सिड्नीमा नेपाली पत्रकार कार्की मृत फेला

सिड्नी- अस्ट्रेलियाको सिड्नीस्थित डलविच हिल निवासी सञ्चारकर्मी टीका कार्की गत शनिबार २७ फेब्रुअरीका दिन मृत अवस्थामा फेला परेका छन्।

केही दिनदेखि मोबाइल नउठेपछि कार्कीकी बहिनीले शंका लागेर प्रहरीलाई सम्पर्क गरेकी थिइन्। अचेत अवस्थामा फेला परेका कार्कीलाई प्यारामेडिक्सको टोलीले अस्पताल पर्‍याएका थिए जहाँ उनलाई मृत घोषणा गरिएको थियो ।

एक दशकभन्दा लामो समयदेखि ‘स्किड रो रेडियो’मा नेपाली कार्यक्रम हिमालयन रेडियो सञ्चालन गर्दै आइरहेका सञ्चारकर्मी कार्की डलविच हिलमा एक्लै डेरा लिएर बस्दै आइरहेका थिए। कार्कीको मृत्युको कारणबारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीले जानकारी दिएको छ।

बागलुङ स्थायी घर भएका कार्की सन् १९९६ सालमा अस्ट्रेलिया आएका आएका थिए। उनका श्रीमती र दुई छोराहरू छन्। कार्कीका सबै परिवार नेपालमै बस्दै आएका छन्। उनी अस्ट्रेलिया आएदेखि नै सामाजिक कार्यमा सक्रिय थिए।

एन्जाद्वारा दुःख व्यक्त

अस्ट्रेलियाका नेपाली पत्रकारहरूका् संगठत अस्ट्रेलियन नेप्लिज जर्नलिष्ट एसोसिएसनको आइतबार बसेको बैठकले टीका कार्कीको निधनप्रति दुःख व्यक्त गर्दै उनको आत्माको चिर शान्तिको कामना गर्नुका साथै एक मिनेट मौन धारण गरेको छ ।

जुममा भएको बैठकमा एन्जाका अध्यक्ष हेमन्त काफ्लेले कार्कीको निधनले अष्ट्रेलियाको नेपाली समाजलाई अपूरणीय क्षति भएको बताए । एन्जाका सल्लाहकार ब्रिसबेनका निवासी सञ्चारकर्मी डा. भरतराज पौडेलले प्रवासमा रहेर दुई दशकभन्दा बढी समय पत्रकारिता गर्ने कार्की विश्वभरिका नेपाली समाजमा परिचित रहेको बताउँदै प्रवासमा पत्रकारिताका शुरुवाती दिनलाई सम्झिए।

उनले भने, ‘त्यसताका आशिष शर्मा तिवारीले रेडियो कार्यक्रम सञ्चालन गर्दै थिए । उनले टीका कार्की अनि म लगायतका केही साथीहरू जोडिएर बन्द हुने अवस्थामा रहेको सो नेपाली कार्यक्रमलाई चलाउन शुरु गरेका थियौं। कार्कीले सञ्चालन गर्न थालेपछि सो कार्यक्रम निरन्तर रूपमा चल्दै आइरहेको थियो। अहिले मैले त्यसबखतका साथीहरू भिमसेन सापकोटा, प्रभाती कार्की, आशिश शर्मा, सन्तोष शर्मा, सीमा सुब्बा, रामकान्त न्यौपाने, सन्तोष भण्डारी लगायतलाई सम्झिरहेको छु । प्रवासको पत्रकारिताका लागि टीकाजीको योगदानलाई हामी बिर्सने छैनौं । उनको परिवारप्रति समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दछु।'[

प्रवासका शुरुवाती संङ्घर्षका दिनदेखि सङ्गत गरेका उनका साथी डिला खरेलले टीका कार्कीलाई समुदायको हितमा लागिपर्ने एक अभियन्ताका रूपमा सम्झिए।

उनले भने, “सन् २००६ बाट चिनजान भएका कार्की मेरा परिवारका अभिन्न अङ्गजस्तै थिए। समाजिक सरोकारका विषयदेखि लिएर आपसी सरसहयोगमा सदैव खुला हृदयले सहयोगी भूमिका खेलेका कार्कीको निधनले मैले व्यक्तिगत रूपमा मात्र नभई प्रवासको समग्र नेपाली समुदायले एक शुभचिन्तक गुमाएको छ । समुदायका लागि उनले पुर्‍याएको योगदानलाई हामीले कहिल्यै बिर्सने छैनौं ।”

फाल्गुन १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्