ताजमहलमा बम रहेको कुरा झूटो साबित भएपछि सूचना दिने व्‍यक्ति पक्राउ

भारतको आगरास्थित ऐतिहासिक धरोहर ताजमहलमा बम रहेको सूचना झुठो साबित भएपछि त्‍यहाँको स्थिति सामान्‍य बनेको छ। बिहीबार ताजमहलभित्र बम राखिएको भन्‍ने सूचना आएपछि केही समयका लागि बन्द गरिएको थियो।

बमको सूचना अज्ञात व्‍यक्तिले दिएपछि सीआइएसएफ तथा युपी प्रहरी जवानले ताजमहलमा रहेका पर्यटक र मजदूरलाई हत्तार-हतारमा बाहिर निकालेका थिए भने ताजमहलको दुवै ढोका बन्द गरिदिएको थियो। पछि उक्त सूचना झूठो साबित भएपछि प्रहरीले फोन गर्ने व्‍यक्तिलाई पक्राउ गरेको छ।

विश्‍व धरोहरमा बमको सूचना आएपछि ताजमहलमा आतंक मच्चिएको थियो। तर आगरा जोनको आइजी एशतीश गणेशले त्‍यहाँ कुनै पनि बम नरहेको भारतीय सञ्‍चार माध्‍यमहरुले बताएका छन्।

यस्तै आगराका एसपी (प्रोटोकल) शिवराम यादवले भने, ‘ हामीलाई पनि नियन्त्रण कक्षबाट यही सूचना आएको थियो। कसैले सैन्‍य भर्तिमा धेरै विसंगती रहेको तर आफूलाई भर्ती नगराएकोले ताज महलमा बम राखेको हुँ।’ यादवका अनुसार सोही व्‍यक्तिले ताजमहलमा बम राखेको र चाँडै नै विष्फोट हुनेबाला छ भनेपछि प्रहरीको निगरानी बढाइएको थियो।

युपी प्रहरीको हेल्पलाइन ११२ नम्बरमा उक्त फोन आएको र उक्त फोन फिरोजावादबाट रहेको प्रहरी कल सेन्टरले जनाएको छ।

फाल्गुन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्