दोस्रो चरणको खोप अभियान २० दिन सञ्चालन हुने

फाइल तस्बिर

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २३ गतेदेखि सञ्चालन गर्ने कोभिड–१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान २० दिन सञ्चालन गर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो १० दिनमा ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने जानकारी दिए । उनले आफूलाई पायक पर्ने स्थानबाट खोप लिनसमेत आग्रह गरे ।

सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन्तर्गत गत माघ १४ गतेदेखि सञ्चालन गरेर सम्पन्न भएको थियो । सो अवसरमा खोप नेपालको कूल जनसङ्ख्याको १.४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो ।

सबैभन्दा पहिले अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र सरकारी कर्मचारीलगायत चार लाख २९ हजार ७०५ जनालाई खोप लगाएका थिए । दोस्रो चरणको खोप पनि ‘कोभिशिल्ड’ नै प्रदान गरिने छ ।

फाल्गुन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्