ओली सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ –नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गरिएको छ।

नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु ११६ कायम भएको छ। यस्तै, डिजल र मट्टितेल प्रतिलिटर रु ९९ कायम भएको छ।

यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रतिलिटर बिक्री मूल्यमा रु पाँचले वृद्धि गरी रु ७२ कायम गरिएको निगमले जनाएको छ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ प्रतिकिलोलिटर कायम गरिएको छ। खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत नै कायम राखिएको निगमले जनाएको छ।

मूल्य समायोजनपश्चात् पनि भारतीय सीमा रक्सौलसँग जाडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल लिटरमा रु ३५ रुपैयाँ ९३ पैसा र डिजल प्रति लिटर ४२ रुपैयाँ ७ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ।

निगमले यसअघि यही फागुन ४ गतेपनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो। इण्डियन आयल कर्पोरेशनले सोमबार पठाएको मूल्यसूचीअनुसार नै मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

फाल्गुन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्