लजिस्टिक नीति चाडै निर्माण हुन्छ: उद्योग मन्त्रालय

मोरङ-सरकारले उद्योग, व्यवसाय अनुकुल हुने गरि लजिस्टिक नीति बनाउनु पर्नेमा विराटनगरका उद्योगी ब्यवसायीहरुले सुझाव दिएका छन्।

विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को समन्वय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा आयोजित अन्र्तक्रियाका क्रममा उद्योगीले मुलुकमा एकीकृत नियम नहुँदा काम गर्न असहज भएको गुनासो गरेका थिए।

कार्यक्रममा सहभागि मुरारी घिमिरेले उद्योग क्षेत्रको नियमनका लागि एकीकृत ऐन निर्माणमा जोड दिए। उनले एकीकृत ऐनको निर्माण हुनसकेको अवस्थामा काम गर्न सहज हुने बताएका थिए। कार्यक्रममा लजिस्टिक नीति स्पस्ट नहुँदा काम गर्न समस्या हुदै आएको बताएका उद्योगीहरुले सरकारले सहज, सरल र प्रभावकारी नीति ल्याउनु पर्नेमा जोड दिए।

सरकारले नीति ल्याउनुपर्नेमा जोड दिएका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले त्यसको कार्यवीधि र निर्देशिकासमेत जारी गर्नुपर्नेमा उल्लेख गरे। उनले पूर्वाधार अभाव र समन्वय अभावमा उद्योगीहरुले भोग्नुपर्ने समस्याको ब्यवस्थापन सरकारको प्राथमिकतामा रहनुपर्ने बताए।

कार्यक्रममा मन्त्रालयका सचिव दिनेश भट्टराईले लजिस्टिक नीति चाडै ल्याउने जानकारी दिए। उनले स्थानीयदेखि स्वदेशी उत्पादनलाई सहज ढंगबाट बजार प्रवद्र्धन, छरितो र सुलभ बनाउन ब्यापारको लागत कम गराउने सो नीति चाडैनै निर्माण हुने बताए।

उनले बस्तुको उत्पादन, भण्डारण, वितरण, आयात निर्यात तथा ढुवानी प्रणालीलाई एकीकृत रुपमा सम्बोधन हुनेगरि नीति आउने स्पस्ट पारे। कार्यक्रममा मन्त्रालयले लजिस्टिक नीतिका विषयमा सरोकारवाला निकायसंग सुझाव समेत संकलन गरेको छ।

त्यसैगरि मोरंग ब्यापार संघ र उद्योग संगठन मोरंगद्धारा आयोजित अर्को कार्यक्रममा मन्त्रालयका पदाधिकारी समक्ष उद्योगीहरुले सुझाव तथा समस्या राखेका थिए।

ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले वाणिज्य फर्म नविकरणको समस्या, ब्यवसायीको उधारो सुरक्षण गर्ने नीति र निकाय बनाइनुपर्ने, ट्रक ब्यवसायी र ढुवानीकर्ताको दोहरो टिडिएस लगायतका समस्या निराकरण, सीमा क्षेत्रमा हुने खुल्ला ब्यापार र चोरी पैठारीमा कडाई, सुनसरीको अमडुवामा निर्माण हुने भनिएको औद्योगिक क्षेत्र विकास गरि क्रस बोर्डर इकोनोमी जोनमा परिणत गर्नुपर्ने लगायतका सुझाव दिएका थिए।

फाल्गुन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्