गोठालो गएका थारुको बाघको आक्रमणबाट मृत्यु

नेपालगञ्‍ज- बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

गेरुवा गाउँपालिका वडा नं. ६, नौरंगापुरमा भैसी चराउन गएका राजापुर नगरपालिका वडा नं. १० का ६५ वर्षीय लालबहादुर थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) विष्णुप्रसाद श्रेष्ठले बाघले आक्रमण गरेर लगेका थारुको शव केही पर भेटिएको बताए।

‘बाघले आक्रमण गरेर एकजनालाई लगेको खबर आएपछि हाम्रो टोली हात्तीको सहयोगमा घटनास्थलमा पुगेको थियो, वार्डेन श्रेष्ठले भने, बाघले शुरुमा आक्रमण गरेको भनिएको ठाउँबाट करिव तीन सय मिटर पर थारुको शव भेटिएको छ । शव क्षतविक्षत रहेको छ।’

बर्दियामा यसअघि पुसमा मोटरसाइकलमा रहेकी महिलालाई बाघले तानेर खाएको थियो।

फाल्गुन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्