मुख्यमन्त्री राउतको प्रश्नः समृद्ध नेपाल सुखी नेपालीको नारा लगाउने कहाँ छन्?

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ समृद्ध नभए देश समृद्ध हुन नसक्ने बताएका छन्। यस क्षेत्रको विकास भएमात्र नेपालको विकास हुने भएकोले शासक वर्गलाई यसतर्फ ध्यान दिनुपर्ने उनले बताए।

बुधबार जनकपुरधाममा सुरु भएको जनकपुर साहित्य महोत्सवको पहिलो दिन उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री राउतले शासकहरुले मधेशलाई दोस्रो नजरियाले हेर्ने गरेको भन्दै भने, ‘यहाँ बसोबास गर्ने ६० लाख जनता समृद्ध भएन, किसान, श्रमजीवीको जीवनमा समृद्धि आएन भने नेपाल समृद्ध हुन सक्दैन।’

मुख्यमन्त्री राउतले जनकपुरधामको प्रचार–प्रसार गर्नमा पनि संघीय सरकार उदासिन रहेको आरोप लगाए।

‘हामीसँग माता जानकी छिन्, गौतम बुद्ध छन्, सगरमाथा छन्, पशुपतिनाथ छन्, त्यसको महत्व र गरिमालाई बेच्न सक्छौँ र यस क्षेत्रलाई समृद्ध बनाउन सक्छौँ। यहाँको वनजंगल, पहाड राम्रो छ,’ मुख्यमन्त्री राउतले भने, ‘तर दुर्भाग्य समृद्ध नेपाल सुखी नेपालीको नारा लगाउने कहाँ छन्?’

मुख्यमन्त्री राउतले सीताको जन्मभुमि जनकपुरधामको प्रचार–प्रसारमा संघ सरकारले बेइमानी गरेको स्पष्ट पारे। उनले अरुमाथि औँला उठाउनुभन्दा आफै गर्नुपर्ने भएकोले प्रदेशको विकासको काम जानकी मन्दिर सौन्दर्यकरणबाट सुरु गरेको बताए।

मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनकपुरधामलाई विभेद गरेको कुरा अन्तर प्रदेश बैठकको क्रममा कुरा राखेको बताउँदै विवाहपञ्चमी महोत्सवको लागि बजेट छुट्याइदिन पटक–पटक आग्रह गर्दै आएको बताए।

उनले प्रदेश सरकार विवाहपञ्चमीमा ५० लाख रुपैयाँ दिँदै आएको बताए।

फाल्गुन १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्