वीरगञ्‍ज महानगरले सहुलियतमा बाँडेको गहुँको बीउँमा दाना लागेन, किसानलाई ऋणमा डुब्‍ने चिन्ता

पर्सा-वीरगञ्ज महानगरपालिकाले सहुलियतमा बितरण गरेको गहुँको बिउँ रोपेका किसानहरुको बालीमा दाना नै नलागेपछि उनीहरु चिन्तित बनेका छन्।

महानगरपालिकाले किसानहरुको सुबिधालाई ध्यानमा राखेर सहुलियतमा बितरण गरेको गहुँ बालीमा दाना नलागेपछि ग्रामीण क्षेत्रका किसानहरु चिन्तित बनेका हुन्।

महानगरपालिकाको वडा-३० प्रसोतीपुर टोलका आधा दर्जन किसानहरुले सोही बिउँ रोपेको तर अहिले बाली काट्ने बेलासम्‍म पनि दाना नै नलागेको प्रसोतीपुर टोलका किसान सराजुल हक अन्सारीले बताए।

उनले भने, ‘ यो टोलका हामी किसानहरुले सहुलियतमा भनेर महानगरबाट विरतण गरेको बीउ किनेर आफ्नो खेतमा छर्‍यौ। तर,अहिले लगभग काटने बेलामा हेर्दा कुनै पनि गहुँको बालामा दाना लागेको छैन। यसले हामीलाई निक्कै चिन्तित तुल्याएको छ।’

महानगरपालिकाले विजय र ९७१ एनएल नामक गहुँको बिउँ वितरण गरेको थियो। तर गहुँको बालामा दाना नै लागेपछि उनीहरु ऋणमा डुब्ने चिन्तामा परेका छन्।

उनले भने, ‘वडा नम्बर ३० प्रसोतीपुर टोलमा मात्रे करिब १५ बिगाहा जति खेतमा लगाइएको गहुँको बालामा दाना लागेको छैन। ती सबै खेतमा महानगरले बितरण गरेको सहुलियत गहुँको बिउ नै लगाइएका छन्। रोपेको गहुँ बाली हेर्नमा राम्रो देखिएको तर,भित्र बालामा दाना नै लागेको छैन। कुनै कुनै बाला रोग लागे जस्तो कालो भएको छ। ‘

दुई बिगाहा खेतमा लगाएकोमा गहुँ खेतमा कुनै पनि बालामा दाना नलागेको भन्‍दै उनले मुख मलिन पार्दै भने, ‘महानगरले सहुलियत मुल्यमा दिएको विजय र ९७१ एनएल भन्ने गहुँको बिउँ मात्रै २ बिगाहा खेतमा लगाएँ। तर बालामा बीउ नलागेपछि बाली नै बर्बाद भयो।’

अहिले काटने बेलामा एउटा पनि बालामा दाना नलागेपछि ऋणमा डुब्‍ने चिन्ताले सताउन थालेको अन्सारीको भनाइ छ। उनले महानगरपालिकाको लापारवाही हो अथवा अन्य कुनै निकायको लापारवाही जे भएपनि किसानहरुलाई सहुलियतको नाममा दु:ख दिने काम मात्र भएको गुनासो गरे।

महानगरले नै बजार मुल्यभन्दा आधा मुल्यमा सहुलियतमा दिएको गहुँको बिउँ लगाएको आफनो बालीमा पनि दाना नलागेको सोही टोलका अर्का किसान उलि उला अन्सारीको भनाइ छ।उनले पनि महानगरबाट बितरण गरिएको बिउँ लगाइएको सबै बालीमा दाना नलागेको दु:खेसो पोखे।

उनले भने, ‘महानगरले किसानहरुलाई बर्बाद पार्ने काम मात्र गर्‍यो। अब बालीमा बीउ नलागेको उचित क्षतिपूर्ति महानगरले किसानहरुलाई दिनुपर्छ। साथै ऋणमा डुब्नबाट बचाउनुपर्छ।’

आफूले लगाएको लगभग डेढ बिगाहा खेतको गहुँ बालीमा दाना नलागेपछि वर्षभरि खानको लागि जोहो कहाँबाट गर्ने भनेर समस्याले सताउन थालेको अँसारीले बताए। बजार मुल्यमा ६५ रुपैया प्रतिकिलो पाइने गहुँको बीउँ महानगरबाट ३३ रुपैयामा किनेको अन्सारीको भनाइ छ।

‘गाउँभरि गहुँमा दाना नलागेको हल्ला भएपछि मैले पनि आफनो खेतमा आएर देखेँ।’ उनले भने, ‘कुनै पनि गहुँको बालामा दाना लागेको छैन।’वडा कार्यालयसहित महानगर कार्यालयबाट पनि सहुलियतमा किनेर खेतमा लगाएका अन्य किसानहरुको पनि गहुँमा दाना नलागेको उनको भनाइ छ।

यता, किसानहरुले लगाएको बालीमा दाना नलागेको गुनासो आएपछि महानगरले अनुगमन गर्ने भएको छ।

महानगरकी कृषि शाखाकी प्रमुख उर्मिला श्रेष्ठले किसानहरुले गुणस्तरीय बीउँका लागि भनेरै नेपाल कृषि सामग्री कम्पनी लिमिटेड हेटौडाबाट गहुँको बिउँ खरिद गरेर बितरण गरिएको बताइन्। उनले भनिन्, ‘महानगरले बितरण गरेको गहुँको बिउँ लगाएको किसानको बालीमा दाना नलागेको पहिलो गुनासो हो। अन्य ठाउँमा पनि यस्तो भएको छ कि भनेर हामी अनुगमन गर्दैछौ ।’

गुहँको बालीमा दाना नलागेको पाइए कृषि सामाग्री कम्पनीलाई यसबारे ध्यानाकर्षण गराइने उनको भनाइ छ। वीरगञ्ज महानगरपालिकाले वडा नम्बर १७ देखि ३२ नम्बर वडामा सहुलियत मुल्यमा गहुँको बिउँ बितरण गरेको थियो।महानगरका ती वडाहरु साबिक गाबिस हुन।

फाल्गुन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्