रातमाटे सबस्टेसन निर्माणका लागि मुआब्जाको काम अन्तिम चरणमा

फाइल तस्बिर।

नुवाकोट-मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसिए नेपाल)ले निर्माण थालेको प्रशारण लाइनका लागि रातमाटे सब-स्टेशसन निर्माणको क्रममा आवश्यक जग्गाको मुआब्जा वितरण कार्य ६० प्रतिशत सम्पन्‍न भएको छ।

विदुरमा बिहीबार एमसिए नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले रातमाटे सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा मुआब्जा वितरणको कार्य धमाधम भइरहेको जानकारी दिए।

उनले स्थानीयको सम्पत्तीको अधिकतम मूल्याङ्कन गरी प्रतिस्थापन मूल्य सिद्धान्तका आधारमा क्षतिपूर्ति वितरण कार्य भइरहेको कार्यकारी निर्देशक विष्टले बताए।

लालपूर्जा नभएको जग्गामा बसिरहेकाले प्रयोग गरेको जग्गा आयोजनामा लिनुपर्ने भएका त्यहाँ बसिरहेकाको घर, गोठ वा अन्य भौतिक संरचनाको क्षतिपूर्ति उपलब्ध गराएर उनीहरुको जीविकोपार्जनका लागि सहयोग उपलब्ध गराउने उनले जानकारी दिए।

“आयोजनामा जग्गा पर्ने स्थानीयलाई जग्गा, घर, गोठ, रुख बिरुवा, तुलसीको मठसमेतको मूल्याङ्कन गरी क्षतिपूर्ति दिइएको छ, उनीहरुलाई अन्य स्थानमा पुनःस्थापनाका लागि सहयोग उपलब्ध गराउने योजना रहेको छ”, विष्टले भने।

एमसिए नेपालका अनुसार रातमाटे सवस्टेशसनका लागि ३८५ रोपनी जग्गा आवश्यक रहेकामा ९४ घरधुरीका १८४ कित्ता जग्गा अधिग्रहण गरिएको छ। हालसम्म ९१ जनालाई रु ६६ करोड ५० लाख मुआब्जा तथा क्षतिपूर्ति रकम प्रदान गरिसकिएको छ।

चार सय केभी प्रशारण लाइनको लम्बाई ३१५ किलोमिटर रहेको छ । तीन स्थान राटमाटे, दमौली र बुटवलमा सबस्टेशन बन्ने छ । सो आयोजनाको प्रशारण लाइनमा देशभरका १० जिल्लाका ३० पालिकाका ९० वडा पर्ने आयोजनाका कार्यकारी निर्देशक विष्टले जानकारी दिए।

आयोजनामा अमेरिकी अनुदान ५०० मिलियन र नेपाल सरकारको १३० मिलियन अमेरिकी डलर खर्च हुनेछ। कार्यक्रममा मिलेनियम च्यालेन्ज कर्पोरेशनका नेपालस्थित उपनिर्देशक सञ्जय पौडेलले हालसम्म एमसिएका तर्फबाट रु एक अर्ब ५० करोड र नेपाल सरकारका तर्फबाट रु एक अर्ब हाराहारी खर्च भइसकेको जानकारी दिए।

आयोजनाले निर्माण गर्ने एक सय किलोमिटर रणनैतिक सडक नेपालमै पहिलो निकै गुणस्तरको निर्माण हुने बताइएको छ । सो सडक नेपालको नमूना बन्‍नेछ। प्रशारण लाइनतर्फ रातमाटे सबस्टेसन नेपालकै सबैभन्दा ठूलो सवस्टेशन हुनेछ।

लप्सिफेदी–रातमाटे–हेटौँडा, रातमाटे–दमौली–बुटवल सीमा प्रशारण लाइन निर्माण सम्पन्न भएमा त्रिशूली, गण्डकी र तामाकोशीबाट निकालिने बिजुलीलाई खपत हुने ठाउँसम्म पुर्‍याइने बिहीबार एससिए नेपाल विकास समितिले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

फाल्गुन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्