बलात्कार आरोपले तातेको अस्ट्रेलियाको राजनीति

क्यानबेरास्थित संसद भवन । तस्बिर: काेम खत्री

करिब दुई हफ्ताअघि अस्ट्रेलियाको सत्तारुढ लिवरल पार्टीकी पूर्व राजनैतिक सल्लाहकार ब्रिट्नी हिगिन्सले उनकै सहकर्मीले बलात्कार गरेको आरोप लगाइन् ।

गत १५ फेब्रुअरीमा प्रसारित एक टिभी कार्यक्रममा बोल्दै उनले सन् २०१९ मा भएको सो घटनामा आरोपित व्यक्ति पनि लिवरल पार्टीकै राजनैतिक सल्लाहकार र सहकर्मी भएको कुरा पनि उल्लेख गरिन् । साथै आफ्नो जागीर जाने डरले आफूले सो कुरालाई बाहिर ल्याउनबाट डराएको कुरा समेत बताइन् ।

यो घटनालगत्तै अरू महिलाहरू पनि अस्ट्रेलियाको राजनैतिक वृत्तबाट यौनहिंसाको शिकार भएको आरोपहरू लिएर बाहिर आइरहेका छन् ।

तीमध्ये सबैभन्दा गम्भीर आरोप वर्तमान मन्त्रीमण्डलका एकजना मन्त्रीमाथि लागेको छ । आरोपअनुसार हाल मन्त्री पदमा रहेका ती व्यक्तिले सन् १९८८ मा एक महिलालाई बलात्कार गरेका थिए । पीडित महिलाले गत वर्ष आत्महत्या गरेकी थिइन् । आरोपित मन्त्रीले ती आरोपको पूर्ण रूपमा खण्डन गरेको कुरा प्रधानमन्त्री स्कट मोरिसनले सोमबार मिडियासामु जानकारी दिएका थिए । सङ्घीय मन्त्रीमण्डलमा हाल १६ जना क्याबिनेट मन्त्रीहरू रहेका छन् ।

त्यसैगरी प्रतिपक्षी लेवर पार्टीका अर्का सांसदविरुद्ध पनि बलात्कारको आरोप लागिरहेको छ जसलाई अहिले अस्ट्रेलियाको सङ्घीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ब्रिट्नी हिगिन्सको आरोप

ब्रिट्नी हिगिन्सका अनुसार लिवरल पार्टीको सल्लाहकारका रूपमा जिम्मेवारी पाएको केही हफ्तापछि सो घटना भएको थियो । मार्च २०१९ मा उनकै सहकर्मीले ‘नाइटआउट’पछि संसद् भवनमा रहेको एक मन्त्रीको कार्यालयमा लगेका थिए जहाँ उनीमाथि यौनहिंसा भएको थियो ।

हिगिन्सले त्यसबखत् यो घटना रक्षा उद्योग मन्त्री लिन्डा रेनल्ड्सलाई बताएकी थिइन् । मन्त्रीले उनलाई प्रहरीकहाँ जानका लागि सहयोग गर्ने बताए पनि आफ्नो पद जाने डरले आफू दबाबमा परेको पनि बताएकी थिइन् ।

केही दिनपछि उनका ती आरोपित सहकर्मीलाई राती सुरक्षा नियम तोडेर संसद भवन प्रवेश गरेको आरोपमा पदबाट निष्काशित गरिएको थियो ।

हिगिन्सले लिवरल पार्टीले आफूलाई चूप लाग्न बाध्य पारेको बताउँदै गत जनवरीमा प्रधानमन्त्री स्कट मोरिसनलाई यौनहिंसा विरुद्धको एक कार्यक्रममा देखेपछि आफू अगाडि आउने अठोट लिएको उल्लेख गरिन् ।

यो प्रकरण बाहिरिएपछि प्रधानमन्त्री स्कट मोरिसनले दुई वर्षअघि सरकारले उक्त अभियोगको राम्रोसँग छानविन नगरेकोमा माफी माग्दै संसदको कार्यशैली र राजनैतिक कर्मचारीलाई गरिने सहयोगसम्बन्धी जाँच गरिने बताएका छन् । यद्यपि उनले सही कदम नलिएकोमा भन्दै चौतर्फी विरोधको सामना गर्नुपरेको छ ।

