कारागारमा रहेका दाइका लागि जुत्ताभित्र चरेस लुकाएर भेट्न गएका भाइ पक्राउ

वीरगञ्ज– लागूऔषध मुद्दामा कारागारमा रहेका दाइका लागि लागुऔषध चरेस लिएर कारागार जाने भाइलाई प्रहरीले प्रकाउ गरेको छ।

चरेससहित पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर १ का २२ ‍वर्षीय मिङ्मा शेर्पा रहेका छन्। उनी वीरगञ्ज कारागारमा लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका आफ्ना दाइ लाक्पा शेर्पालाई भेट्न चरेस बोकेर गएका थिए।

थुनुवालाई भेट्न कारागार पुगेका उनलाई प्रहरीले चेकजाँच गर्नेक्रममा चरेससहित पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

पक्राउ परेका मिङ्माको साथबाट दुवै जुत्ताको तलुवाभित्र लुकाइछिपाइ लगिएको चरेसको धुलो अन्दाजी १० ग्राम बरामद गरिएको खनालले बताए।

चरेससहित पक्राउ परेका मिङ्मालाई लागुऔषध शीर्षक मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

फाल्गुन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्