रोबर्ट लेवाण्डोस्की: मेस्सी र रोनाल्डोलाई पछाडि पार्ने ‘फिफा वर्ष खेलाडी’ अर्थात पछिल्लो समयका ‘गोल मेसिन’

बायर्न म्युखिका रोबर्ट लेवाण्डोस्की

इङ्लिस प्रिमियर लिग, ला लिगा र इटालियन सि रि ए फूटबलको तुलनामा अलिक कम चर्चा हुन्छ जर्मनीको बुन्डेस लिगाबारे। तर युरोपियन क्लब फुटबलमा हरेक सिजन जर्मन क्लबले आफ्नो प्रभाव छाड्छन्। त्यसका लागि बायर्न म्युनिख एक्लै ‘काफी’ देखिने गरेको छ।

पछिल्लो समयको कुरा गर्ने हो भने बुन्डेस लिगा क्लब बायर्न नै हो जसले युरोपियन च्याम्पियन्स लिगको गत संस्करण जितेको थियो। त्यतिबेला क्वार्टरफाइनलमा बार्सिलोनालाई ८-२ ले हराएको बायर्नले फाइनलमा फ्रान्सको पेरिस सेन्ट जर्मन-पीएसजीलाई १-० गोलले निराश बनाएको थियो। गत सिजन बायर्नले घरेलु लिग पनि जित्यो। त्यसपछि क्लब विश्वकप र यूईएफए सुपर कप पनि।

च्याम्पियन्स लिगका पछिल्ला ११ संस्करणको तथ्यांक हेर्ने हो भने बायर्न दुईपटक विजेता, दुईपटक उपविजेता, चारपटक सेमिफाइनल, एकपटक क्वार्टरफाइनल र दुईपटक प्रिक्वाटरफाइनलमा पुगेको छ। समूहगत चरणबाटै बाहिरिएको छैन।

बायर्न बुन्डेस लिगाको पछिल्ला लगातार ८ सिजनको विजेता पनि हो। बायर्नले फिफा वर्ष खेलाडी भने गत सिजन मात्र पायो। फिफा वर्ष खेलाडीमा ला लिगाको एक दशकभन्दा लामो पकड तोड्दै रोबर्ट लेवान्डोस्की विश्वकै सर्वोत्कृष्ट वर्ष फुटबलर बने। ६ पटक यो अवार्ड जितेका लियोनल मेस्सी र पाँचपटक यो अवार्ड जितेका क्रिस्टियानो रोनाल्डो यसपटक खाली हात भए।

लेवान्डोस्कीलाई युरोपियन वर्ष फुटबलर अवार्ड पनि प्रदान गरियो। लेवान्डोस्की दुवै अवार्डका लागि निर्विवाद दावेदार थिए। बायर्नले एकै सिजन घरेलु लिग, युरोपियन च्याम्पियन्स लिग र लिग कपको उपाधि जित्दा यी तीनवटै प्रतियोगितामा लेवान्डोस्की सर्वाधिक गोलकर्ता रहेका थिए। यसअघि यस्तो सफलता युरोपका कुनै पनि क्लबमा नेदरल्यान्ड्सका पूर्व स्ट्राइकर जोहान क्रुफले मात्र हात पारेका थिए।

सन् १९७४ र १९८२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको पोल्यान्ड लगातार तीन संस्करण बाहिर रहेर त्यसपछि सन् २००२ को विश्वकपमा मात्र छानिएको थियो। तर पहिलो चरण पार गर्न असफल भयो। २००६ को संस्करणमा पनि छानिएको पोल्यान्ड पहिलो चरण पार हुन सकेन। त्यतिबेला लेवान्डोस्की उमेर समूहको फुटबल खेल्दै थिए।

पोल्यान्डले पहिलोपटक युरोकप खेल्यो, सन् २००८ मा। त्यसै वर्ष लेवान्डोस्कीलाई  पोल्यान्ड फुटबल संघले वर्षको सर्वोत्कृष्ट युवा फुटबलर घोषित गर्‍यो। त्यसै वर्ष उनले सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरे। तर पोल्यान्डले फेरी विश्वकप खेल्न लामो समय कुर्नु पर्‍यो। सन् २०१० र सन् २०१४ को संस्करणका लागि छनोट हुन सकेन।

सन् २०१८ मा आयोजित विश्वकपमा भने छनोट भएको पोल्यान्ड पहिलो चरणबाटै बाहिरिएको थियो। युरोकप भने हरेक संस्करण खेलिरहेको छ। युरोकपमा सन् २०१२ मा समूहगत चरणबाट बाहिरिएको थियो भने सन् २०१६ मा क्वाटरफाइनलसम्म पुगेको थियो। लेवान्डोस्की पोल्यान्ड फुटबलका कीर्तिमानी खेलाडी भइसकेका छन्।

उनी पोल्यान्डको सिनियर राष्ट्रिय टोलीका लागि सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने र सर्वाधिक पोलिस वर्ष फुटबलर बन्ने खेलाडी हुन्। उनले पोल्यान्डको सिनियर राष्ट्रिय टोलीका लागि एक सय १६ पटक खेलेका छन् भने ६३ गोल गरेका छन्। हाल टोलीको कप्तान रहेका उनलाई पोल्यान्ड फुटबल संघले ९ पटक वर्षको सर्वोत्कृष्ट फुटबलर घोषणा गरिसकेको छ।

