भिडियो अन्तर्वार्तासहित

बझाङ्गी ठिटोको भारतमा पुजारीदेखि क्याम्पस प्रमुखसम्मको यात्रा

काठमाडौँ– प्राध्यापक धनप्रसाद पण्डित बझाङको ब्याँसी–७ पण्डित गाउँमा २०१६ साल जेठ ११ गते जन्मिए। खेतीपातीमा निर्भर उनको परिवारलाई खान मुस्किलले पुग्थ्यो। २०२३ सालमा भुकम्प आयो। बाढी पहिरोले नदी किनारको उनीहरुको खेतबारी पनि बगायो, उनको परिवारमा दुःखमाथि दुःख थपियो।

पण्डित कठ्याङग्रिँदो जाडोमा खाली खुट्टै स्कूल जान्थे। कक्षा आठमा पुग्दा पहिलो पटक आफूले जुत्ता लगाएको उनी सम्झिन्छन्। त्यो जुत्ता उनले १२ रुपैयाँमा किनेका थिए।

प्राथमिक शिक्षा चन्द्रोदय प्रावि धल्देउमाडुबाट पूरा गरेपछि उनी शान्ति मावि पुगे। पण्डितका अनुसार उक्त विद्यालय बझाङी राजा जयपृथ्वी बहादुर सिंहले स्थापना गरेका थिए।

मेहनति र जेहेन्दार उनी गुरुहरुका प्यारा थिए। तर कक्षा १० को टेष्ट परीक्षामा अनुतिर्ण हुँदा उनी निराश भए। आज फर्केर हेर्दा उनलाई लाग्छ, ‘त्यो बेला फेल नभएको भए यहाँसम्म पुग्ने थिइनँ।’

टेष्टमा फेल भएपछि विद्यालयमा सहायक प्राधानाध्यापक रहेका उनकी फुपुका जेठा छोरा धनराज जोशीले पण्डितलाई एसएलसीमा नपठाउने निर्णय गरे। त्यतिबेला रुँदै वद्यालयको छात्रावासबाट बाहिरएको क्षण उनले आज पनि बिर्सिएका छैनन्।

फेल भएपछि बिरक्तिएका उनले निधो गरे– अब पढ्दिनँ।

तर उनका फुपुका कान्छा छोरा अमरराज जोशी (हाल सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति)ले सम्झाईबुझाई गरेर पढ्नका लागि भारत जान राजी बनाए।

१४ वर्षमै विवाह गरेका पण्डितलाई त्यतिबेला श्रीमती मेघलक्ष्मीले भनिछन्, ‘म घर सम्हाल्छु, तपाईँ पढेर आउनुहोस्। ठूलो मान्छे भइन्छ रे।’

भारत यात्रा र संघर्ष


आजभन्दा करिब ४५ वर्षअघि जोशीको पछि लागेर पण्डितले भारत यात्रा सुरु गरे। खाना र भाँडाकुडाले भरिएको डोको बोकेर पण्डितको टोली तराईतिर झर्‍यो। उनका अनुसार उनको टोली याँसीदेखि १२ दिनको पैदल यात्रा गरेर भारतको बनबासा हुँदै टनकपुरसम्म पुगेको थियो।

दुई वर्ष भारतको उत्तरप्रदेश मुरादाबादको वैजनाथ संस्कृत महाविद्यालयमा पढे उनले। एक कक्षा तल झरेर ९ कक्षामा भर्ना भए। हिन्दी र संस्कृत दुवै भाषा नआउने उनलाई सुरुसुरुमा मुस्किल भयो।

महाविद्यालयमा निःशुल्क बस्न पाइन्थ्यो। खाना भने आफै जोहो गर्नुपर्ने। पढाईका अलवा खाना बनाउने जिम्मा थियो उनको। पढाई खर्च धान्न धौधौ भएपछि मन्दिरमा पुजारीका रुपमा पण्डित्याईँ पनि गरे। तलब थियो महिनाको ६० रुपैयाँ।

२०३४ सालमा उनले ‘पूर्वमध्यमा’ (एसएलसी सरह) पास गरे। त्यसपछि उनी राम्रो अवसर खोज्दै दिल्लीको नरेला पुगे। एउटा संस्कृत विद्यालयमा भर्ना भए, तर घाँस काट्नका लागि हाते मेसिन चलाउनु परेपछि उनले त्यो विद्यालय त्याग्ने निधो गरे।

