खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारीसँग अन्तर्वार्ता

‘नेतालाई नलगाएर हामीलाई किन पहिला खोप भनेर धेरैले साेधे’

माघ १४ गतेबाट सुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियान यही फागुन २३ गतेबाट दोस्रो चरणमा जाँदैछ। सरकारले पहिलो चरणमा अग्रपङ्क्तिमा खटिनेहरुलाई खोप दिएको थियो। अहिले भने ५५ वर्ष माथि उमेरका नागरिकलाई खोप दिने योजना सरकारले बनाएको छ। खोप अभियानमा सरकार कसरी अगाडि बढ्दै छ? खोपप्रति नागरिकको आकर्षण कस्तो छ? खोपबारेमा फैलिरहेका यथार्थ र भ्रमलाई चिर्न के गर्नु पर्छ? यस्तै विषयमा केन्द्रित भएर राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारीसँग गरिएको कुराकानीः

दोस्रो चरणको खोप सुरु हुन थालेको छ अहिलेसम्मको अँकडा हेर्ने हो भने खोपप्रतिको  आकर्षण कस्तो छ?

खोपप्रति सुरुमा करिब ५० प्रतिशत जस्तो मात्रै आकर्षण देखियो। स्वास्थ्यकर्मी, सफाई कर्मचारीहरुलाई लगाउँदा एउटा कारण भनेको पहिलो पटक आएको खोप कस्तो हो? के हो? यसका नराम्रा असरहरु देखिन्छन् कि भन्ने मानिसहरुको मनमा एउटा डर थियो।

दोस्रो कारण भनेको देशव्यापी रुपमा स्वास्थ्यकर्मी समक्ष पुग्ने हाम्रो क्षमता पनि भएन। किनभने केन्द्रीय रुपमा नै अस्पतालहरुमा खोप दिइयो। त्यसले गर्दा धेरै टाढाबाट मानिसहरु आउन नसकेको अनुभव हामीले गरेका छौँ।

त्यस हिसाबले अहिलेको प्रतिशत हेर्ने हो भने पहिलाको भन्दा अहिले सुधार हुँदै आइरहेको देखिएको छ।

सरकारले पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाउने लक्ष्य राखे पनि आधाभन्दा कमले खोप लगाएपछि बाँकी खोप पत्रकार, राजदूतावास र युएन एजेन्सीका कर्मचारीलाई लगाएको थियो। पहिलो चरणमा खोप लगाएकाहरुले खोपको बारेमा सबैभन्दा धेरै बुझेका थिए। अब दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिकको सहभागिता कस्तो रहला?

यसमा सबैभन्दा महत्वपूर्ण भूमिका भनेको सञ्चारमाध्यमकै छ। त्यसमा पनि मैले चिने जानेका व्यक्तिको कुरा गर्ने हो भने उहाँहरुले भनिरहनु भएको छ। हामीले पहिला केटाकेटीमै धेरै खोप लगाइसकेका छौँ। हाम्रा बुवाआमाले लगाएको खोपले गर्दा अहिलेसम्म ठीक छ। अहिले फेरि पनि खोप चाहिन्छ र? भन्ने प्रश्न गर्नुहुन्छ। अर्को भनेको धेरै वृद्धवृद्धाहरुलाई यो खोपमा सहभागिता गराइएको थिएन रे। जसले गर्दा केही समस्या हुन्छ कि भन्ने जास्तो नकारात्मक कुराहरु आइरहेका छन्। अहिलेको चुनौती भनेको उहाँहरुसम्म पुग्ने हो।

कोही उभिन नसक्ने हुनुहुन्छ होला। बतिबेरसम्म लाइनमा बस्नुपर्छ। उहाँहरु अन्योलमा हुनुहुन्छ। उहाँहरुलाई के सुविधा हुन्छ? कसरी खोप लगाइन्छ? भन्ने एक किसिमको दुविधा मानिसहरुको मनमा छ।