यो घटना बाहिर आएलगत्तै अन्य चार जना महिलाहरू पनि सोही व्यक्तिबाट यौन हिंसाको शिकार भएको आरोप लगाउँदै मिडियासामु आएका छन् । ती महिलाहरूले सन् २०१४, २०१६, २०१७ र २०२० मा सोही व्यक्तिले यौनहिंसा गरेको आरोप लगाएका छन् । संघीय प्रहरीले त्यस्ता घटना भएमा प्रहरीलाई सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

मन्त्रीमाथि बलात्कारको आरोप

गत शुक्रबार प्रतिपक्षी लेबर पार्टीकी सांसद पेनी वाेङ र ग्रिन्स पार्टीकी सांसद सारा हेन्सन योङले अस्ट्रेलियन संघीय प्रहरीले प्राप्त गरेको चिठीमाथि संसदमा प्रश्न उठाएका थिए ।

सो चिठी अनुसार अहिलेका मन्त्रीमण्डलका एक सदस्यले सन् १९८८ मा १६ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप लगाइएको छ । पीडित महिलाले गत वर्षको जुन महिनामा ४९ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । आरोपित मन्त्रीले ती आरोपको पूर्ण रूपमा खण्डन गरेको कुरा प्रधानमन्त्री स्कट मोरिसनले सोमबार मिडियासामु जानकारी दिएका थिए ।

एक टिभी अन्तर्वार्तामा बाेल्दै ब्रिट्नी हिगिन्स । तस्बिर: द प्राेजेक्ट

गोपनियताको हकसम्बन्धी कानुनी प्रावधानका कारण आत्महत्या गर्ने ती महिला र आरोपित मन्त्रीको परिचय गोप्य राखिएको छ । गत वर्ष ती महिलाले न्यूसाउथवेल्स प्रहरीलाई उजुरी दिएकी थिइन् तर उनले आत्महत्या गरेपछि अनुसन्धान रोकिएको थियो ।

गत हफ्ता ती महिलाकी साथीले प्रधानमन्त्री स्कट मोरिसनलाई निष्पक्ष छानविन गर्नका लागि एक पत्र लेखेकी थिइन् तर प्रधानमन्त्रीले त्यसो नगरिने र सो घटनालाई प्रहरीले हेर्ने बताएका थिए । चिठीमा पीडित महिलाको मृत्यु भइसकेका कारण प्रहरीले अनुसन्धान गर्न असफल हुने बताइएको थियो ।

यी प्रकरणले गर्दा प्रधानमन्त्री स्कट मोरिसनलाई चौतर्फी दबाबको सामना गर्नुपरेको छ । विशेषगरी संसदभित्रको कार्यशैलीमाथि प्रश्नचिह्न उठिरहेका छन् ।

पूर्व प्रधानमन्त्री माल्कम टर्नबुल के भन्छन् ?

पूर्व प्रधानमन्त्री माल्कम टर्नबुलले आरोप लागेका वर्तमान मन्त्री बाहिर आउनुपर्ने बताएका छन् । आफूमाथि लागेको गम्भिर आरोपलाई पन्छाउन तथा प्रतिष्ठामाथि लागेको बादल हटाउनका लागि भए पनि उनले ती मन्त्री बाहिर आएर ती आरोपहरूको सामना गर्नुपर्ने उल्लेख गरेका छन् ।

पूर्व प्रधानमन्त्री माल्कम टर्नबुल । तस्बिर: एएपी

पूर्व प्रधानमन्त्री माल्कम टर्नबुलले आफ्नी पत्नी लुसीले २०१९ मा ती महिलाबाट सुझावका लागि एक पत्र प्राप्त गरेको पनि बताए । “त्यो निकै खेदजनक वर्णन थियो ।” टर्नबुलले एक टिभी अन्तरवार्ताका क्रममा भने । “६ महिनापछि ती महिलाले आत्महत्या गरेको खबर थाहा पाएपछि मैले त्यो चिठी र मैले लेखेको उत्तर प्रहरीलाई बुझाएको थिएँ । मलाई लाग्छ सबैभन्दा ठूलो निर्णय गर्ने जिम्मेवारी ती मन्त्रीको हातमा छ । धेरै प्रश्नहरूको उत्तर उनले दिनुपर्दछ । त्यसैले उनी अगाडि आउनुपर्दछ ।”

यसैबिच बुधबार आरोपित मन्त्री बाहिर आएर मिडियासामु आफ्नो प्रतिक्रिया दिने खबरहरू बाहिरिएका छन् । आफूमाथि लगाइएको आरोपको खण्डन गर्ने अनुमान गरिएको छ ।

फाल्गुन १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्