स्कूल व्यवस्थापकले घाँस काट्नै पर्ने भन्दै उनको लत्ताकपडाको बक्सा पुलिस थानामा पुर्‍याइदियो।

उनले ‘उत्तरमध्यम’ (आईए सरह) को पहिलो वर्षको अध्ययन दिल्लीकै मोतीनाथ संस्कृति महाविद्यालयमा पाए। खर्च धान्न गाह्रो भएपछि अर्को विद्यालयको खोजी गर्दै थिए, एक आसामीको साथ लागेर अहमदावादमा पुगे। त्यहाँ पुगेपछि सरयु रामानन्द संस्कृत महाविद्यालय प्रेम दरबाजामा खाने, बस्ने र अध्ययन गर्ने मौका पाए।

त्यहीँबाट उत्तरमध्यममा द्वितिय वर्ष पूरा गरेर उनी काठमाडौँ आए। २०३६ सालको साउनमा काठमाडौँ आउँदा उनीसँग ३८ सय रुपैयाँ थियो, आफैले कमाएको।

प्रजातन्त्रको लडाईँ र जेल जीवन


उनी काठमाडौँ आउँदा देशमा पञ्चायती शासन व्यवस्था थियो। नेपाली कांग्रेस, कम्युनिष्ट पार्टीलगायत युवा विद्यार्थीहरु पञ्चायतविरुद्धको संघर्षमा थिए। पण्डित पनि त्यसबाट टाढा रहन सकेनन्।

प्रजातन्त्रका लागि लड्दै गर्दा उनी २०४२ सालमा सत्याग्रहमा होमिए। फागुन १२ गते उनलाई प्रहरीले गिरफ्तार गर्‍यो। एक वर्ष जेल जीवन बिताए। जहाँ उनको भेट प्रदीप गिरीलगायत केही कांग्रेस र कम्युनिष्ट नेताहरुसँग भयो। उनीहरुसँगको मित्रता अहिले पनि उत्तिकै प्रगाढ छ पण्डितको।

जेलमा रहँदा उनको भोगाइको केही भाग डायरीमा उतारेका छन्। जुन, उनको पहिलो पुस्तक ‘विचारयात्रा’मा समेटेका छन्।

विदेशीका नेपाली भाषाका गुरु


उमेर कम भएपनि पण्डित क्षमतावान् थिए। तर जेल परेकालाई ‘अराष्ट्रिय तत्व’ भनिन्थ्यो। उनीहरुको पुलिस रिपोर्ट खराब हुन्थ्यो। पण्डितले सरकारी जागिर पाउने सम्भावना थिएन। त्यसैले विदेशीलाई नेपाली भाषा र संस्कृति सिकाउनतिर लागे।

अमेरिकन पिसकोर, डेनिस स्वयंसेवक, युएन स्वयंसेवक, ब्रिटिस स्वयंसेवकको नेपाली भाषा पढाउने गुरुको रुपमा चिनिए। नेपाली भाषा पढाउने सिलसिलमा विभिन्न २८ मुलुकको भ्रमण गरिसकेका छन् उनले।

धौलागिरी, मकालु, पुमोरी, आमादब्लम हिमालको बेस क्याम्पसम्म बस्ने मौका पनि पाए उनले सम्पर्क अधिकृतको रुपमा। विश्वभाषा क्याम्पसको प्रमुख हुँदा तीन महिना कोरियामा गएर नेपाली भाषा सिकाउन मौका पनि पाएका छन् उनले।

पद्मकन्या क्याम्पसतर्फको यात्रा


पञ्चायतमा आस्था राख्ने मृदुला सिंह पद्म कन्या क्याम्पसको राजनीतिशास्त्र विभागकी प्रमुख थिइन्। पण्डितका साथी गणेश नेपाल उनीसँग नजिक थिए, राजनीतिक रुपले।

साथीका नाताले नेपालसँग पण्डितले दुःख पोखे, ‘पढ्न त पढियो तर जागिर पाइएको छैन।’

पद्म कन्याले राजनीतिशास्त्र विभाग अन्तर्गत नेपाल परिचय पढाउने शिक्षक खोजिरहेको थियो।

‘तिमी पढाउँछौँ त?’, नेपालको पण्डितलाई सोधे।

पण्डितको जवाफ थियो,‘पढाउँछु।’

नेपालले पण्डितलाई तत्कालै सिंहको कार्यकक्षमा लगे।

सिंहले पण्डित भेट्ने बित्तिकै सोधिन्, ‘नेपाल परिचय पढाउन सक्नुहुन्छ?’