पोल्यान्डको सि डिभिजन र बी डिभिजनको सिजनकै सर्वाधिक गोलकर्ता बन्दै उनले सन् २००८/०९ सिजनमा त्यहाँको प्रिमियर लिग क्लब लिचका लागि खेलेका थिए। त्यस वर्ष लिगको दोस्रो सर्वाधिक गोलकर्ता बनेका लेवान्डोस्कीकै प्रेरणामा लगत्तै अर्को सिजन लिचले घरेलु लिगको उपाधि जितेको थियो। लेवान्डोस्की लिगकै सर्वाधिक गोलकर्ता बनेका थिए।

सन् २०१० मा  बुन्डेस लिगा क्लब बोरुस्सिया डर्टमुन्डले उनलाई आबद्ध गरेको थियो। डर्टमुन्डमा उनले सुरुका दुई वर्ष घरेलु लिगको उपाधि जिते। तेस्रो सिजन डर्टमुन्ड युरोपियन च्याम्पियन्स लिगमा फाइनलसम्म पुगेको थियो। सेमिफाइनलको पहिलो लेगमा उनले रियल म्याड्रिडविरुद्ध चार गोल गरेका थिए।  फाइनलमा बुन्डेस लिगा क्लब बायर्नसँग पराजित भयो। सन् २०१३/१४ सिजन लेवान्डोस्की बुन्डेस लिगाका सर्वाधिक गोलकर्ता बने। सन् २०१४ मा बायर्नले लेवान्डोस्कीलाई भित्र्यायो। बायर्न आएयता लेवान्डोस्कीको गोलको ‘ग्राफ’ बढेको छ।

 

उनले सन् २०१५/१६ देखि हरेक सिजन कम्तिमा ४० गोल गरेका छन् क्लबका लागि। त्यसअघि उनले कुनैपनि सिजन क्लबका लागि ४० गोलको आँकडा भेट्टाउन सकेका थिएनन्। उनी डर्टमुन्डको समेत जोड्ने हो भने हालसम्म बुन्डेस लिगामा पाँच पटक सर्वाधिक गोलकर्ता बनेका छन्। उनलाई दुईपटक बुन्डेस लिगा प्लेयर अफ दी सिजन चुनिएको छ।

उनी युरोपियन च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। उनिभन्दा अगाडि क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी मात्र छन्। रोनाल्डोले एक सय ३४, मेस्सीले एक सय १९ र लेवान्डोस्कीले ७२ गोल गरेका छन्। प्रिमियर लिग फुटबल र सिनियर राष्ट्रिय टोलीका लागि उनले पाँच सयभन्दा बढी गोल गरेका छन्।

डर्टमुन्ड र बायर्नका लागि मात्र उनले करिब चार सय गोल गरेका छन्। बुन्डेस लिगामा सबैभन्दा बढी गोल गर्ने विदेशी खेलाडीको कीर्तिमान लेवान्डोस्कीकै नाममा छ। गत सिजन उनले करियरकै सबैभन्दा बढी गोल गरे। उनले सिजनभर क्लबका लागि ४७ खेलमा ५५ गोल गरेका थिए। त्यसमध्ये घरेलु लिगमा ३१ खेलमा ३४ गोल थियो भने च्याम्पियन्स लिगमा १० खेलमा १५ गोल।

यो सिजन पनि लेवान्डोस्कीको गोलको रफ्तार उस्तै छ। उनले सबै प्रतियोगितामा गरि ३२ खेलमा ३४ गोल गरेका छन्। यसमध्ये घरेलु लिगमा २२ खेलमा २८ गोल र च्याम्पियन्स लिगमा चार गोल रहेको छ। उनी युरोपका ठुला घरेलु लिगमा यो सिजन सबैभन्दा बढी गोल गर्ने खेलाडी रहेका छन्। मेस्सी र रोनाल्डो दुवैले  २३ खेलमा समान १९ गोल गरेका छन्।

इङ्लिस प्रिमियर लिग, इटालियन सिरि ए र ला लिगाको तुलनामा बुन्डेस लिगामा एउटा टोलीले चार खेल कम खेल्छ। त्यति हुँदा पनि लेवान्डोस्की युरोपका ठुला घरेलु लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको अवार्डका लागि प्रतिस्पर्धी देखिन्छन्। बायर्न यो सिजन घरेलु लिगमा २३ खेलको समाप्तीमा दुई अंकको अग्रतासहित शीर्षस्थानमा छ। युरोपियन च्याम्पियन्स लिगमा पनि प्रिक्वाटरफाइनलको पहिलो लेगमा ४-१ गोलले विजयी भएको छ र दोस्रो लेगको तयारी गरिरहेको छ। यो अवस्थामा लेवान्डोस्की फिफा वर्ष खेलाडीको अवार्ड रक्षा गर्न बलियो ‘पोजिसन’मा देखिन्छन्।

 

फाल्गुन १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्