सेवा प्रवाहमा कर्मचारी उत्प्रेरणाको भूमिका

सार्वजनिक प्रशासन सार्वजनिक भलाईको लागि सरकारद्वारा सञ्चालन गरिने सेवा हो। सार्वजनिक प्रशासनको सञ्चालनमा मानव उत्प्रेरणाकाे गहन भूमिका छ। त्यसकारण पनि कर्मचारीलाई उत्प्रेरित गराउनु व्यवस्थापकको जिम्मेवार रहन्छ। कर्मचारीलाई उत्प्रेरित गराउनको लागि विभिन्न कारक तत्वहरु रहन्छ। उदाहरणका लागि कर्मचारीको सहि मूल्यांकन, मान्यता, विश्वास, कर्मचारी सन्तुष्टि, क्षतिपूर्ति, रोजगार सुरक्षा, प्रशिक्षण र विकास, संगठनात्मक संरचना र अन्य धेरै तत्वहरुका कारण कर्मचारीहरु उत्प्रेरित र अनुत्प्रेरित हुने गर्दछ।

यी तत्वहरु मनोविज्ञानको सबैभन्दा महत्वपूर्ण सर्तहरू मध्ये एक हो। संगठनका अधिकांश प्रबन्धकहरू मानव पूँजीलाई परिचालन गरेर अधिकतम उत्पादन र उत्पादकत्व चाहन्छन्। कर्मचारीको उत्प्रेरणा कुनै पनि संगठनको विकास र विकासको लागि मुख्य आधार हुन्। दीर्घकालीन उद्देश्यप्राप्तिका लागि उत्प्रेरणा र कामको सन्तुष्टि आवश्यक छ। सेवाप्रवाहमा कर्मचारीको उत्प्रेरणाको महत्वपुर्ण भूमिका रहने गरेकोले यसको व्यवस्थापन गर्नु ठूलो चुनौती छ।

उच्च उत्प्रेरित र सक्षम कर्मचारीबाट मात्र सेवाप्रवाहलाई प्रभावकारी बनाउन सकिने भएकोले कर्मचारीको उत्प्रेरणा बढाउने कुरामा व्यवस्थापकले ध्यान जान आवश्यक छ। उत्प्रेरित कर्मचारीमार्फत मात्र सेवाप्रवाहमा गुणस्तरियताको साथै धेरैभन्दा धेरै प्रतिफल पाउन सकिने भएकोले व्यवस्थापकले यो कुरालाई ध्यान दिनुपर्छ।

नेपालको सार्वजनिक प्रशासनको महत्वपूर्ण कार्यहरुमध्ये सेवा प्रवाह पनि एक हो। यसलाई बढी प्रभावकारी बनाउनकै लागि संघीय प्रणालीको अवलम्बन गरिएको छ भने बेला बेलामा अस्थायी तथा पटके रुपमा विभिन्न तौर तरिकाबाट जनताको घरदैलोमा नै पुगेर सेवा प्रदान गरिँदै आएको छ। यसको अतिरिक्त सेवा प्रवाहलाई बढी जनमूखी बनाउनका लागि बिविध प्रयासहरु समेत भएको छन्। जस्तैः सेवा प्रवाहका लागि स्थानीय प्रशासनलाई नैतिक, सक्षम, सुदृढ, उत्तरदायी र व्यवसायी बनाउने, कर्मचारीमा क्षमता विकास गर्ने र उनीहरुले प्रदान गर्ने सेवालाई प्रतिस्पर्धी, उत्तरदायी र जवाफदेही बनाउने कार्यहरू पर्दछ।

तथापि सेवा प्रवाहमा बढी प्रियतावाद हुन खोज्ने प्रवृत्ति अझै हावी छ। यस परिपेक्ष्यमा सेवा प्रवाहलाई जनअपेक्षा अनुरुप तुल्याउनको लागि कर्मचारीहरुमा उत्प्रेणाले महत्वपूर्ण भुमिका खेल्ने गरेको भन्ने विगतका केही अध्ययन अनुसन्धानले देखाएको सन्दर्भमा यसको महत्व थप बढेको छ । नेपालको निजामती प्रशासनमा कर्मचारीको उत्प्रेरणाको अवस्था र त्यसले सेवाप्रवाहमा पारेको प्रभाव तथा असरका बारेमा अध्ययन अनुसन्धानको आवश्यकता देखिन्छ । कर्मचारीको उत्पे्ररणाको अवस्था र सेवा प्रवाहको अन्तरसम्वन्धताले सेवा प्रवाहमा पार्ने प्रभावको सम्वन्धमा थप अध्ययन गरी त्यसको नतिजाको आधारमा सुधारको पक्ष अगाडि बढाउन सकिन्छ। तथ्य र नतिजाको आधारमा गरिने सुधारले कार्यान्वयन पक्षलाई सवल बनाउने भएकोले सेवा प्रवाहप्रति जनविश्वास बढ्न जाने गर्दछ।

