जनकपुर साहित्य महोत्सवको दोस्रो दिन

जानकी मन्थनदेखि एसीड पीडित आरतीको आक्रोशसम्म

जनकपुरधाम- जनकपुरधाममा दोस्रो जनकपुर साहित्य महोत्सव जारी छ।

महोत्सवको दोस्रो जानकी मन्थन देखि कयौँ विषयमा गन्थन मन्थन भएको छ। आज यहाँको भाषा तथा संस्कृतिको ईतिहास, माता जानकी, यहाँको पर्यटनका साथै एसीड पीडित महिलाको आक्रोश लगायतका विषयमा चर्चा परिचर्चा गरिएको हो।

जानकी मन्थन शिर्षकको सत्रबाट सुरु भएको जनकपुर साहित्य महोत्सवमा मैथिलीका बरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमलले माता जानकीको जन्म, चरित्र तथा नारीत्वको विषयमा चर्चा गरेका थिए।

साहित्यकार विमलले विभिन्न रामायणमा उल्लेख जानकी जन्म र व्यक्तित्वको विषयमा बताए । उनले माता जानकीले सम्पूर्ण नारीमात्र नभई मानवजगतलाई त्याग र संयमताको भाव सिकाएको बताए।

साहित्यकार विमलले सो सत्रमा रामराज्य अर्थात सुशासनको नमूना मिथिलाले नै दिएको बताए । उनले भगवान राम मिथिलाबाट नै सुशासन सिकेर आफ्नो राज्यमा त्यसलाई लागु गरेको बताए।

उनले भने, ‘भगवान रामले अयोध्यामा साशन गरेपछि मात्र रामराज्यको चर्चा भयो र उनी असल राजाको छवि बनाउन सफल भए तर भगवान राम मिथिलाबाटै सुशासनको कला सिकेर अयोध्यामा लागु गरेका थिए।’

त्यस्तै जाऔँ जनकपुर सुदर्शनजी संग सत्रमा मानसी अग्रवालले जनकपुरधाममा पर्यटनको प्रचुर सम्भावना रहेको बताइन्।

उनले जनकपुरधामको पहिलो टुरिष्ट गाइड सुदर्शनलाल कर्णसंग कुरा गरिरहँदा यहाँको सौन्दर्यताको वर्णन गरेकी थिइन् । तर उनले पर्यटकलाई यहाँ टिकाउनको लागि ठोस योजना नरहेकोमा चिन्ता व्यक्त गरिन्।

मानसीले यहाँको लोक नृत्य झिझिया, मिथिला चित्रकला र लस्सी असाध्यै मन परेको अनुभव समेत सुनाइन्। मैथिली साहित्य र इतिहास सत्रमा डा. रामावतार यादव र रोशन जनकपुरीले चर्चा परिचर्चा गरेका थिए।

त्यस क्रममा डा. यादवले मैथिली भाषा आफ्नो समृद्धि गुमाउनुमा आफ्नै व्यक्ति रहेको भन्दै दुख व्यक्त गरे । बरु मैथिली भाषाको मिठास जीवित रहनुमा विदेशी विद्वानहरुको ठुलो हात रहेको उनले बताए । उनले मैथिली भाषा मेरो हो भन्नेहरु यसको संरक्षण तथा सम्वद्र्धनको लागि अगाडी नआउँदा यस्तो अवस्थाको श्रृजना भएको बताए।

मैथिली भाषाको निजत्व अहिलेपनि गाउँ घरमा रहेका कथित तल्लो तप्काका व्यक्ति, मजदुर किसानहरुले बचाएको साहित्यकार जनकपुरीले बताए। उनले मैथिली भाषामा संस्कृत भाषा हावी हुँदै गएपछि यसले आफ्नो निजत्व गुमाएको यथार्थ सबैले स्वीकार गर्नु पर्ने बताए।

‘एसीड बेच्नेलाई पनि जन्मकैदको सजाय होस्’

जनकपुर साहित्य महोत्सवमा एसीड पिडित आरती साहले आफ्नो दु:खेसो पोखेकी छिन् । महोत्सवको सौन्दर्य भित्र: सौन्दर्य बाहिर सत्रमा एसीड पिडित आरतीले एसीड फाल्नेलाई जस्तै एसीड बेच्नेलाई पनि कडा कारबाही हुनु पर्ने माग गरेकी छिन्।

श्रीमानबाटै एसीड आक्रमणमा परेकी आरतीले एसीड फाल्ने र एसीड बेच्ने दूबैलाई जन्मकैदको सजाय हुनु पर्ने माग गरिन्। उनले आफ्नो पुरानो तस्वीर देखाउँदै भनिन् ‘यो आरती मरि सकेको छ र अब यो आरती जीवित छ।’उनले अब आफ्नो जुन स्वरुप छ त्यसैलाई आत्मसात गरी बाँच्नको लागि समाजको सहयोगको आवश्यकता रहेको बताइन्।

फाल्गुन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्