नेपालगञ्ज – निशा वैश्य र सोनम गुप्ता हरेक दिन साढे तीन बजे नारायण स्कूल, नेपालगञ्जमा आइपुग्छन्। एमए गरेकी निशा र पिजी (पोष्ट ग्राजुएट) गरेकी सोनम नारायण स्कूलमा पढाउन होइन, पढ्न आउने गर्छन्। यी दुवै नेपाली बुहारी हुन्।

निशा र सोनमजस्ता २२ जना बुहारी नेपाली भाषा सिक्न नारायण स्कूलमा आउने गर्दछन्। निशा आफै शिक्षिका थिइन्। भारतमा उनले दश वर्ष पढाइन्। सात वर्षअघि बुहारी भएर नेपालगञ्जमा आएपछि गृहिणीमा सीमित भएकी छन्।

श्रीमान्‌को सेन्चुरी मसला, अगरबत्तीको डिलर छ। उनलाई पसलमा बस्दा अप्ठेरो महसुस हुन्छ। किनकि उनले नेपाली भाषा जान्दिनन्। निशा भन्छिन्, ‘ग्राहकले नेपाली भाषा बोल्छन्। मलाई आउँदैन। अप्ठेरो लाग्छ।’

सोनमलाई पनि घर बाहिर निस्किँदा भाषाको समस्या हुन्छ। भलै उनी घर बाहिर एक्लै निस्किन्नन्। उनका श्रीमान् भेरी अस्पताल, नेपालगञ्जमा डाक्टर छन्।

यी पढेलेखेका बुहारीलाई नेपाली भाषा नआउदा अप्ठेरो परेको छ। नेपालगञ्जमा समुदाय विशेषका समाज, संघ संगठन छन्। मारवाडी, वैश्य समाजले समुदायमा सामाजिक कामहरु पनि गरिररेका छन्। यस्ता समाज, प्रतिष्ठानमा काम गर्न अर्थात समाज सेवाका लागि उनीहरुलाई नेपाली भाषा नजान्दा अप्ठेरो पारेको छ।

पढेलेखेका बुहारीलाई समाज सेवामा अगाडि बढाउनका लागि भाषाले अप्ठेरो पारेपछि यतिबेला नेपालगञ्जमा भाषा सिकाउने काम भइरहेको छ। औतारदेई कसौंधन (चौधराइन) सेवा प्रतिष्ठानले उनीहरुलाई नेपाली भाषा सिकाइरहेको छ

नेपालगञ्जका २२ जना कसौंधन, सोनी, रस्तोगी, पञ्जावी महिला नेपाली भाषा सिकिरहेका छन्। उनीहरुलाई नेपाली बोल्न राजन रानामगरले सिकाइरहेका छन्।

उच्च शिक्षा अध्ययन गरेका छन्। छोराछोरीको स्कूलबाट कार्ड आउँदा पढ्न समस्या हुने गरेको छ। रेष्टुरेन्ट, सपिङमा जाँदा भाषाको समस्या हुने गरेको छ।

अधिकांश बुहारीहरु घरमा हिन्दी बोल्छन्। यसले बच्चामा पनि असर पारेको छ। बुहारीले नेपाली सिकेपछि बच्चालाई नेपाली सिकाउन सहज हुन्छ नै।

त्यसो त कतिपय उच्च घरानाले आफ्नी छोरीको शिक्षा सीमावर्ती भारतीय शहरका स्कूलबाट गराउँछन्। उनीहरुलाई पछि भारतमा विहे हुँदा सहज हुन्छ भन्ने निष्कर्ष निकालिन्छ।

प्रतिष्ठानका सदस्य एवं नेपाली भाषा प्रशिक्षणकी संयोजक रमारानी वैश्यले पढेलेखेका महिलाहरु नेपाली भाषा नजान्दा पछाडि परेको बताइन्।

‘पढेलेखेका महिलाहरु समाज सेवा गर्न चाहन्छन्। नेपाली भाषा नजान्दा अप्ठेरो परेको छ,’ वैश्यले थपिन्, ‘मलाई नै धेरै गाह्रो भएको थियो। आफैले नेपाली भाषा सिकेकी हुँ।’

गएको स्थानीय निर्वाचनमा वैश्य नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयरमा निकटतम प्रतिस्पर्धी थिइन्।

फाल्गुन १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्