शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिनेमध्ये एपीएफको टोली सर्वोत्कृष्ट युनिट

काठमाडौं- संयुक्त राष्ट्र संघको आब्हानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानमा तैनाथ बिभिन्न देशका युनिटहरु मध्ये सशस्त्र प्रहरी बल, नेपालको फर्म्ड पुलिस युनिट (एफपीयू) सर्वोकृष्ट घोषित भएको छ ।

अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्धारा एलिन पिकेरिङ्गको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन परीक्षण तथा मुल्याङ्कन समितिले दक्षिणी सुडानमा तैनाथ ६ वटा एफपीयूहरुमध्ये राजधानी जुवामा तैनाथ एपीएफको एफपीयूलाई सर्वोकृष्ट युनिट घोषणा गरेको उक्त युनिटका कमाण्डिङ्ग अफिसर सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

मिशन कार्यादेशको ज्ञान र समर्थन, कमाण्ड एण्ड कन्ट्रोल, नागरिक सुरक्षा, अप्रेशनल रेडिनेश र क्षमता, बन्दोबस्ती क्षमता, प्रशासन, तालिम र स्वास्थ्य तथा कल्याणकारीका आधारमा सर्वोत्कृष्ट यूनिट छनोट भएको हो। एपीएफबाट खटिएको एफपीयूले ३२ पुर्णाङ्कमा सतप्रतिशत अंक प्राप्त गरेको न्यौपानेले जानकारी दिए।

न्यौपानेले नेतृत्व गरिरहेको उक्त डप्फामा डेपुटि कमाण्डिङ्ग अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक-डीएसपी शिब प्रसाद गैहे, चिफ लजिष्टिक अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक-डीएसपी रामजंग पाण्डे र चिफ अप्रेशन अफिसरको जिम्मेवारीमा सशस्त्र प्रहरी नायब उपरीक्षक-डीएसपी अरुण कुमार शर्मा रहेका छन । उक्त एफपियुमा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवानहरु कार्यरत छन । सातौँ डप्फाको रुपमा यो टोली त्यहाँ पुगेको थियो।

हाल दक्षिण सुडानमा रहेका एफपियुहरुमा नेपालको तर्फबाट दुई वटा, रुवन्डाको तिन वटा र घानाको एक गरी जम्मा ६ वटा एफपियुहरु कार्यरत रहेका छन् । शान्ति प्रक्रियामा रहेको यस राष्ट्रमा सन २०२३ डिसेम्बरमा आम निर्वाचन हुन गईरहेको छ।

फाल्गुन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्