प्रधानमन्त्रीको सुरक्षाको जिम्मा हामी लिन तयार छौँ-माधव नेपाल

मोरङ-प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यान सुरक्षा गर्ने जिम्मेवारीका लागि आफूहरु तयार रहेको नेकपाका नेता माधवकुमार नेपालले बताएका छन्।

मंगलबार विराटनगरमा प्रेस संगठन नेपाल मोरङले आयोजना गरेको कुराकानीमा नेता नेपालले प्रधानमन्त्री ओलीको सुरक्षा आफ्नो पार्टी नेकपाले गर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले आफूमाथि भौतिक आक्रमण हुनसक्ने बताएर सुरक्षामाथि नै प्रश्न चिन्ह उठाएकोमा ब्यङ्ग गर्दै नेता नेपालले प्रधानमन्त्रीको सुरक्षाबारे सबैले विचार गर्नुपर्ने समय आएको बताए।

ब्यङ्ग गर्दै नेता नेपालले भने,‘प्रधानमन्त्री नै सुरक्षा नभएको, ज्यानको खतरा छ भन्दै हिडिरहनु भएको छ। जुन गम्भीर कुराहो। प्रधानमन्त्री असुरक्षित हुनुहुदैन। उहाँको जीवन सुरक्षित गर्ने जिम्मेवारी हामीले बोक्नुपरे तयार छौ।’

उनले वर्तमान राजनीतिका सन्दर्भमा नेकपा दाहाल नेपाल पक्ष, कांग्रेस र जसपा बीच घनिभुत छलफल भएर नयाँ सरकार गठन गरिनेमा जोड दिएका थिए।

उनले भने, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग छलफल जारी रहेको छ। हामी सहमतिमै नयाँ सरकार गठन तयार छौँ। यसक्रममा हामीलाई प्रधानमन्त्री नचाहिने बताइसकेका छौँ।

नयाँ सरकार गठनका लागि कांग्रेस र जसपा तयार भएर उनको पक्षमा रहेको नेकपा प्रधानमन्त्री पद छाड्न तयार रहेको उनको भनाइ छ।

नेकपाभित्रको विवादपछि आधिकारीक रुपमा पार्टी आफूहरुको रहेको संकेत निर्वाचन आयोगले समेत गरेको उनको भनाई छ। दुईतिहाई बढी हामीसँग हुँदा पनि आयोगले निर्णय लिन नसकेको उनले बताए। ‘आयोगले कहिले निर्णय गर्छ भन्ने कुराको जिम्मा हामी लिदैनौ।’ उनले भने, ‘तर आयोगलाई भड्काउने पक्षमा छैनौं।’

४ सय ४१ सदस्यको साथ रहेको दाबी गरेका नेता नेपालले बहुमत कसको साथमा भन्ने कुराको प्रमाण दिन तयार आफू तयार रहेको बताए।

उनले भने, ‘हामी रगत, खकार, पासपोर्ट, नागरिकताजुनसुकै प्रमाण दिन तयार छौँ। लाइसेन्ससमेत पनि दिन्छौँ। तर मेरो लाइसेन्स रिन्यू फेल भएको अवस्थामा छ । त्यो पनि चाहिन्छ भने दिनतयार छु ।’

फाल्गुन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्