी लगायतका थारु नेता रिहा गर्न, नेपालको संविधान अधुरो रहेकाले सडक, सदन र सत्ताबाट संघर्ष गरी संविधान संशोधन गराउन सम्मेलन आयोजना गरिएको बताए। सम्मेलनको उद्घाटनपूर्व मोर्चाको पोसाकसहित थारु युवा–युवतीले मार्च पास गरेका थिए।

सम्मेलनमा लक्ष्मण थारुको अडियो सम्बोधन

सम्मेलन उद्घाटन समारोहमा थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले अडियो रेकर्डमार्फत सम्बोधन गरेका छन्। संयोजक थारुलाई उच्चअदालत दिपायलले आजिवन कैदको फैसला सुनाएपछि उनी अहिले भुमिगत रहेका छन्।

उनको अडियो रेकर् मार्फत गरिएको सम्बोधनमा थारुहरु अब अधिकारका लागि विद्रोहको तयारीमा रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘थारुहरु अपराधी होइनन्, जति पटकभन्दा पनि यो राज्य मान्दैन, अब अधिकार प्राप्तिको लागि विद्रोहको विकल्प छैन, यो सम्मेलन त्यसैको सुरुवात हो।’

उनले अडियो सम्बोधनमा भनेका छन्, ‘यो सम्मेलनमा भौतिक रुपमा उपस्थित हुने परिस्थिति छैन, भौतिक रुपमा उपस्थित हुन नसके पनि सम्मेलन सफलताको कामना, सम्मेलनले महत्वपूर्ण निर्णय गर्नेछ।’

उनले अडियो सम्बोधनमै सबैलाई टीकापुर घटनाका झुटा मुद्दा खारेज गर, राजबन्दी रिहा गर भन्दै नारा लगाउन सबैलाई आग्रह समेत गरे। उनको सम्बोधनसँगै सम्मेलनमा सहभागि सबैले नारा लगाएका थिए।

फाल्गुन १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्