
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तेजाव आक्रमणमा परेकी मुस्कान खातुनलाई अमेरिकी सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जित्न सफल भएकाेमा बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत देउवाले मुस्कानलाई बधाई दिएका हुन्।
मुस्कानले देखाएको शाहस र एसिड आक्रमण विरुद्ध जारी राखेको अभियानले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा ठूलो योगदान प्रदान गरेको देउवाको बधाई सन्देशमा उल्लेख छ।
१५ वर्षीया खातुनले अमेरिकी विदेश मन्त्रालय दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड जितेकी हुन्। यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन्।
तेजाव आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ।
अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा भर्चुअल कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गर्ने जनाइएको छ।
प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दछ।
प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै मुस्कानमाथि तेजाव आक्रमण भएको थियो। उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो।