मधेशको भाग्य र सिङ्गो मुलुकको भविष्य जोडिएको चुरे संरक्षणमा ध्यान नजानु दुःखद्ः पूर्वराष्ट्रपति यादव

जनकपुरधाम– पूर्वराष्ट्रपति डा. रामवरण यादवले चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेक छन्। चुरे विनास भइरहेको अवस्थामा सरकारी स्तरबाट त्यसको संरक्षणमा ध्यान पुग्न नसकेको भन्दै उनले दुःख व्यक्त गरे।

बुधबार जनकपुरधाममा जनकपुर साहित्य महोत्सवको उद्घाटन गर्न आएका पूर्वराष्ट्रपति डा. यादवले प्रदेश २ को विकास चुरेसँग जोडिएकोले यसको संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गरे। उनले चुरेसँग मधेशको भाग्य र सिङ्गो मुलुकको भविष्य जोडिएको दावी गरे।

प्रदेश २ को समृद्धिको मेरुदण्ड मानिने कृषि उपजको भविष्य चुरे संरक्षणसँग जोडिएको र यहाँका करिब ६० प्रतिशत जनसंख्याको जीवन चुरेमाथि निर्भर रहेकोले त्यसलाई जोगाउन अगाडि आउनु पर्ने आवश्यकता रहेको पूर्वराष्ट्रपति यादवले बताए।

मधेशलाई मरुभूमिकरणबाट जोगाउन मात्र नभई बाढीपहिरोको विपदबाट जोगाउनसमेत चुरे संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

पूर्वराष्ट्रपति यादवले यस क्षेत्रको विकासका लागि चुरे सँगसंगै शिक्षा क्षेत्रको विकासतर्फ समेत ध्यान पुर्‍याउनु आवश्यक रहेको बताए।

जनकपुरधाममा चार दिवसीय जनकपुर साहित्य महोत्सव सुरु भएको छ। चार दिनसम्म चल्ने महोत्सवमा साहित्यकारदेखि कलाकारसम्मको सहभागिता रहनेछ।

चार दिनको विभिन्न १५ वटा सत्रमा करिब चार दर्जन श्रष्टाहरुको उपस्थिति रहने आयोजकले जनाएका छन्।

फाल्गुन १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्