त्यस कारणले यो खोप ६५ वर्षमाथिका व्यक्तिहरुमा पनि उत्तिकै प्रभावकारी छ। प्रभावकारीता कुन कुरामा भने यो खोप लगाएका व्यक्तिहरुलाई गम्भीर प्रकारको रोग लागेको छैन। यो खोप लगाएका व्यक्तिहरुको मृत्यु भएको छैन। खोपले एन्टिबडी बनाउँछ। यो सन्दर्भमा यो प्रभावकारी छ। र अर्को कुरा जति कम उमेरका व्यक्तिहरुमा ज्वरो आउने, जीउ दुख्ने, जोर्नी दुख्ने जस्ता खराब असर देखिएको छ, त्यो वृद्धवृद्धाहरुमा धेरै नराम्रा असरहरु पनि देखिएको छैन।

त्यसैले यस्ता किसिमका चेतनामूलक जानकारीहरु उहाँहरु समक्ष पुर्‍याउन आवश्यक छ। यो प्रभावकारी छ। खोप तपाईंहरुको उमेरमा पनि उत्तिकै काम लाग्ने छ। तपाईंहरुको उमेरका व्यक्तिलाई कोभिड भयो भने गम्भीर खतरा हुने सम्भावना बढी छ। र धेरै मृत्यु भएको पनि देखिएको छ। त्यसकारण तपाईहरु जस्तो व्यक्ति आफ्नो सुरक्षाको लागि पनि खोप लगाउन जरुरी छ।

योसँगै मानिसहरुको मनमा भएको आशंकालाई हामीले मेटाउन जरुरी छ। यो कार्यक्रमको जिम्मवारी पनि हो। हामीले तपाईंहरुलाई यस्तो सजिलोसँग सुविधा दिनेछौँ भनेर उनीहरुलाई आश्वस्त पार्ने सूचना दिन आवश्यक छ।

५५ वर्ष माथिका नागरिकले खोप लगाइसकेपछि देखिन सक्ने साइड इफेक्ट के–के हुन सक्छन्?

सबैभन्दा डरलाग्दो साइड इफेक्ट भनेको रियाक्सन हो। औषधिको रियाक्सन त हामी सबैलाई थाहा छ। यो हामीले केटाकेटीबाटै सुन्दै आएको कुरा पनि हो। अहिले पनि के देखिएको छ भने कसैलाई नराम्रो असर देखिएको छ भने उसलाई एलर्जीको हिष्ट्रि छ। पहिला औषधिको प्रयोग गर्दा चिलाउने भएको, ओठ सुन्निएको श्वास फर्ने गाह्रो भएको जस्ता विभिन्न किसिमका असर देखिएका व्यक्तिहरुमा यो खोपको पनि साइड इफेक्ट देखिन सक्छ।

खोप लगाएका व्यक्तिहरुलाई साइड इफेक्ट देखिने बित्तिकै विभिन्न औषधिको माध्यबाट उहाँहरुको उपचार गर्न सकिन्छ। त्यो तयारी हरेक स्वास्थ्य सेवा केन्द्रमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरु उपस्थित हुनुहुन्छ।

कोरोना भाइरसविरुद्धको खोप अभियानमा अहिलेसम्म सहभागी भएकाहरुको तथ्याङ्क हेर्ने हो भने उनीहरुको सहभागिता उत्साहजनकभन्दा पनि उदासीनता धेरै देखिएको हो?

यसमा विभिन्न कारणहरु छन्। पहिलो कुरा यो खोप नयाँ हो। अर्को खोपबारे सकारात्मक सन्देशहरु मात्रै गइरहेका छैनन्। नकारात्मक कुराहरु पनि छन्। यो खोप चाहिँदै नचाहिने थियो। अरु देशका लागि ट्रायलको रुपमा यहाँ ल्याइएको हो भन्ने भ्रामक सन्देशरु फैलिरहेका छन्।

अर्को कुरा भनेको हाम्रोमा के छ भने हुने खाने वा किन्न सक्नेले मात्रै खोप लगाउँछन् भन्ने छ। जस्तो फ्लूको खोप वा अन्य महँगा खोपहरु। यहाँ के भनिएको छ भने सफाई कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई पहिला भनिए पनि ठूला व्यक्तिलाई पहिला नलगाएर हामीलाई किन पहिला भन्ने कुरा उठ्यो। यो भनेको सामाजिक उत्तरदायीत्व र जो सबैभन्दा धेरै जोखिममा ती व्यक्तिबाट सुरु गर्नुपर्छ भन्ने धारण विश्वव्यापी मान्यता हो।

