सर्वोच्चको फैसलाले प्रचण्ड–माधव पक्ष संकटमा पर्‍यो- महेश बस्‍नेत

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले प्रचण्ड–माधव पक्ष संकटमा परेको जिकिर गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा नेता बस्नेतले सर्वोच्च आदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्न चाहाने प्रचण्ड–माधव पक्षलाई नै संकट परेको बताएका हुन। उनले प्रचण्ड–माधव समुह प्रधानमन्त्री ओली विरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव पनि फिर्ता लिनुपर्ने अवस्थामा पुगेको बताए।

उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई संकट हुन्छ भनेर अनुमान गरिएको फैसलाले संकट उहाँलाई होईन, संकटचाहिँ उहाँलाई संकट पार्न खोज्ने अथवा उहाँलाई पदच्युत गर्न चाहाने प्रचण्ड कमरेड र माधव कमरेडहरुको टिमलाई नै परेको जस्तो देख्छु म आजको मितिसम्म आइपुग्दाखेरी। किनभने उहाँहरुसँग फ्रन्ट गियर भन्दापनि ब्याक गियर लगाउनुपर्ने स्थिति हो। पौष ५ गते उहाँहरुले हठात प्रस्तुत गर्नुभएको अविश्वासको प्रस्ताव जसमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा अगाडी सारिएको थियो । त्यो हिजोको बैठकबाट उहाँ ब्याक हुनुभएको, फिर्ता हुनुभएको एउटा अवस्था छ । अब भोलिका दिनमा परिस्थिती उहाँहरुको निमित्त झन असहजातर्फ गइरहेको छ।’

नेता बस्नेतले नेपाली कांग्रेस आफ्नो आन्तरिक कारण सत्ताको खेलमा नलाग्ने स्थिति भएकाले वर्तमान सरकारलाई हटाउने कुरा निकै चुनौतिपूर्ण हुने बताए। फागुन २३ गतेपछि सरकार परिवर्तन हुन्छ भन्ने अनुमान अनुमानमै सिमित हुने पनि उनको भनाइ छ।

उनले भने, ‘कम्युनिष्ट पार्टी फुटेको कुरा हामिले नस्वीकारेको अवस्थामा र वर्तमान सरकार विरुद्ध औपचारिक ढंगले कुनै अविश्वासको प्रस्ताव लगायतका कुनै पनि प्रस्तावहरु नआइरहेको सन्दर्भमा कुनै नैतिक प्रश्न प्रधानमन्त्री माथि उठ्ने स्थिति पनि छैन र २३ गतेको संसदबाट सरकार परिवर्तन हुन्छ भन्ने अनुमान , अनुमानमै सिमित हुने होकि भनेजस्तो लक्षण देखिदैछ।

प्रचण्ड–माधव पक्षले औपचारिक रुपमा पार्टी फुटेको कुरालाई कतै दर्ज नगराएमा बहुमत छ भनिएको केन्द्रीय कमिटी सदस्य र सांसदहरु केपी शर्मा ओली पक्षमा आउने उहाँले दाबी गर्नुभयो । प्रचण्ड–माधव पक्ष मुद्दा, राजनीति, कानुनी हैसियत र अंक गणितिय हैसियतमा संकटमा परेको उनको भनाइ थियो।

फाल्गुन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्