उत्प्रेरणा र कार्यसम्पादन सुधारका सम्वन्धमा पि.चौधरीले सन् २०१२ मा गरेको अध्ययन अनुसार संगठनात्मक प्रभावकारीतामा कर्मचारीको प्रेरणाको प्रभाव भन्ने विषयमा अध्ययन गरेको पाइन्छ। उक्त अध्ययनकोे आधारमा निष्किएको निष्कर्षलाई हेर्दा कर्मचारीको उत्प्रेरणाले संगठनको प्रभावकारीतामा सकारात्मक प्रभाव पार्दछ भन्ने देखिन्छ। यसको मतलव उत्प्रेरित कर्मचारीले सगंठनको उत्पादनमा सकारात्मक प्रभाव पार्ने गरेको अध्ययनले देखाएको छ । उत्प्रेरित कर्मचारीहरु अनुत्प्रेरित कर्मचारीको तुलनामा बढी प्रतिफल दिन सफल भएको उनको अध्ययनले देखाएको छ।

त्यसैगरी नुर साफ्नी लगायतका टिमले सन् २०१५ मा गरेको अध्ययनको नतिजाअनुसार कार्य सम्पादन क्षमता र कर्मचारीको व्यक्तिगत आवश्यकता बीचको सहसम्वन्ध सकारात्मक रहेको देखाएको छ । यस अध्ययनले के पनि देखाउँदछ भने कर्मचारीको आवश्यकता पूरा भएको खण्डमा उसको कार्यसम्पादन क्षमता बढ्न जान्छ र कर्मचारीको क्षमताको भरपुर उपयोग गर्न पनि उसको आवश्यकता पूरा गरि सन्तुष्टिका मात्रा बढाउनु पर्ने रहेछ भन्ने देखिन्छ । यी र यस्ता अध्ययनहरुको समीक्षाको आधारमा भन्ने हो भने कुनै पनि संगठनात्मक उत्पादकत्व बढाउनको लागि उत्प्रेरणा अनिवार्य शर्तको रुपमा रहेको हुन्छ।

यी विविध पक्षहरु कर्मचारी उत्प्रेरणाको हिस्सा मात्र होइन संगठनात्मक स्रोतहरूको कुशल व्यवस्थापनको लागि समेत अपरिहार्य तत्व हुन्। कामदारहरूमा उनीहरुको सेवाप्रतिको विश्वासलाई असर गर्ने कारकतत्वहरू, कर्मचारीको मनोवृत्तिमा प्रदर्शन मूल्याकंनमा प्रभावपार्ने तत्वहर, संगठनात्मक प्रतिवद्धता, कार्यस्थलमा कर्मचारीको व्यवहार र संगठनात्मक वृद्धिमा कर्मचारीको प्रदर्शनको प्रभाव जस्तापक्षहरुको अध्ययनको आवश्यक छ।

सेवाप्रवाहमा जनताको गुनासो कम गराउने हो भने सरुवा प्रणालीमा सुधारको आवश्यकता छ । त्यसैगरी निजामती सेवामा रहेको विद्यमान बढुवा प्रणालीप्रति कर्मचारीहरुले व्यक्त धारणा अनुसार विद्यमान बढुवा प्रणाली प्रति ४७ प्रतिशत कर्मचारीले असन्तुष्ट छन् भने मात्र ७ प्रतिशतले सन्तुष्टि छन्।

नेपालको सार्वजनिक प्रशासनका कर्मचारीहरुको व्यक्तिगत कार्य क्षमता प्रखर भएको तर संस्थागत नतिजा कमजोर रहेने गरेको भन्ने आरोप लाग्दै आएको छ । जसको कारणले गर्दा सार्वजनिक सेवा प्रवाह प्रति जनविश्वास गुमेको दावी छ । यसलाई चिर्न पनि सार्वजनिक सेवालाई प्रभावकारी बनाउनु पर्छ त्यसका लागि कर्मचारीमा उच्च मनोवाल बढाउनु पर्छ त्यो कार्य लागि मौद्रिक तथा गैर मौद्रिकतत्वबाट मात्र संभव हुने भएकोले त्यस तर्फ विशेष ध्यान दिन आवश्यक छ।

