प्रधानमन्त्री ओलीविरुद्ध आजै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी

प्रधानमन्त्री केपी ओली।

काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूह र प्रमुख विपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शुक्रबार) बस्दै छ।

दुवै पार्टीले दिउँसो एक बजे संसदीय दलको बैठक बोलाएका छन्। संसदीय दलको बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको निर्णय लिइने तयारी दुवै दलको छ।

सकभर आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमति कांग्रेस र नेकपाको प्रचण्ड–माधव समूहबीच भइसकेको श्रोतको दाबी छ।

‘सकेसम्म आजै ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन्छ’, दाहाल नेपाल समूहमा रहेका एक सांसदले भने, ‘आज भएन भने आइतबार हुन्छ।’

दाहाल नेपाल पक्षले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने तयारी तीव्र बनाएको हाे।

तर सरकारमा जाने नजानेबार कांग्रेस अनिर्णित छ।  सरकारमा जाने नजानेबारे छलफल गर्न बिहीबार कांग्रेस पदाधिकारीको बेठक बसेको थियो। उक्त बैठकमा सभापति शेरबहादुर देउवाले नेकपाका दुवै समूहबाट सरकारमा सहभागी हुन प्रस्ताव आएकाे जानकारी गराएका थिए।

देउवाले प्रचण्ड–नेपाल समूहसँग मिलेर सरकारमा जाने बताएपछि वरिष्ठ नेता रामचन्द्र पाैडेलले विराेध जनाएका थिए। बैठकसकिएपछि प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा जाने/नजाने निर्णय शुक्रबार बस्ने संसदीय दलकाे बैठकले लिने बताएका थिए।

कांग्रेसले आजकाे बैठकमा सहभागी हुन सबै सांसदहरुलाई निर्देशन दिएकाे छ। पार्टीकाे निर्दशनपछि उपत्यका बाहिर रहेका सांसदहरु पनि काठमाडाैँ आइरहेका छन्।

यता उपत्यका बाहिर रहेका नेकपा प्रचण्ड माधव समूहका सबै सांसदहरुलाई पनि काठमाडाैँ बाेलाइएकाे छ। हेटाैंडामा रहेका प्रचण्ड माधव समूहमा रहेका सांसद विराेध खतिवडाले पार्टीकाे निर्देशनपछि काठमाडाैँ आइरहेकाे बताए।

पुनःस्थापित प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ। नेकपाकाे ओली पक्षले संसद बैठक बस्नु एक घण्टा अघि २३ गते ३ बजेका लागि संसदीय दलकाे बैठक बोलाएपछि दाहाल नेपाल पक्षले त्यसअघि शुक्रबार नै बैठक बाेलाएकाे हाे।

 

फाल्गुन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्