पण्डितले आत्मविश्वास देखाए, ‘सक्छु।’

२०४५ साल फागुन २६ गतेदेखि पद्मकन्यमा सातामा नेपाल परिचयको तीन पिरियड लिने गरी आंशिक अतिरिक्त शिक्षकका रुपमा जागिरे जीवन सुरु गरेका थिए पण्डितले।

पण्डित राजनीतिकशास्त्र पनि पढाउन चाहन्थे। २०४५ साल चैत्र १२ गते राजा वीरेन्द्रकी दिदी शान्ति शाहको छोराको व्रतबन्धमा उपस्थित भएका बेला त्रिविका तत्कालिन रजिस्टार पार्थीवेश्वर तिमिल्सिनासँग भने, ‘राजनीतिकशास्त्रमा एमए गरेको छु, त्यही विषय पढाउन चाहन्छु।’

भोलिपल्ट त्रिविले पद्मकन्यामा राजनीतिकशास्त्रमा सहायक प्रध्यापकको नयाँ पद सिर्जना गरेर पण्डितलाई नियुक्ति दिने विशेष निर्णय गर्‍यो। एउटा हातमा ‘नियुक्ति दिनु’ भन्ने पत्र र अर्को हातमा ‘पद सिर्जना गरेको’ भन्ने पत्र बोकेर पण्डित पद्मकन्या प्रवेश गरे।

दरबारको ‘बाहुन’ हुँदा पूर्णकालिन शिक्षक भइ काम गर्ने उनको अभिष्ट पूरा भयो।

प्रजातन्त्र पुनःस्थापनसँगै २०४७ साल ३१ गते क्याम्पसमा एक वर्ष पुगेका सबै सहायक प्राध्यापकलाई विशेष दरबन्दी सिर्जना गरी अस्थायीलाई स्थायी घोषणा गरियो। पण्डित पनि त्यसमा परे। त्यसको ६ वर्षपछि उनी उपप्रध्यापक भए।

मेहनत, सक्रियता र भरोसाले गर्दा पटक–पटक आफूलाई सहायक क्याम्पस प्रमुखको प्रस्ताव आएपनि आफूले पन्छाएको उनी दावी गर्छन्।बरु प्राध्यापक संघको सदस्य, सहायक सचिव र सचिव भइ क्याम्पसको पठनपाठनलाई व्यवस्थित बनाउन सहयोग गरेको उनको भनाइ छ।

मैत्रीभवन निर्माण गरेपछिको सन्तुष्टि


२०२६ सालमा सरकारी स्रोतबाट बनेको क्याम्पसको रत्नदीप भवनले मात्रै चाप धान्न गाह्रो थियो।

नयाँ बनाउनका लागि तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइले कवुल गरे। तर भट्टराईको कार्यकालमा उक्त रकम प्राप्त भएन। पछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि सरकारले १० लाख रुपैयाँ सहयोग गर्‍यो। त्रिविले ८ लाख दियो। छात्राहरुले समेत चार लाख रुपैयाँ जुटाए। तर २२ लाख पर्याप्त थिए भवन निर्माणका लागि।

२०४७ साल साउन ३१ गते उनी क्याम्पस निर्माण तथा मर्मत कमिटीमा सदस्यका रुपमा मनोनित भए। त्यतिबेला उनको दातृराष्ट्र डेनमार्कसँग सम्पर्क थियो। त्रिविले मानविकी सङ्कायतर्फ प्राप्त गरेको अनुदानबाट क्याम्पसको मैत्री भवन फर्निचरसहित निर्माण भयो।

डेनमार्कले क्याम्पसलाई एक करोड ३३ लाख ७६ हजार ६ सय ६१ रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए।

उनले भने, ‘सामाजिक सेवामा काम गर्न र महिला उत्थानका लागि सहयोग गर्न दातृ निकायको नेपालमा कमी थिएन। त्यसैले केही गर्न सकिन्छ भनेर मैले सक्रियता देखाएको हुँ।’