यस अध्ययनको लागि १०० जना सेवाग्राही र १०० जना बहालवाला कर्मचारीहरुको बीचमा सर्भे गरिएको थियो । उक्त सर्भेमा सेवाग्राही र कर्मचारीले व्यक्त गरेको धारणालाई हेर्दा मौद्रिक तत्व अन्तर्गतकाे कर्मचारीको तलवप्रति उनीहरुबाट प्राप्त धारणा अनुसार ७२ प्रतिशत कर्मचारी विद्यमान तलबमान प्रति असन्तुष्टि व्यक्त गरिएको र २८ प्रतिशतले ठिकठिकै भएको भनी धारणा व्यक्त गरेका छन् भने कोही पनि कर्मचारीले विद्यमान तलबमानप्रति सन्तुष्टि जनाएका छैनन्।

त्यसैगरी सेवाग्राहीले व्यक्त गरेको धारणा अनुसार ३७ प्रतिशतले विद्यमान सेवाप्रति सन्तुष्टि जनाएको छैन भने ४८ प्रतिशतले ठिकठिकै भएको भनेका छन् भने बाकी १५ प्रतिशतमात्र सन्तुष्ट देखिन्छ। वर्तमान तलव तथा पारिश्रमिक प्रति कर्मचारीहरुको सन्तुष्टि स्तर कमजोर देखियो । कर्मचारीको तलव प्रत्येक २ बर्षमा बढाउने भनिएता पनि त्यो व्यवस्थाको पूर्ण रुपमा कार्यान्वय भएको छैन । त्यसको लागि पनि प्रत्येक वर्ष हुने मुद्रास्फ्रितिको आधारमा स्वतः तलव बढ्ने प्रणालीलाई स्थापित गर्न आवश्यक छ। त्यसो गर्न सकिएको खण्डमा कर्मचारीहरु कमजोर आम्दानीको स्रोतको कारण अन्यत्र भौतारिन पर्ने अवस्था हट्न जान्छ।

यो व्यवस्थाले कर्मचारीको सेवाप्रवाहमा संलग्नता बढोत्तरी हुन्छ । फलस्वरुप जनतामा आउने नैरास्यता समेत कमिआई सरकारप्रतिको भरोसामा बृद्धि हुन्छ। त्यसैगरी निजामती कर्मचारीलाई निजामती सेवा ऐन २०४९ ले गरेको प्रावधान अनुसार चाडबाड खर्च बापत वर्षमा १ महिना बराबरको तलव दिने व्यवस्था गरेको छ । यो व्यवस्था प्रति कर्मचारीको धारण माग गरिएकोमा ५५ प्रतिशत कर्मचारीले यो खर्च अपुग भएकोले असन्तुष्टि व्यक्त गरेका छन् भने ३४ प्रतिशतले ठिकठिकै मानेका छन् भने बाकी रहेका ११ प्रतिशत कर्मचारीहरुले सन्तुष्टि जनाएका छन्।

चाडबाड खर्च र सेवाप्रवाहको अवस्थालाई विश्लेषण गर्दा यी दुई बीचमा सकारात्मक सहसम्बन्ध भएको देखिन्छ । चाडबाड खर्चप्रति कर्मचारीको सन्तुष्टिको स्तर बढ्दा सेवा प्रवाह प्रतिको सन्तुष्टि बढ्को छ । यसर्थ यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने उत्प्रेरणाको लागि आवश्यक विभिन्न तत्वहरु मध्ये चाडबाड खर्चलाई प्रयाप्त मात्रामा उपलब्ध गराउन सकेको खण्डमा कर्मचारीहरु उत्प्रेरित भई कार्य सम्पादनमा समेत सुधार हुन जाने देखिन्छ।

त्यसैगरी कर्मचारीलाई दिइँदै आएको वार्षिक ग्रेड प्रणालीप्रति कर्मचारीको सन्तुष्टिको अवस्थालाई विश्लेष्ण गर्दा ४८ प्रतिशत कर्मचारीले हालको ग्रेड प्रणाली पर्याप्त छैन भनेका छ्न भने ४४ प्रतिशतले पर्याप्त होइन ठिकठिकै मात्र हो भनेर उत्तर दिएको पाइयो । बाँकी ८ प्रतिशतले विद्यमान ग्रेड प्रणाली र रकम ठिक भएको भनि सन्तुष्टि व्यक्त गरेका छन् । यस विश्लेषणमा पनि ग्रेड प्रति कर्मचारीको असन्तुष्टि बढेसँगै सेवा प्रवाहको गुणस्तरमा ह्रास आउने गरेको पाइयो । सेवाप्रवाह प्रति १५ प्रतिशत सेवाग्राहीले सन्तुष्ट हुदा मात्र ८ प्रतिशत कर्मचारीले सन्तुष्ट जनाएका छन् । त्यसैगरी ग्रेडप्रति ४८ प्रतिशत कर्मचारीले असन्तुष्टि जनाउँदा ३७ प्रतिले सेवाग्राहीले सेवा प्रवाहको गुणस्तर प्रति असन्तुष्टि जनाएको पाइयो।

यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने कर्मचारीको विद्यमान ग्रेड प्रणालीप्रतिको कर्मचारीको दृष्ठिकोणले पनि सेवा प्रवाहलाई असर पारिरहेको छ। त्यसको लागि कर्मचारीको ग्रेडप्रतिको सन्तुष्टि बढाउँदा सेवा प्रवाहको गुणस्तर बढ्नुपर्ने भएकोले यसतर्फ सम्बन्धित पक्षले ध्यान दिन आवश्यक छ । त्यसैगरी निजामती कर्मचारीमा पछिल्लो समय देखि लागू भएको बिमाको प्रावधान प्रति पनि कर्मचारी सन्तुष्ट नभएको देखिन्छ । ८६.५ प्रतिशतले यसलाई थप सुधार गर्न आवश्यकभएको तर्क पेश गरेका छन् भने मात्र २ प्रतिशत यस प्रावधान पर्याप्त छ भनेका छन् । निजामती सेवा पुरस्कार प्रणालीप्रति कर्मचारीहरु सन्तुष्ट छैन।

छनौट तथा वितरण प्रणाली नै ठिक नभएको भन्ने कर्मचारीको सख्या ४० प्रतिशत छ भने २१ प्रतिशतले ठिक छ भनेका छन् । यसर्थ पनि यो निजामती पुरस्कार प्रणालीलाई सूचकांकको आधारमा योग्य र पाउनुपर्ने कर्मचारीले नै पाउने गरी प्रणालीको विकास गरी कर्मचारीलाई थप प्रोत्साहनको गर्नुपर्छ । साथै निजामती पुरस्कारलाई बढुवासँग अनुवन्धन गरी कर्मचारीलाई थप उत्पे्ररित गर्नुपर्ने देखिन्छ।

गैरमौद्रिक उत्प्रेरणाका तत्वहरु मध्ये कर्मचारीको सरुवा पनि एक हो । सरुवा प्रणाली अनुमान योग्य भएको खण्डमा कर्मचारीहरु उत्प्रेरित हुन्छ । यो अनुसन्धानमा निजामती कर्मचारीको सरुवाको सम्वन्धि धारणा अनुसार ५५ प्रतिशत कर्मचारीहरु सन्तुष्ट छैन भने ४३ प्रतिशत कर्मचारीले ठिकै भएको भनेका छन् भने बाँकी २ प्रतिशत कर्मचारी मात्र सन्तुष्ट छन् । यसवाट के निष्कर्ष निकाल्न सकिन्छ भने कर्मचारीहरु सरुवा प्रणालीको विद्यमान व्यवस्था प्रति प्रायः सन्तुष्ट छैनन्। जसको कारण उनीहरुले दिने सेवा पनि प्रभावकारी हुन गरेको छैन।

सरुवा प्रणाली प्रतिको असन्तुष्टि जति बढी भयो सेवा प्रवाहमा असन्तुष्टिको स्तर त्यति बढ्ने गरेको पाइयो । त्यसर्थ पनि सेवाप्रवाहमा जनताको गुनासो कम गराउने हो भने सरुवा प्रणालीमा सुधारको आवश्यकता छ । त्यसैगरी निजामती सेवामा रहेको विद्यमान बढुवा प्रणालीप्रति कर्मचारीहरुले व्यक्त धारणा अनुसार विद्यमान बढुवा प्रणाली प्रति ४७ प्रतिशत कर्मचारीले असन्तुष्ट छन् भने मात्र ७ प्रतिशतले सन्तुष्टि छन्।

त्यसैगरी सेवा प्रवाहप्रतिको जनताको सन्तुष्टिको स्तर हेर्दा जति कर्मचारीको बढुवा प्राणालीप्रतिको असन्तुष्टि बढेसँगै सेवाप्रवाहको गुणस्तरप्रति पनि जनताको असन्तुष्टि बढेको देखिन्छ । यस अध्ययनबाट के निष्कर्ष निकाल्न सकिन्छ भने कर्मचारीको विद्यमान बढुवा प्रणालीको प्रणाली अनुमान योग्य छैन । यसले उनीहरुमा असन्तुष्टि बढाउँदै आएकोले यसलाई कम गर्न पनि यसलाई अनुमान योग्य बनाउनु पर्छ । सन्तुष्ट र उत्प्रेरित कर्मचारीतन्त्रबाट मात्र गुणस्तरयूक्त सेवाप्रवाह गर्न सकिन्छ।

