चार नेपाली महिला फुटबलरले पाकिस्तानको लिग खेल्ने

काठमाडौँ- चार जना नेपाली महिला फुटबलरले पाकिस्तानको लिग खेल्ने भएका छन्।

शसस्त्र प्रहरी बल-एपीएफमा आबद्ध एन्जिला तुम्बाप्पो सुब्बा, गिता राना, अनिता केसी र सरु लिम्बुले पाकिस्तानको राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप खेल्न लागेका हुन्। उनिहरु सबैले प्रतियोगितामा  मासा युनाईटेड फुटबल क्लबबाट खेल्ने छन्।

२० टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता मार्च ८ बाट अप्रिल ३ सम्म कराचीमा आयोजना हुँदैछ। प्रत्येक समूहमा पाँच टोली रहेका छन् । भर्खरै नेपालमा सम्पन्न महिला राष्ट्रिय लिग फुटबलको उपाधि एपीएफलाई जिताउन यी चारै जना खेलाडीको महत्वपूर्ण योगदान रहेको थियो।

उनिहरु राष्ट्रिय टोलीका नियमित सदस्य हुन्। एन्जिला तुम्बाप्पो सुब्बा गोलरक्षक, गिता राना रक्षक, अनिता केसी स्ट्राइकर र सरु लिम्बु मिडफिल्डर हुन्।

यस अघि स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेलेका थिए। दुई सिजन भारतीय लिग खेलेकी सावित्राले दुवैपटक उपाधि जितेकी थिइन्।

फाल्गुन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्