धेरैले मलाई पनि सोध्नु भयो नेताहरुलाई नलगाएर हामीलाई सुरुमा किन लगाएको यही प्रकारले धेरैमा नकारात्मक कुरा आयो। तर सरकार सतर्कताका साथ अगाडि बढेको हो। स्वास्थ्य संस्था, अस्पताल जहाँ कि कुनै नराम्रो असर भइहाल्यो भने उनीहरुलाई राम्रोसँग उपचार गर्न सकियोस्। नराम्रो असर धेरै देखियो र त्यसलाई व्यवस्थापन गर्न सकिएन भने त खोप कार्यक्रम नै बन्द गर्नु पर्ने हुन्छ। यही सर्तकताका साथ टाढाटाढा र पहुँच नपुगेकाहरुसम्म खोप पुर्‍याउन सकिएन। सायद त्यही कारणले गर्दा पनि त्यति राम्रो ‘कभरेज’ हुन सकेन।

पछिल्लो केही समययता कोरोना भाइरस संक्रमितको केश कम भेटिन थालेका छन्। यो हिसाबले खोप लगाउनु कतिको सुरक्षित हुन्छ?

खोप लगाउन पनि सुरु भयो साथसाथै संक्रमितको संख्यामा कमि पनि आइरहेकै थियो। त्यसकारण खोपकै कारण संख्यामा कमि आएको भनेर भन्न त सकिँदैन। तीन प्रतिशत जनसंख्यामा खोप लगाउने कुरा छ। त्यसमा पनि आधाले मात्रै लगाए भन्ने भइरहेको छ। त्यसमा पनि केही खोप लगाएका व्यक्तिलाई पनि संक्रमण देखिएको छ। जसले गर्दा यही कारणले कमी आएको भन्न मिल्दैन।

तर अवश्य पनि मैले खोप लगाए वा तपाईंले खोप लगाउनु भयो भने म वा तपाईंबाट अरुलाई संक्रमण सर्दैन भन्ने चाहिँ हो। यही कारण खोपको ठूलो उपयोगिता छ।

अर्को कुरा आउछ, संक्रमण दर घट्दै जाँदा खोप किन लगाउने भन्ने कुरामा धेरैलाई थाहा हुन सक्छ। इन्फ्लूएन्जाको भ्याक्सिन पाइन्छ। यो भ्याक्सिन बीसीजी, डीपीटी, दादुरा जस्तो एक पटक लगाएपछि अर्को पटक नलगाउनु पर्ने हुँदैन। यो भ्याक्सिन हरेक वर्ष लगाउनु पर्ने हुन्छ। कारण के हो भने इन्फ्लूएन्जा त्यस्तो भाइरस हो जो ‘मियूटेड’ भइरहन्छ। भेरियन्ट आउँछ। परिवर्तन भइरहन्छ।

त्यसैले यो भाइरस एकदमै राम्रो उदहरण हो। कोभिडमा पनि त्यस्तै खालको भाइरस हो भने र देखापरेको छ। अहिले विभिन्न देशमा देखिरहेको छ। जसले गर्दा सर्भिलेन्स गरिरहनु पर्‍यो।

कोभिड अहिले इमर्जिङ भएको हुनाले यसको पूरा इतिहास हामीलाई थाहा भइसकेको छैन। भ्याक्सिन जस्तो महत्वपूर्ण रोग प्रतिरोधात्मक गतिविधिलाई हामीले कायमै राख्नुपर्छ।

एक सय वर्ष अगाडि भाइरसको कारणले मानिसहरुको मृत्यु हुँदा थाहा थिएन। अहिले चिकित्सा विज्ञान र प्रविधिको विकासले गर्दा र वैज्ञानिकहरुलको ठूलो सहयोगले गर्दा यो सबै सम्भव भएको हो। यसरी प्रविधिबाट विकास भएको खोप अहिले हामीले पाएका छौँ। त्यसलाई हामीले उपयोग गर्न जान्नु पर्छ।

अहिले संक्रमण दर कम भएको छ भन्दै हेल्चेक्रायाई गर्नु हुँदैन। इतिहासले के देखाएको छ भने रोग फर्की–फर्की आउँछ।

अहिले नै सजिलैसँग लिइहाल्नु पर्ने अवस्था छैन।

खोपलाई लिएर गलत सूचनाहरु धेरै फैलिएका छन्। यसलाई हटाएर खोपप्रति विश्वास जोगाउन सरकारले के गर्ने जरुरी छ?

