हुम्लाको दक्षिणी क्षेत्रका दुई गाउँपालिका सडक सञ्जालसँग जोडिएपछि स्थानीयलाई सहज

सिमकोट– हुम्लाको दक्षिणी क्षेत्रका दुई वटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन्।

कर्णाली करिडोर अन्तर्गत हुम्ला खण्डको बालुकुनासम्म नेपाली सेनाले सडक निर्माण कार्य सम्पन्न गरेपछि दुई गाउँपालिका सडक सञ्जालसँग जोडिएका हुन्।

हुम्लाका अदानचुलीको गाउँपालिका केन्द्र श्रीनगर र ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए।

यसअघि अदानचुलीको पालिका केन्द्र श्रीनगर पुग्ने गल्बागाडदेखि श्रीनगरसम्मको सडक ग्रामीण पहुँच कार्यक्रमले निर्माण गरेको थियो।

गाउँपालिकाका पाँच वडा सडक सञ्जालसँग जोडिएको र त्यसमा चार वटा बोलेरो जीप, दुई वटा ट्रक र १२ वटा मोटरसाइकल गुड्न थालेको उनले बताए।

वडा नम्बर ६ भने सडक सञ्जालसँग जोडिएको छैन। उक्त वडासम्म सडक निर्माणका लागि बजेट गाउँपालिकाले विनियोजित गरेको र अब सडक निर्माण कार्य सुरु हुने बताइएको छ।

गाडी गाउँपालिकासम्म आउन थालेपछि बिरामीलाई उपचार गर्न सहज हुनुका साथै दैनिक उपभोग्य सामान सस्तो र विकास निर्माण पनि सहज हुन हुन थालेको स्थानीय मक्क बुढाले बताए।

यता दक्षिणी क्षेत्रकै अर्को ताँजाकोट गाउँपालिका पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताए। पाँच वडा रहेको ताँजाकोटमा १, २ र ३ नम्बर वडा सडक सञ्जालसँग जोडिएको अध्यक्ष मल्लले बताए।

पाँच वटा बोलेरो जीप, चार वटा ट्रक र आठ वटा मोटरसाइकल हाल गाउँपालिकाको आन्तरिक सडकमा चल्दै आएका छन्। सडक जोडिएसँगै धेरै कुरा सस्तो भएको बताउँदै अध्यक्ष मल्लले अब फलफूल र जडिबुटी खेतीमा ध्यान दिनुपर्ने आवश्यकता खड्किएको बताए।

सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको भएपनि दुई वटा गाउँपालिका जोडिएपछि धेरै कुरामा सहजता आएको छ।

यता चंखेली गाउँपालिका पनि मुगु–हुम्ला लिंक रोड अन्तर्गत जोडिएको छ। अब सर्केगार्ड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिका कर्णाली करिडोरको काम भइरहेको छ।

फाल्गुन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्