काेराेना खाेपले संक्रमित अस्पताल भर्ना हुने क्रम ८० प्रतिशतले घटायाे

कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका वा फाइजर–बायोएनटेकको खोपको पहिलो डोजले अस्पताल भर्ना गरेर उपचार गर्नु पर्ने अवस्था ८० प्रतिशतले घटाएको देखिएको छ ।

इंग्ल्याण्डमा गरिएको अध्ययनमा खोपको पहिलो डोजका कारण अस्पताल भर्ना हुने दरमा ८० प्रतिशत भन्दा बढिले कमी आएको हो ।

खोप लगाएको तीनदेखि चार हप्तामा त्यसको प्रभाव देखिएन थालेको पब्लिक हेल्थ इंग्ल्याण्डको तथ्यांकमा देखिएको छ ।

खोपको पहिलो डोज सबैभन्दा पहिले पाएका ८० वर्ष भन्दा माथिका व्यक्तिमा यस्तो देखिएको हो । सरकारी वैज्ञानिकहरुले प्रतिवेदनको स्वागत गर्दै पूर्ण प्रभावकारिताका लागि दुवै डोज लगाउनु पर्नेमा जोड दिएका छन् ।

गएको हप्ता स्कटल्याण्डका स्वास्थ्य अधिकारीले पनि यस्तै तथ्यांक सार्वजनिक गरेका थिए । खोपको प्रभावकारिताले उत्साहित बनाएको उनीहरुले बताएका छन् ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट हान्ककले खोपको प्रभावकारिता सम्बन्धी पछिल्लो तथ्यांक निकै बलियो रहेको बताएका छन्।

फाल्गुन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्