काठमाडौँ – बालाजु बाइपासका सडक पीडितहरुले आज पनि काठमाडौँमा प्रदर्शन गरेका छन्। उनीहरुले विकासका नाममा प्रतिगमन भएको भन्दै माइतीघरमा धर्ना दिएका हुन्।

उनीहरुले ‘गैर न्यायिक सडक विस्तार बन्द गर, सुमन सायमीजस्ता अभियन्तालाई रिहा गर लेखिएका प्लेकार्डसहित धर्ना दिएका हुन्।

विकासको नाममा नागरिकलाई सडक छाप बनाउने काम रोक्न माग गर्दै केही दिनदेखि आन्दोलन भइरहेको छ। आइतबार काठमाडौँ महानगरपालिकाको कार्यालयमा धर्ना दिइएको थियो।

आफूहरुको उठिबास गराएर प्रतिगमन गर्न खोजिएको आरोप आन्दोलनकारीको छ। उनीहरुले बालाजु सडक विस्तारका नाममा आदीबासीलाई सुकुम्बासी बनाउन नपाइने बताएका छन्।

सडक विस्तारको क्रममा उठिबास लगाइएकालाई सोही स्थानमा पुनःस्थापित गर्न उनीहरुको माग छ।