बजार अनुगमनः सर्लाहीको बागमतीमा १२ पसल कारबाहीमा, १ लाख ५ हजार जरिवाना

वीरगञ्ज– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले गरेको बजार अनुगमनको क्रममा सर्लाहीको बागमती नगरपालिकाका १२ पसललाई नगद जरिवाना गरिएको छ।

बागमती नगरपालिकाको वडा नम्बर १२ मा गरिएको अनुगमनको क्रममा गरिएको कारवाहीमा ती पसललाई कुल १ लाख ५ हजार रुपैयाँ जरिवाना समेत गरिएको छ।

बागमती नगरपालिकाको खरिद बिल नदेखाउने १० पसलेलाई पाँच–पाँच हजार र इजाजत नम्बर नलिइ कारोबार गर्ने एक पसललाई ५० हजार र अनुगमन कार्यमा असहयोग गर्ने एउटा पसललाई पाँच हजार गरी कुल १ लाख ५ हजार जरिवाना गरिएको हो।

आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज इलाका प्रशासन कार्यालय हरिवन, इलाका प्रहरी कार्यालय बागमती, बागमती नगरपालिकाका कार्यालका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका सूचना अधिकारी दिलिप खँग खत्वेले जानकारी दिए।

जरिवाना बापतको रकम ७ दिनभित्र बाणिज्य बैंकमा जम्मा गर्न पनि निर्देशन दिइएको खत्वेले बताए।

फाल्गुन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्