अस्ट्रेलियामा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आगामी जुन १७ सम्म लम्बियो

सिड्नी – अस्ट्रेलियाले गत वर्षको मार्च महिनादेखि लागू गरेको ‘आपतकाली यात्रा प्रतिबन्ध’लाई तीन महिना थप गर्दै आगामी जुन १७ सम्म लम्ब्याउने घोषणा गरेको छ ।

यो घोषणासँगै अस्ट्रेलियन नागरिकहरू त्यस अवधिसम्म विशेष अवस्थमा दिइने छुटबाहेक कुनै पनि अन्तर्राष्ट्रिय यात्रा गर्न पाउने छैनन् ।

अस्ट्रेलियामा सो प्रतिबन्ध “जैविक सुरक्षा नियम २०१५” अन्तर्गत पहिलोपटक सन् २०२० को मार्च १७ तारिखमा लागु गरिएको थियो ।

मङ्गलबार बेलुकी स्वास्थ्य मन्त्री ग्रेग हन्टले आपतकालीन यात्रा प्रतिबन्धलाई लम्ब्याउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय यात्रुहरू अस्ट्रेलिया आउन र यहाँका वासिन्दा विशेष कारण र सरकारको अनुमतिविना विदेश भ्रमणमा जान कम्तिमा पनि आउँदो जुन १७ सम्मका लागि रोकिने भएका हुन् ।

विगत एक वर्षदेखि बन्द रहेको अन्तर्राष्ट्रिय सीमाका कारण हजारौँ अस्ट्रेलियन नागरिकहरू विदेशमा  फसिरहेका छन् । विदेशका विभिन्न मुलुकमा रहेका अस्ट्रेलियन नागरिक र बासिन्दाहरूको सङ्ख्या करिब ४० हजारको हाराहारीमा रहेको अनुमान छ ।

“अस्ट्रेलियन स्वास्थ्य संरक्षण प्रमुख कमिटी (एएचपिपिसी)ले सरकारलाई विदेशमा रहेको कोभिड–१९ को परिस्थितिले सार्वजनिक स्वास्थ्यमा जोखिम पैदा गरिरहेको छ जुन नयाँ प्रकारको छिट्टै फैलिने भाइरसको आगमनसँगै अझै जोखिमपूर्ण रहेका भन्दै सीमा बन्द गर्न सुझाव पेस गरेको छ ।” एक विज्ञप्ति प्रकाशित गर्दै स्वास्थ्य मन्त्री ग्रेग हन्टले भनेका छन् ।

वर्तमान नियम अनुसार अस्ट्रेलियन नागरिक, स्थायी बासिन्दा र तिनका अति नजिकका आफन्त मात्र आवश्यक सरकारी क्वारेनटिनको नियम पूरा गरेर मात्र अस्ट्रेलिया आउन पाउँदछन् ।

फाल्गुन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्