सरकारी सञ्चारमाध्यमबाट मात्रै त्यति धेरै सम्भव नहोला। यसमा दुई वटा कुरा छन्। सरकारी सञ्चारमाध्यमका सूचनाहरुलाई मानिसहरु प्रचारका रुपमा लिन्छन्। त्यसकारण स्वतन्त्र सञ्चार माध्यमहरुले पनि यो कुरालाई सामाजिक उत्तरदायित्वका रुपमा लिएर खोपप्रति उठेका भ्रम यस्ता छन्, यसको बारेमा बुझाउनका लागि प्रवुद्ध वर्ग र जसलाई नागरिकले पत्याउछन्, त्यस्ता व्यक्तिबाट सूचना जम्मा गरेर प्रवाह गर्न सकियो भने केही सुधार हुनेछ।

र शत प्रतिशत त कुनै पनि कुरा हुँदैन। खोप लगाउनुलाई सामाजिक उत्तरदायित्व ठान्नुपर्छ। खोप लगाएपछि आफू मात्र नभएर आफ्नो वरपरका व्यक्ति वा समाजका व्यक्तिलाई संक्रमण सार्न सकिँदैन।

खोप अभियान सुरु भएसँगै प्रधानमन्त्रीले सबै नेपालीले तीन महिनामा खोप लगाउन पाउने भनेर भन्नुभएको थियो। यो कुरा सम्भव छ?

यो उहाँको बाध्यता हुन सक्छ। उहाँहरुले जनतालाई के भन्नु पर्ने हुन्छ, तीन महिनाभित्रै भन्ने कुरामा चुनौतिहरु प्रशस्तै छन्। सायद हामी गर्न सक्छौँ भन्ने आशा भरोसा दिन जरुरी थियो होला। त्यो सन्दर्भमा उहाँको यस्तो अभिव्यक्ति आएको हुन सक्छ।

कोरोना भाइरसविरुद्धको खोपले कसरी काम गर्छ?

कमजोर भाइरसले रोग गरायो। अथवा भाइरसको कुनै एउटा तत्वले शरीरमा एन्टिबडी प्रोडियूस गर्छ। हाम्रो शरीरभित्र विभिन्न इम्यूनिटी बनाउने कोसहरु हुन्छन्, तिनीहरुलाई स्टिम्यूलेट गर्छ। त्यसपछि जुन एन्टिबडी निस्किन्छ, त्यही एन्टिबडी तयारी अवस्थामा बस्छ, अर्को पटक साच्चिकै भाइरसभित्र बस्न खोज्छ। त्यसलाई शरीरमा फैलिन दिँदैन।

जस्तो मुख्य कुरा एक पटक रोग लाग्यो भने एन्टिबडी बन्छ। जस्तो कसैलाई एक पटक दादुरा भइसकेको छ भने अर्को पटक दादुरा हुँदैन। यो रोग लागेर एन्टिबडी बनिसकेको हुन्छ। जसलाई हामी ‘न्याचुरल’ इम्यूनिटी भन्छौँ।

एक पटक भइसकेपछि अर्को पटक आउँदा शरीरले चिन्छ र शरीरमा प्रवेश गर्न दिँदैन। यो खोप पनि ठ्याक्कै यस्तै हो।

खोप लगाउनु भनेको कमजोर परिएको भाइरस अथवा भाइरसको एउटा ‘पर्टिकल’लाई शरीरभित्र पठाएर एन्टिबडी प्रोडियूस गर्न लगाउने हो।

खोप सुरुक्षित छ। खोप एकदमै जरुरी छ। जबसम्म खोप सबै ठाउँ जाँदैन। तबसम्म अरु उपायलाई छोड्न भएन।

र अर्को के कुरा बुझौँ भने यो नयाँ रोग हो भने विज्ञान पनि नयाँ हो। खोप एक पटक दिएर चल्छ कि वर्ष–वर्षमा दिइरहनु पर्छ, यो सबै प्रश्नहरु अझै पनि अनुउत्तरित छन्। त्यसकारण हामीले कसरी लिनु पर्‍यो भन्दा जसरी विज्ञहरुलाई सबै कुरा थाहा छैन। यो भाइरसले भविष्यमा कसरी सताउँछ, यो बारेमा सधैँ चनाखो चाहिँ भइरहनु पर्छ।

फाल्गुन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्