बस धनीलाई अपहरण गरी भारतमा बेच्‍न खोज्‍ने अभियुक्त १४ वर्षपछि पक्राउ

पर्सा-बस धनीलाई अपहरण गरि भारतमा बेच्न खोज्ने एक जना अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ बस्ने ४६ बर्षका जगदिश दास रहेका छन्।

पक्राउ परेका दाससहितका ब्यक्तिहरुले २०६३ साल मँसिर २१ गते साँझ बाराको करैया पुलमा पुलमा काठमाण्डौंबाट आएको बा २ ख ६४१ नम्बरको दिवा यात्रुबाहक बसलाई रोकेर बसधनीलाई अपहरण गरि लगेका थिए।

दाससहितका ब्यक्तिहरुले कटुवा बन्दुक देखाई बसका धनी खोटाङ्गको दिक्तेल २ घर भइ भक्तपुर मध्युपुर ठिमि नगरपालिका वडा नम्बर १५ मा बस्ने तारा कुमार खत्रीलाई अपहरण गरि उनको साथमा रहेको नगद, मोबाइल र घडी समेत लुटेको प्रहरीले जनाएको छ।

खत्रीलाई दासले अपहरण गरि आफनो घरमा राखी फिरौती माँग्ने र नदिए भारतमा लगि बेच्ने योजना बनाएका थिए। तर,खत्री अपहरणकारीको आँखा छली भाग्न सफल भएका थिए।

जिल्ला प्रहरी कार्यालयले दास बिरुद्ध मानव बेचबिखन तथा ओसार(नियन्त्रण) ऐन, २०६४ अन्तर्गत दर्ता गरेको बाराका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए।

पक्राउ परेका दास विरुद्धको मुदामा अदालतबाट म्याद थप गराइ कारवाही प्रक्रिया अघि बढाइएको मिश्रले बताए।

फाल्गुन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्