ताप्लेजुङका आगलागी पीडितलाई प्रदेश सरकारद्वारा खाद्यान्न वितरण

मोरङ– प्रदेश १ सरकारले ताप्लेजुङको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई राहत उपलब्ध गराएको छ।

आगलागी भएको दोभानमा बिहीबार आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री वितरण गर्दै थप राहत उपलब्ध गराउने आश्वासन दिए।

मुख्यमन्त्री राईले पीडितहरुलाई १ हजार ८ सय किलो चामल, २ सय ५० किलो दाल, नुन, तेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामाग्री उपलब्ध गराएका थिए।

सो क्रममा मुख्यमन्त्री राईले आगलागी पीडित प्रतिपरिवारलाई ५० हजार नगद उपलब्ध गराउने बताए।

त्यसैगरि आगलागीमा परेकामध्ये भाडामा बसोबास गर्दै आएका परिवारलाई प्रतिपरिवार ३० हजार नगद उपलब्ध गराउने उनले वाचा गरे।

घटनाबारे स्थलगत अवस्था जानकारी लिन पुगेका मुख्यमन्त्री राईले पीडितहरुको माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकरसमेत उपलब्ध गराउने जानकारी दिए।

मुख्यमन्त्री राईले संघीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागिपरेको उल्लेख गरे।

आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

आगलागीको स्थलगत जानकारी लिने क्रममा मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभासदस्य टंक आङ्बुहाङ, प्रताप प्रकाश हाङ्गामसमेत रहेका थिए।

फाल्गुन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्