दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउने केयुको निर्णय

काठमाडौँ– काठमाडौँ विश्वविद्यालयले झापास्थित बी एण्ड सी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। गत बुधबार बसेको सिनेट बैठकले २०७३ सालमा कलेजले विश्वविद्यालयमा पेश गरेको निवेदनलाई प्रक्रियामा लैजान निर्णय गरेको हो।

निवेदनलाई प्रक्रियामा लैजाने निर्णय गरेसँगै विश्वविद्यालयले अब राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन प्रक्रियामा लैजान सकिने वा नसकिने हेर्नको लागि पत्राचार गर्ने केयुका उपकुलपति प्रा.डा. भोला थापाले बताए।

‘विभिन्न मिडियामा सम्बन्धन दिएको हल्ला फैलिए पनि हामीले सम्बन्धन दिएका छैनौँ। बरु सम्बन्धन दिन मिल्ने हो वा होइन भनेर प्रक्रिया अगाडि बढाउने निर्णय भने भएको हो’, उनले भने, ‘चिकित्सा शिक्षा आयोग छ, उसले पनि धेरै प्रकृयाहरु हेर्छ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले केयुले के निर्णय गरेको भन्ने कुरा आफूलाई थाहा नभएको हुँदा निर्णय नहेरी नबोल्ने बताएका छन्।
उनले भने, ‘निर्णय के भएको छ, हामीलाई थाहा छैन। सम्बन्धनको प्रक्रिया लामो छ।’

डा. थापाका अनुसार चिकित्सा शिक्षा ऐन आउनु अगाडि नै बी एण्ड सी मेडिकल कलेजले सम्बन्धनका लागि निवेदन दिइसकेकाले गर्दा सम्बन्धनका लागि कागजात हेरेर सम्बन्धन पाउने अथवा नपाउने भन्ने टुङ्गो लगाउनका लागि अध्ययनको लागि प्रकृया खुल्ला गरिएको हो।

बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाईं हुन्।

सम्बन्धनको प्रक्रिया के छ?

चिकित्सा शिक्षा ऐनको दफा १३ मा मेडिकल कलेजलाई सम्बन्धन दिने सम्बन्धी उल्लेख गरिएको छ। उक्त दफामा ऐन लागु भएको १० वर्षभित्र काठमाडौँ उपत्यकाभित्र नयाँ मेडिकल कलेज सम्बन्धन नदिने उल्लेख गरिएको छ।

त्यस्तै एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने ऐनमा भनिएको छ। तर, सोही दफाको उपदफा ६ मा यसअघि सम्बन्धन पाइसकेका र मनसाय पत्र पाएर मापदण्ड पूरा गरेका काठमाडौँ बाहिरका मेडिकल कलेजका हकमा यो नियम लागु नहुनेसमेत उल्लेख छ

फाल्गुन १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्