जब प्रधानमन्त्री ‌ओली र विप्लव एउटै मञ्चमा देखिए (तस्बिरहरु)

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द 'विप्लव' सहमति हस्ताक्षर समारोहमा। उनीहरु एउटै मञ्‍चमा देखिएका थिए। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच शुक्रबार एक संयुक्त समारोहमा हस्ताक्षर भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्‍चबाट सम्बोधन गरेका छन्।

सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’को तर्फबाट प्रकाण्डले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।

सहमतिपत्रमा हस्ताक्षरपछि सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गरेका हुन्।

राष्ट्रिय सभागृहमा एक विशेष समारोहबीच सहमति पत्रमा हस्ताक्षर हुनुअघि प्रधानमन्त्री ओली र विप्लव शुक्रबार वालुवाटारमा भेटवार्ता गरेका थिए।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन गरेको थियो।

विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीसहितको सहमति भएको थियो।

सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई तथा विप्लव नेकपाको टोलीमा खड्गबहादुर विश्वकर्मा र दीपक चलाउने थिए।

हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २०७५ को फागुन २८ मा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो।

तस्बिरः बर्षा शाह।

फाल्गुन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्