विश्वभाषा क्याम्पस प्रमुख हुँदा


२०५५ साल फागुन २८ गते उनी विश्वभाषा क्याम्पसको प्रमुख भए। विभाग प्रमुख नभई उनी विश्वभाषा क्याम्पसको प्रमुख भएर जाँदा ईष्या गर्नेहरु बढ्नु स्वाभाविक थियो।

त्यसमाथि कम्युनिष्टहरुको वर्चस्व भएको क्याम्पस। उनी आउने थाहा पाएपछि प्रशासनका कर्मचारीले उनको कक्षमा ताल्चा लगाएर हिँडेको उनी बताउँछन्।

अवरोधका बीच आफूले आफ्नो काम कारवाही अघि बढाएको उनले बताए।

अरु क्याम्पसमा जस्तो विश्वभाषामा पढ्दा कुनै औपचारिक डिग्री पाइँदैन थियो। तर पनि विद्यार्थीको भीड बढ्न थाल्यो।

जर्मनी, चीन, जापान, कोरिया, स्पेन, पाकिस्तान जस्ता देशहरुले पूर्णकालिन मातृभाषी प्राध्यापकहरु उपलब्ध गराउँदै आएका थिए। क्याम्पसले सित्तैमा विदेशी प्राध्यापकहरु पाउँथ्यो।

विद्यार्थीबाट शुल्क लिएपनि शिक्षकलाई तलबभत्ता दिन नपरेपछि क्याम्पसलाई ठूलो राहत भयो। खर्चभन्दा बढी आम्दानी हुन थाल्यो। त्यतिबेला ६ महिनाका लागि विदेशी विद्यार्थीले ५ सय ५० डलर तिर्नुपथ्र्यो भने नेपालीले एक हजार रुपैयाँ।

नभन्दै उनले आफ्नो चार वर्षे कार्यकालमा दुई तलाको सानो घरमा सिमित क्याम्पसका लागि ६ तले भवन निर्माण गरे। यसको सबैभन्दा ठूलो आकर्षण र पूँजी यही भवन हो।

पर्दा पछाडिको संघर्ष


यी सबै उपलब्धी हाँसिल गर्दैगर्दा यसको पछि आफ्नो अथक संघर्ष रहेको पण्डित बताउँछन्।

भारतबाट काठमाडौँ आएपछि सुरुमा उनको डेराको जीवन कठिनपूर्ण थियो। तीनधारा छात्रावासमा नाम निस्केपछि उनलाई राहत भयो। बाल्मिकी क्याम्पसमा उनले बेदान्तमा डिम्लोमा गरे।

उनले डिम्लोमा अध्ययन गर्दैगर्दा मुलुकको राजनीति तातिएको थियो। २०३६ सालमा जनमत संग्रह भयो। उनी त्यसको प्रचारका लागि बझाङ पुगेका थिए।

त्यतिबेला आफू बहुदलको पक्षमा उभिएको उनी बताउँछन्। बहुदल रोजेपछि आफूसँग बुवा टाढिएको उनको भनाइ छ। आफ्नो जात गयो भन्दै बुवाले असन्तुष्टि पोखेको उनले बताए।

त्यतिबेला फेरि उनको पढाईलाई निरन्तरता दिन नसक्ने अवस्था आइपुग्यो। तर उनकी श्रीमती मेघलक्ष्मीले भनिन्, ‘तपाईँ काठमाडौँ पर्खिनुहोस्, पढाई नछोड्नुहोस्। मेरो गहना तपाईँका लागि।’

आर्थिक पाटो बलियो बनाउन पद्मकन्यामा पढाउँदै गर्दा उनले विदेशीसँग अनुसन्धान सहयोगी, दोभाषेको रुपमा निरन्तरता दिए।

यो सबै गर्दा गर्दा के रहेछ जीवन? उनी भन्छन्, ‘जीवन संघर्ष हो। जे इच्छा छ, जस्तो सपना, त्यसैअनुसार कार्य अघि बढाउने।’

संघर्ष गर्दा सबै ठाउँमा सफलता प्राप्त हुन्छ?

उनको जवाफ छ, ‘हर कदममा सफलता प्राप्त हुन्न। असफलताले धेरै कुरा सिकाउँछ।’

उनको विचारमा जीवन सिकाई र भोगाईको निरन्तरता हो।

फाल्गुन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्