गुणस्तरयूक्त सेवाप्रवाह भएको खण्डमा जनता र सरकार बीचको सम्वन्धको दरार कमभई सरकार प्रतिको भरोसमा बृद्धि हुन जान्छ । निर्णयमा सहभागिताको सन्दर्भमा प्राप्त धारणा अनुसार ६४ प्रतिशत कर्मचारीले केही मात्रमा सन्तोष व्यक्ति गरेका छन् भने २९ प्रतिशतले असन्तुष्टि जनाएको छ । यो नतिजाले निर्णयमा कर्मचारीको सहभागिताको विद्यमान प्रावधानमा सुधार गरी बढी भन्दा बढी कर्मचारीहरुको सहभागिता गराउन सकेको खण्डमा उनीहरुको मनोबल उच्च हुने भन्ने देखिन्छ।

दण्ड पुरस्कार सम्बन्धी विद्यमान व्यवस्थामा थप सुधारको खाँचो औल्याएको छ । ९२ प्रतिशतले विद्यमान प्रणाली प्रति असन्तुष्टि जनाएको छ भने बाँकी ८ प्रतिशतले मात्र सहमत जनाएका छन् । विद्यमान दण्ड र पुरस्कार प्रणालीले कर्मचारीलाई उत्प्रेरित गराउन नसकेको भन्ने नतिजा विश्लेषणबाट देखिन्छ । दण्ड र पुरस्कार प्रणाली बस्तु निष्ट नहुदा पाउनुपर्नेले पुरस्कार नपाएको र नपाउनुपर्नेले पुरस्कार पाउने गरेको भनि ठूलो सख्याको कर्मचारीहरु निरुत्साहित भएको भन्ने गरिन्छ ।

दण्ड र पुरस्कार उत्प्रेरणाका लागि महत्वपूर्ण औजार हो तर नेपालको सवालमा यसले कर्मचारीको मनोवल बढाउने भन्दा पनि गिराउने गरेको भन्ने छ । जसले गर्दा यो पुरस्कार विद्यमान वितरण प्रणालीप्रति असन्तुष्टिको स्वरहरु बढी नै आउने गरेको छ । यसर्थ पुरस्कार वितरण प्रणालीलाई सूचकांकमा आधारित बनाई हाम्रालाई भन्दा राम्रालाई पुरस्कृत गर्ने प्रणालीको विकास गरिनु पर्दछ । यसो गर्न सकिएको खण्डमा कर्मचारीमा मनोवल बढ्न जाने र सेवाप्रवाहमा समेत बढोत्तरी आउने हुदा यस तर्फ सवै सरोकारवालाहरुको ध्यानदिनुपर्ने देखिन्छ ।

कार्यप्रति सन्तुष्ट भएको कर्मचारी नै उत्प्रेरित हुने गर्दछ । तसर्थ कर्मचारीलाई मौद्रिक तथा गैर मौद्रिक तत्वहरुको माध्यमद्वारा प्रोत्साहित गर्न आवश्यक छ । त्यसो गर्न सकिएको खण्डमा सेवा प्रवाहमा बढोत्तरी भई जनसन्तुष्टि बढ्न जाने र सरकार प्रतिको भरोसामा समेत बृद्धि हुन्छ । साथै उच्च मनोबलयुक्त कर्मचारीबाट सम्पादीत कार्यबाट संगठन र कर्मचारी दुबैलाई लाभ प्राप्त हुन्छ ।

उच्च स्तरको कार्यसम्पादनले कर्मचारीहरु सन्तुष्ट रहेको संकेत गर्दछ । सामान्यतया कर्मचारीले आफ्नो कामलाई बढी मन पराउँदछ र उ त्यस कार्यप्रति सकारात्मक हुन्छ । त्यसकारण, रोजगारीमा उसको सन्तुष्टिले समग्र कार्य सम्पादनलाई असर पार्ने भएकोले कर्मचारीको मनोवल उच्च बनाई राख्नु पर्दछ । उच्च मनोवल भएका कर्मचारीबाट सेवाप्रवाहमा गुणस्तरियता कायम भई सेवाग्राहीको असन्तुष्टिलाई न्यून गर्न सहयोग पुगी र सरकार प्रतिको जनविश्वास बढ्न जान्छ र सरकार र जनता बीचको सम्वन्धमा समेत सुधार आउन जान्छ।

फाल्गुन १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्